प्रकाश बैद्य
प्यूठान,लायन्स क्लव अफ प्यूठान हरिओमको चार्टर सर्टिफिकेट हस्तान्तरण कार्यक्रम आज जुम्रीमा सम्पन्न भएको छ ।
लायन्स क्लव अफ प्यूठान हरिओमका अध्यक्ष हेमराज आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लव इन्टरनेशननल डिष्ट्रिक ३२५ एन का गभर्नर बिनोद कुमार श्रेष्ठको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा बोल्दै गभर्नर श्रेष्ठले प्यूठानका लायन्स लिडरहरुको सक्रियता बढ्दै गएमा जिल्लामा विभिन्न प्रोजेक्टहरु ल्याउन सकिने बताए । प्यूठानमा लायलाइसिस मेशिन ल्याउने प्रक्रिया अन्तिम चरणमा पुगेको बताउदै श्रेष्ठले क्यान्सर रोग उपचार ,आँखा उपचार ,छात्रावास लगायतका प्रोजेक्टहरु ल्याउन सक्ने सम्भावना भरपुर मात्रामा रहेकाले बढी भन्दा बढी प्रोजेक्ट ल्याएर जिल्लावासीको सेवा गर्न यहाँका लायन्स क्लव तथा लायन्स लिडरहरुले सक्रियता बढाउनु पर्नेमा जोड दिए । अन्यत्रको तुलनामा प्यूठानका लायन्स क्लवहरुले सक्रिय ढंगले कार्य गरी आफुलाई साथ दिएको समेत गभर्नर श्रेष्ठले चर्चा गरे ।
कार्यक्रममा लायन्स क्लव अफ प्यूठानका पदाधिकारीहरुले लायन्स क्लव अफ हरिओमका पदाधिकारी तथा सदस्यहरुलाई चार्टर पेपर हस्तान्तरण गरेका थिए । गभर्नर श्रेष्ठले लायन्स क्लव अफ हरिओमका सदस्यहरुलाई चार्टर सर्टिफिकेट तथा व्याज प्रदान गरेका थिए ।
क्लव विस्तार तथा समन्वयमा महत्वपूर्ण योगदान गरे बापत रिजन चेयर पर्सन लोक बहादुर बस्नेत,एरिया चिफ झवेन्द्र शर्मा ,अनरी डिष्ट्रिक एडभाइजर अर्जुन कुमार कक्षपतिलाई गभर्नर श्रेष्ठले व्याजले सम्मान गरेका थिए ।
कार्यक्रम लायन्स क्लव अफ हरिओमका कोषाध्यक्ष गोविन्द राज पोख्रेलले स्वागत गरेका थिए भने सञ्चालन तिलक जि.सि.ले गरेका थिए ।
कमेन्ट गर्नुहोस !