
बाबुराम उपाध्याय
१७ बैशाख २०७५, प्यूठान ÷ आम प्यूठानीहरुको स्वास्थ्य सेवालाई ध्यानमा राखी सञ्चालनमा ल्याइएको स्वास्थ्य बिमा कार्यक्रम प्रभाबकारी बन्नु पर्नेमा सरोकारवालाहरुको चासो बढेको छ ।
०७४ माघ २८ मा सम्माननिय उपराष्ट्रपति नन्द बहादुर पुनकै बिमा परिचय पत्र बितरण गरी दर्ता शुभारम्भ गरिएको प्यूठानमा संचालित स्वास्थ्य बिमा कार्यक्रमको लागि स्पष्ठ नीति, बिधि ,प्रविधिको उपयोग तथा कार्यान्वयन पक्ष प्रभावकारी हुनु पर्ने बिषयमा सरोकारवालाहरुको चासो बढ्न थालेको हो ।
रु २५०० तिरी ५० बार्षिक ५० हजार सम्मको औषधि उपचार निशुल्क पाईने कार्यक्रमको व्यवस्था अनुसार प्यूठानि जनताहरु एक हिसावले उत्साहित भएको त देखिन्छ तर सम्वन्धित निकायको कार्यान्वयन पक्ष तथा श्रोत साधनको अवस्थालाई बिष्लेषण गर्दा कतै स्वास्थ्य बिमा प्यूठानिका लागि सपनामा मात्र सिमित त हुदैन ? कतै गरीबका लागि भनेर बिमा कार्यक्रम भनिने टाठाबाठा धनिहरुले मात्र अवसर पाउने त हुँदैन ? आम जनमानसमा यति बेला प्यूठानको स्वास्थ्य बिमाका सन्दर्भमा चर्चा परिचर्चा हुन थालेको छ ।
स्वास्थ्य बिमाका दर्ता अधिकारी बसन्त लामिछानेले दिएको जानकारी अनुसार ०७४ चैत्र मसान्त सम्म प्यूठानका १ हजार ६सय ३४ घर धुरिका ७ हजार २ सय जना व्यक्तिहरु कार्यक्रममा आवद्ध भएका छन् भने उनिहरुबाट ३७ लाख भन्दा बढि रकम संकलन भई सकेको छ । गरीबहरुका लागि निशुल्क आबद्ध गराउने कार्यक्रमको उद्देश्य अनुसार जिल्लामा २२७ घर धुरिका १ हजार ७६ जनाको अति गरीब अन्तर्गत आबद्ध भएको पनि दर्ता अधिकारीबाट जानकारी प्राप्त भयो ।
अब यी अति गरीब छनौट पनि साँच्चै बास्तविक गरीब छनौट भए कि टाठा बाठाहरु गरीबको रुपमा समाबेश भए ? अहिले जनमानसमा प्रश्न उठ्न थालेको छ । करिब ३ महिना अघि देखि सुरु भएको कार्यक्रममा अति गरीब छनौट प्रक्रिया तथा कार्यान्वयन पक्ष पनि सुस्त देखिन्छ । कतिपय ठाउँमा अति गरीबहरु छनौट भई बिमामा अझै आवद्ध गरिएको छैन भने कतिपय ठाउँमा हतार हतारमा गरीबहरुको लिष्टमा हुनेखाने पनि परेको बुझिएको छ । माथीबाट अति गरीब भनेर पठाईएको लिष्टमा आफ्नो वडाका हुने खाने व्यक्तिको नाम पनि समाबेश भई आएकाले वडाका जिम्मेवारी व्यक्तिहरु बसेर बास्तविक अति गरीबको पहिचान गरी छनौट गरेर मात्र गरीबलाई कार्यक्रममा आबद्ध गर्ने उद्धेश्यले वडामा अति गरीबको परिचय पत्र हाल नबाँडिएको प्यूठान न.पा. ३ का वडा अध्यक्ष प्रेम बहादुर हमालले बताउनु भयो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हाल रु २५०० तिरेर ५० हजार सम्मको सेवा दिने कार्यक्रमको व्यवस्था गरेकोमा अब ३५०० संकलन गरी १ लाख सम्मको उपचार सेवा दिने लक्ष लिएको जिल्ला जन स्वास्थ्य कार्यालयका प्रमुख बिशाल सुबेदीले बताउनु भएको छ ।
