प्यूठान,स्वर्गद्धारी नगरपालिका वडा न.२ मा रहेको स्वर्गद्धारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि .लाई ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको छ ।
स्वर्गद्धारी नगरपालिका र हेफर प्रोजेक्ट नेपालको आर्थिक सहयोग ,फूलबारी एकीकृत ग्रामीण विकास संस्था (फ्रिडो) नेपालको सहजिकरणमा स्वर्गद्धारी नगरपालिका वडा न. १ र २ मा सञ्चालित परियोजना अन्तर्गत सहकारी संस्थाको कार्यालय व्यवस्थापनका लागि आज एक कार्यक्रमका बीच ल्यापटप र प्रिन्टर हस्तान्तरण गरिएको हो ।
परियोजना अन्तर्गत आयोजित सहकारी संस्थाका पदाधिकारीहरुका लागि ३ दिनको सहकारी व्यवस्थापन तालिमको समापनका अवसरमा संस्था सञ्चालनमा थप सहजताका लागि उपकरणहरु हस्तान्तरण गरिएको हो ।
तालिम समापन तथा सामाग्री हस्तान्तरण कार्यक्रममा स्वर्गद्धारी नगरपालिका वडा न.२ का वडा अध्यक्ष बुद्धिराम पुनको अध्यक्षता ,स्वर्गद्धारी नगरपालिका नगर प्रमुख टेक प्रसाद भण्डारीको प्रमुख आतिथ्यता तथा नगर उपप्रमुख मिन राज रानाको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमकै अवसरमा नगर प्रमुख भण्डारीले स्वर्गद्धारी सामाजिक उद्यमी महिला सहकारी संस्था लि. लाई १ थान ल्यापटप ,एक थान फोटोकपी मेशिन सहितको प्रिन्टर हस्तान्तरण गरेका हुन् । उपकरण हस्तान्तरणले सहकारी संस्थाको कार्यालय व्यवस्थित गर्न ठुलो सहयोग पुग्ने नगर प्रमुख भण्डारीले विश्वास व्यक्त गरे । नगरपालिकाले हेफर संग साझेदारी गरी कृषि,पशु तथा सहकारीका क्षेत्रमा विभिन्न कार्य गरेको बताउदै नगर प्रमुख भण्डारीले काम कार्वाहीमा केही अप्ठेरो परे नगरपालिकामा सम्पर्क गर्न सहकारी संस्थाका पदाधिकारीहरुलाई आग्रह समेत गरे ।
कार्यक्रममा मन्तव्य व्यक्त गर्दै फूलबारी एकीकृत ग्रामीण विकास संस्था नेपालका अध्यक्ष छन्द बहादुर बस्नेतले ३ दिन सम्मको तालिममा सहभागिहरुको सक्रियता प्रशंसा गर्न योग्य रहेको बताउदै उपकरणले सहकारी संस्थाको कार्यालय सञ्चालन तथा व्यवस्थित गर्न ठुलो सहयोग पुग्ने बताए । साथै संस्थाको आन्तरिक श्रोतबाट सहकारी संस्थालाई दुई थान टेबल ,४ थान कुर्सी तथा १ थान दराज संस्थाले प्रदान गर्ने समेत घोषणा गरे ।
कार्यक्रममा स्वर्गद्धारी १,२ र ६ का वडा अध्यक्षहरु ,हेफर प्रोजेक्टका कर्मचारीहरु,स्वर्गद्धारी नगरपालिका कर्मचारी सहकारी संस्थाका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
३ दिन सम्म स्वर्गद्धारी धरमपानीमा सञ्चालित तालिमको सहजिकरण बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक प्रकाश बैद्यले गरेका थिए । कार्यक्रमको सञ्चालन फूलबारी एकीकृत ग्रामीण विकास संस्था नेपाल का कार्यकारी निर्देशक टिकाराम आचार्यले गरेका थिए । कार्यक्रममा सहकारी संस्थालाई १ लाख मुल्य बराबरको सामाग्रीहरु हस्तान्तरण गरिएको हो ।
कमेन्ट गर्नुहोस !