शनिबार, मंसिर २२, २०८१ | Saturday 7th December 2024

डल्ले सराय



‘वाह ! भोलि त डल्लेमा सराय हेर्ने दिन । कस्तो रमाइलो हुन्छ । यसपालीको तिहार साँच्चिकै रमाइलो भयो । अस्ति लक्ष्मी पूजाको दिनदेखि देउसीभैलो खेल्न कम्ता रमाइलो भएको छैन । ठाउँठाउँमा सोरठी नाचले मनै उमंग बनाएको छ । आजको भाइटीका रमाइलो हुने नै भयो,’ उमंग उत्साहित हुँदै निस्किए ।
‘के भन्छ यो उमंग ? तिहारमा पनि कही सराय नाच हुन्छ त ? हाम्रो गाउँमा त दसैंमा मात्र सराय नाचगान गरिन्छ । तिहारमा त देउसीभैलो खेलिन्छ । नाचगान गर्दिन्छ,’ मामाघर आएका उत्कृष्टले छक्क परे ।
अपराजिता हजुरबासँगै खेलिरहेकी थिइन् । उमंग र उत्कृष्टको कुराले अपराजितालाई पनि केही कचमच लाग्यो । ‘अहो, साँच्चिकै हजुर बा ! किन तिहारमा डल्लेमा मात्र सराय हुन्छ ? अन्त त जताजतै दसैंमै सराय नाच हुन्छ,’ अपराजिताले सोधी ।
‘डल्ले सरायको त गज्जबको कथा छ नि ! केटाकटीहरु,’ विनयले नातिनातिनाको अगाडि गजक्क पर्दै भने ।
‘गज्जबको कथा छ रे ? त्यसो भए सुनाइ हाल्नु न त !,’ तिनै जनाले एकै स्वरमा अनुरोध गरे ।
‘भित्रीकोटको बारेमा के थाहा छ तिमीहरुलाई ?’ विनयले प्रश्न तेस्र्याइहाले ।
‘त्यो पहिले राजा बस्ने दरबार हो । अहिले कोट भएको छ, होइन र हजुरबा ?’ उमंगले सोधे ।
‘ठिक भन्यौ उमंग । त्यहाँ पहिले जाट राजा बसे । पछि चन राजा बसे । जाट राजाको नाम वा थियो । वा राजा दुष्ट प्रवृत्तिका थिए । उनको व्यवहारबाट गाउँलेहरु पीडित थिए । चिढिएका थिए । उनकी श्रीमती पनि उनको व्यवहारबाट वाक्कदिक्क थिइन्,’ विनयले कथा सुनाउन थाले ।
‘राजाहरु त प्राय दुष्ट नै हुन्छन् नि ! होइन र हजुर बा ?,’ उत्कृष्टले प्याच्च भनिहाले ।
‘यो उत्कृष्ट किन बिचबिचमा प्याच्च प्याच्च बोलेको ? कथा सुन्न कति रमाइलो भइरहेको थियो । अब त्यसरी नबोलौ है ? अनि के भएछ त ? भन्नुहोस् न हजुरबा,’ अपराजिताले समन्वय गर्न खोजी ।
उत्कृष्टको प्रश्न जायजै थियो । तर अपराजिताको अगाडि विनयले केही भनेनन् । उनले कथालाई निरन्तरता दिन थाले, ‘वा राजाको व्यवहार गर्दा गाउँले चिढिएका छन् । आफ्नै श्रीमती पनि उनको व्यवहारबाट खुसी छैनन् भन्ने चाल सल्यानी चन राजाले पाएछन् ।’
‘चन राजालाई त के निहुँ पाइस् ! कनिका बुक्याइस् भनेझैं भयो होला होइन ? जाट राजामाथि आक्रमण गर्न तानाबाना बुन्न थाले होलान् होइन ?’ उमंगले जिज्ञासा राखे ।
‘ठिक भन्यौ उमंग । साँच्चिकै चन राजाले जाट राजामाथि आक्रमण गर्ने योजना बनाउन थाले । चन राजाले आफ्ना दरबारका गुप्तचरलाई पाहुन बनाएर जाट राजाको दरबारमा पठाए । वा राजाकै श्रीमतीले उनका सबै कमीकमजोरी सुनाइदिए । कसरी जाँट राजामाथि आक्रमण गर्ने भनेर अध्ययन गरे । अनि फर्के । आफ्नो दरबारमा गएर राजासहितको बैठकले भित्रीकोटे वा राजामाथि आक्रमण गरेर दरबार नै कब्जा गर्ने रणनीति बनाए,’ विनयले भने ।
‘ओहो ! यति धेरै अध्ययन योजना बनाएर आक्रमण गरिसके पछि त चन राजाको दलबलले जाट राजाको दरबार झ्याप्पै कब्जा ग¥यो होला है ?’ उत्कृष्टले उत्साहित हुँदै भने ।
