आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

सुन्दर झिमरुक फाँट कंक्रीटमा परिणत हुँदै ‘मोहीहरुमा नै फाँट बचाउने चिन्ता रहेन, फीतलो बन्यो सरकारी नीति’


प्यार अलि खान
प्यूठान । पर्यटकिय मनोरम दृष्टिले समेत जिल्लाकै नमुनामा लिएको झिमरुक फाँटमा प्रत्येक दिन धमाधम भौतिक संचरनाहरु बन्न नरोकिँदा धानका बालाहरुले लहलह झुल्ने झिमरुक फाँट कंक्रीटमा परिणत हुँदै गएको छ । फितलो सरकारी नीति तथा फाँटमा जग्गा रहेका मोहीहरुमा नै फाँट बचाउने चिन्ता हराएको जानकारहरु बताउँछन् । कसरी जग्गा बढी दाममा बेचौँ र बाहिरका शहरतिर घर हालौँ भन्ने चिन्ताले बढी प्राथमिकता पाएको उनिहरु बताउँछन् ।‘बाहिरकाले मात्र चिन्ता गरेर के गर्ने ।’ नेपाल पत्रकार महासंघ प्यूठान शाखाका अध्यक्ष महाविर रानाले भने, ‘फाँटवालाहरुमा नै फाँट बचाउने चिन्ता छैन् र राज्यले नै स्पष्ट भू–उपयोग नीति बनाउन सकेन ।’ फाँटको रक्षाका लागि सरोकारवाला पक्षले स्पष्ट कार्ययोजना बनाउन आवस्यक रहेको रानाले बताए । रानाले भने, ‘कि रोक्न सक्नुपर्दछ होईन भने व्यवस्थित शहरीकरणका लागि आवस्यक आधार तयार पार्नुपर्दछ ।’
राज्यको भू–उपयोग नीति स्पष्ट नहुँदा प्यूठान नगरपालिका छेउमै रहेको झिमरुक फाँट मासिँदा सरोकारवालाहरुको मन दुखेको देखिदैन । दिनहुँ कस्ले कति राम्रा र कती अग्ला घर बनाउने तर्फ भने प्रतिस्पर्धा चलेको देखिन्छ । झिमरुक फाँटमा करिब ३ सय ५० हेक्टर क्षेत्रफलजमिन घडेरीको रुपमा परिणत भैसकेको प्यूठान नगरपालिका कृषि विभागका बाली संरक्षण अधिकृत तेजबहादुर विष्टले बताए । ‘झिमरुकको बाढीले समेत खेत कटान गर्दै आएको छ ।’ विष्टले भने, ‘जोगिएका फाँटहरुमा घर बन्ने क्रम बढ्दो छ ।’ फाँट मासिँदा वर्षेनी धान उत्पादन घटिरहेको उनले बताए ।
झिमरुक फाँटमा दिनानुदिन बस्ती बाक्लीएको छ । पहेँलपुर धान फल्ने खेतहरु घरैघरले भरिएका छन् । खेतमा बनाईएका प्लटिङ्गका चिरा–चिरामा अव्यवस्थित ढंगबाट धमाधम घरहरु बन्दै छन् । अन्नको भण्डार भनेर समेत चिनिने झिमरुक फाँटलाई वर्षेनी झिमरुक नदीले समेत कटान गर्दै आएको छ । क्वाडी, बिजुवार, धर्मावती, खप्रेङखेला, दम्ती, मरण्ठाना, सारीबाङ्ग, विजयनगर, रस्पुरकोट, विजुली, बरौला, पकला, रम्दी र धुवाङका खेतहरु वर्षेनी कटानको चपेटामा पर्दै आएका छन् ।
खेतीयोग्य जमिनमा बस्ती विस्तार भएसंगै सिचाई सुविधा सम्पन्न झिमरुक फाँटलाइ कस्ले बचाउने? वातावरणीय प्रभाव मुल्याकंनबिना नै गा्रमिण सडक निर्माण गर्दै जाँदा यसको सिधा असर झिमरुक फाँटमा समेत परेको छ ।
फाँट बचाउने नीति नबनेका होईनन् । तर सरकारी नीति कागजमै सिमित भएको जिल्लाका बुद्धिजिविहरु बताउँछन् । केन्द्र र प्रदेस सरकारसंग नबाझिने गरि भू–उपयोग नीति बनाउनु पर्ने बाध्यता रहेको प्यूठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताए । ‘संघ र प्रदेसले कस्तो कानुन बनाउँछन् पर्खाइमा छौँ ।’नगरप्रमुख कक्षपतिले भने, ‘फाँट बचाउने भूउपयोग नीति छिट्टै बनाउँछौँ ।’ प्यूठान नगरपालिकाको पहिलो परिषद्ले फाँटमा प्लटिङ्ग गर्न रोक लगाउने निर्णय त गरेको छ तर व्यवहारत् कार्यान्वयनमा जटिलताहरु देखिएको छन् । ‘व्यक्तिले आफ्नै ढंगले घरहरु बनाएका छन् ।’ नगरप्रमुख कक्षपतिले भने, ‘न बाटो छ, न बिजुली, मनोमानी तवरले घरहरु बनाएका छन् ।’व्यक्तिको निजी सम्पक्तिमाथि रोक लगाउने स्पष्ट कानुनी व्यवस्था नहुँदा अव्यवस्थित बसोवासले तिब्रता पाएको कक्षपतिको बुझाई छ । झिमरुक फाँट बचाउने तर्फ सचेतना आउन जरुरी रहेको उनले औँल्याए । नगरपालिकाले ५ वर्षे आवधिक नगरविकास योजना बनाएर कृषिलाई पहिलो प्राथमिकतामा राखेको समेत नगर प्रमुख कक्षपतिको भनाई छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top