‘कहाँको त्यसरी झ्याप्पै कब्जा गर्न सक्छन् । जाट राजा पनि त शक्तिशाली नै थिए नि । उनको दरबारमा पनि शक्तिशाली फौज थियो ,’ विनयले भनिहाले ।
‘त्यसो भए त घमासान युद्ध भयो होला ! रगतको खोला बग्यो होला है !’ अपराजिताले आङ सिरिङ्ग पार्दै भनी ।
‘युद्ध त घमासान नै भयो नि । आक्रमण गर्न सम्पूर्ण तयारी पुरा गरेर चन राजा आफ्ना लडाकु सेनाको दलबलसहित भित्रीकोट पुगे । सबैको साथमा हातहतियार थिए । एक्कासि राजाले राजामाथि र सेनाले सेनामाथि आक्रमण गरे । भित्रीकोट दरबार एकाएक रणमैदानमा बद्लियो,’ विनयले पनि बोल्दाबोल्दै आङ सिरिङ्ग पारे ।
‘ओहो ! कस्तो डरलाग्दो । आखिरमा युद्ध कसले जित्यो त हजुरबा । चन पक्षले कि जाट पक्षले ?’ उमंगले पनि केही डराए झैं देखियो ।
‘कस्तो कुरा गरेको उमंगले ? कहाँ त्यति चाँडै हारजितको फैसला हुन्छ । कबड्डी प्रतियोगिता हो र ? एउटा राज्यले अर्को राज्य कब्जा गर्ने लडाइ पो हो त ?’ विनयले थपे, ‘लड्दादड्दै जाट राजाको शक्ति कमजोर भयो । चन राजाको शक्ति बलियो हुँदै गयो । चन राजा र उनका सिपाहीले जाट राजा र उनका सिपाहीलाई भित्रीकोट दरबारबाट खेद्न थाले ।’
‘चन राजा पक्षले जाट राजा पक्षलाई दरबारबाट खेदेपछि त दरबारै कब्जा गरेर शासन गर्न थाले होलान् होइन ?,’ उत्कृष्टले उत्साहित हुँदै भने ।
‘दरबार छाडेर भाग्दैमा कसरी शासन कब्जा हुन्छ र ? एक पक्षले अर्को पक्षलाई निमिट्यान्न पार्नु परेन ? चन पक्षले लखेट्दै गयो । जाट पक्ष ज्यान बचाउन भाग्दै गयो । नाङ्गो डाँडामा पुगेपछि जाट पक्ष फेरि प्रतिरोधमा उभियो । त्यही पनि घमासान लडाइ भयो । चन राजाले जाट राजामाथि धारिलो हतियार प्रहार गरेर गहिरो चोट लगाइ दिए । जाट राजाको शरीरबाट रगतको भेल बग्यो । चन पक्षका सिपाहीले जाट पक्षका सिपाहीलााई सांघातिक आक्रमण गरे । जाट पक्षका धेरै सेना मारिए । बाँकी रहेकालाई पनि घाइते बनाए । नाङ्गो डाँडो रक्तम्मै भयो । रगतको त खोलै बग्यो । कथा भन्दाभन्दै विनयले फेरि आङसिरिङ्ग पारे ।
‘यति भए पछि त युद्ध सकिए होला नि होइन हजुरबा ?,’ अपराजिताले सोधी ।
‘उफ कहाँको सकिदो हो युद्ध । नाङगो डाँडा एकाएक चिहानमा बदलियो । मरेका र घाइते सेनाको रगतको भल बगेर तल खोल्चाको एउटा पोखरी टम्म भरियो । पानी पोखरी रक्त पोखरीमा बदलियो । त्यो पोखरीको नामै रक्ते पोखरी हुन गयो । चन राजाले जाट राजालाई चोट लाग्ने गरी पहिलोपटक नाङ्गो डाँडामै काटेका थिए । नाङ्गो डाँडाको नाम पनि बदलिएर जाटकोट डाँडा भयो । त्यो घटना एकदमै सत्य हो । त्यस डाँडामा त्यतिबेला मारिएका सेनाका अस्थिपञ्जर अहिले पनि छ्यापछ्याप्ती देखिन्छन् । त्यसलाई त मसानडाँडा भन्दा पनि हुन्छ,’ विनयले भने ।
‘हजुरबा के त्यो रक्तेपोखेरी अहिलेसम्म छ त ?’ उमंगले सोधे ।
‘छ नि किन नहुनु र ? वर्षायाममा पानीले टम्म भरिन्छ । वैज्ञानिक कारण के हो त्यो त थाहा भएन । तर पानी भरिँदा रगतले भरिएजस्तै देखिन्छ । अचम्म छ प्रकृतिको वरदान पनि,’ विनय मुस्कुराए ।
‘युद्ध नाङ्गो डाँडामै सकिए कि अझै अगाडि बढ्यो त हजुरबा ?’ अपराजिताले सोधी ।
‘राजा राजाबिचको लडाइ पनि त्यतिकै टुंगिन्छ र, एकले अर्कालाई नसिध्याइकन ? घाइते जाट राजा र उनका बचेका सेना त्यहाँबाट भागे । चन राजा र तिनका सेनाले पिछा गर्दै लखेट्दै गए । ठाउँठाउँमा झडप पनि भयो । उनीहरु लड्दैभिड्दै बेसीको क्षेत्रपाल पुगे । दुबै पक्षले एकले अर्को पक्षलाई हमला गर्दै खेतको बाटो भागदौड गर्दागर्दै बखडीमा पुगे । बखडीमा दोस्रोपटक घमासन युद्ध भयो । त्यहाँ चनले जाँटलाई फेरी सांघातिक आक्रमण गरेर सख्त घाइते बनाए,’ कथा सुनाउँदा सुनाउँदै विनयको जिउ थरर कामे ।
‘हैट कस्तो डरलाग्दो कथा ? सुन्दा पनि आङै सिरिङ्ग हुने अब त सकियो होला है हजुरबा त्यो भिषण युद्ध ?’ उत्कृष्टले भने ।
‘कथा सकिएको छैन बाबु । चन राजाको प्रहारको पीडा सहन नसकेका जाट राजा छटपटाउन थाले । उनी अझै पनि ज्यान जोगाउने आशमा शरीरबाट रगतका धारा बगाउँदै त्यहाँबाट भागे । चन राजाले जाट राजाको पिछा गर्दै गए । भाग्दाभाग्दै डल्ले पुगेका जाट राजामाथि चन राजाले तेस्रोपटक सांघातिक आक्रमण गरे । जाट राजाले ठाउँका ठाउँ छट्पटाउँदै प्राण त्यागे । जाट राजा मारिएको तिहारको भोलिपल्ट थियो ।
‘जाट राजा मारिएपछि चन राजा पक्षकाले विजयोत्सव मनाए होलान् होइन ?’ उमंगले अड्कल काटे ।
‘ठिक भन्यौ । जाट राजा मारिएको खबर हावासरी क्षणभरमै फैलियो । डल्लेमा मान्छेको ठुलो भिड लाग्यो । दुष्ट जाट राजा मारिएकोमा हर्ष बढाइ भयो । त्यस दिनदेखि अहिलेसम्म पनि तिहारको टिकाको भोलिपल्ट विजयउत्सव मनाउने चलन कायमै छ । भोलि हामी हेर्न जाने सराय नै त्यही विजयोत्सव हो,’ विनयले प्रष्ट पारे ।
‘साँच्चिकै हजुरबा सराय खेल्दा –बा खै-बा खै –भन्छन् नि किन होला ?,’ अपराजिताले सोधी ।
‘जाट राजाको नाम वा थियो । उनी मारिएपछि मानिसको भिडले वा खै वा खै भनेर रमाउँदै उनको लास खोज्न थाले । त्यतिबेला देखिनै बा खै भनेर सराय खेल्ने चलन चल्यो । आजकाल त्यही विजयोत्सवलाई तिहारको मेलाको रुपमा मनाउने चलन बस्यो,’ विनयले भने ।
‘मैले त पोहोर त बाख्खै भनेर सराय खेलेको सुनेको थिएँ त हजुरबा,’ उत्कृष्टले सोधे ।
‘त्यो दिन खासमा बाऽ खै बाऽ खै भनेर जाट राजालाई नै खोजेका हुन् । पछिपछि तिहारको मेलामा बाख्खै भनेर सराय खेल्ने चलन बस्दै गयो,’ विनयले स्पष्ट पारे ।
‘खासमा ती जाट राजासँग गाउँले र आफ्नै श्रीमतीसमेत वाक्कदिक्क हुनुका कारण के रहेछ ?’ उमंगले बिर्सेको कुरा सम्झे झैं गरी सोधे ।
‘जाट राजा क्रुर स्वभावको थियो । उसले जनतालाई साह्रै दुख दिन्थ्यो । त्यसैले जनता उनीदेखि क्रुद्ध थिए । उनको दुष्ट व्यवहार उनकै श्रीमतीलाई पनि मन परेको थिएन । त्यसैले उनको विभत्स अन्त्य भयो ।
‘अनि जाट राजाको नाम कसरी व रहे होला है ?’ अपराजिताले सोधी ।
जाट राजाले धेरै जाँडरक्सी खान्थे । उनी सधैंभरी वाऽ वाऽ गरिरहन्थे । त्यसैले गाउँलेले उनको नामै वा राजा राखिदिए ।
‘यसरी भित्रिकोटमा जाट राजाको शासन अन्त्य भएर चन राजाको उदय भएको थियो,’ विनयले टुङ्ग्यउँदै भने ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top