अब कार्यक्रम जिल्लामा सुरु भएको ३ महिना पुगेको छैन उपचार सेवा सुरु नहुँदै , कार्यक्रमको व्यवहारमा प्रयोग नहुँदै पुनः अर्को रणनीति तयार हुनुले पनि कतै यो कार्यक्रम महत्वकांक्षी त हुँदैन आम सरोकारवालाहरुले बिश्लेषण गर्न थालेका छन् ।
नेपाल पत्रकार महासंघ प्यूठानका अध्यक्ष महाविर राना भन्नु हुन्छ “ स्वास्थ्य बिमा अत्यन्त राम्रो कार्यक्रम हो सफल हुनु पर्दछ तर बिमाका लागि सम्वन्धित निकायबाट सचेतनाको खाँचो छ भने बिपन्न समुदायमा स्वास्थ्य सेवा पहुँच पुर्याउन यो सेवा लागु गरिएको भए पनि बिपन्न समुदाय बञ्चित हुनु परेको अवस्था छ जसका लागि सरोकारवाला पक्षबाट विशेष योजनाको आवश्यक देखिन्छ । ” गरीब ,अपांग ,दलित समुदायको बजेट विभिन्न भ्रमण तथा गोष्ठी गरेर खर्च गर्नु भन्दा सम्वन्धित स्थानिय निकायहरुले बिमाबाट बञ्चित बर्गमा खर्च गरेर बिपन्न जनताको पहुँचमा बृद्धि गर्न जरुरी रहेको समेत अध्यक्ष रानाको धारणा रहेको छ ।
स्वास्थ्य बिमाको लागि केहि हल्ला खल्ला तथा विभिन्न ठाउँमा सामान्य कार्यक्रमको आयोजना गरिए पनि अब कार्यक्रममा आबद्ध भएकाहरुलाई सेवा दिने बेला आउनै लाग्दा सम्म खासै सम्वन्धित स्वास्थ्य संस्थामा बिशेषज्ञ सेवा लगायतका सेवाहरु सुरु गरिएको छैन । नेपाल रेडक्रस सोसाइटि प्यूठानका सभापति गुमानराज पुलामीले स्वास्थ्य बिमा गर्नु राम्रो हो तर अस्पतालमा विशेषज्ञ सेवा तथा औषधि सो अनुसार प्रयाप्त हुनु पर्ने धारणा राख्नु भयो । नीतिगत रुपमा विशेषज्ञ सहितको बिशेष सेवा हुने पर्ने सभापति पुलामीको धारणा छ । ७० प्रतिशत औषधि निशुल्क पाइन्छ भन्ने तर दिने बेला बिरामीलाई ७ प्रतिशत पनि नदिने त्यस्तो खालको सरकारी संयन्त्र छ यसलाई नीतिगत रुपमा सुधार गरेर अगाडि बढ्नु पर्नेमा समेत पुलामीले सुझाब व्यक्त गर्नु भएको छ ।
स्वास्थ्य बिमाकै सन्दर्भमा चासो राख्दै प्यूठान उद्योग बाणिज्य संघका अध्यक्ष ज्ञामुराम न्यौपानेले बिमाको अवधारणा राम्रो भएता पनि यसको कार्यान्वयन पक्ष निकै जटिल रहेको तथा कार्यक्रमका लागि जनशक्ति र पूर्वाधारहरुको बिकास गर्नु पर्नेमा जोड दिनु भयो । अति गरीब छनौट गर्ने लगायतका कार्यहरुमा बास्तविक गरीब छनौटको लागि स्पष्ठ मापदण्ड बनाउनु पर्ने न्यौपानेको धारणा रहेको छ ।
स्वास्थ्य बिमा कार्यक्रम आफैमा सरकारको महत्वपूर्ण कार्यक्रम हो । कार्यक्रममा प्यूठानी जनताहरु आकर्षित भएका छन् । कार्यक्रमको उद्देश्य पनि राम्रो देखिन्छ तर कार्यक्रम प्रभावकारी एवं दिगो बनोस सवैको अपेक्षा यहि हो । सरकारी काम कहिले जाला घाम भने जस्तै हल्ला खल्ला कुरामा मात्र मिठो आउने तर कार्यान्वयन पक्ष फितलो हुने , भने अनुसारको उपचार सेवा नहुने , पूर्वाधारको बिकास नहुने , अति गरीबका नाममा हुने खाने बर्गहरुको बर्चश्व हुने जस्ता प्रबृत्तिलाई वास्तै नगरी अगाडि बढेमा यो कुनै अर्थ रहने छैन । कार्यक्रमका लागि स्पष्ठ नीति योजना तय गरी नयाँ योजना अनुसार अगाडि बढ्न सकेमा स्वास्थ्य बिमा आम प्यूठानिहरुको आवश्यक्ता र चाहना अनुसारको कार्यक्रम हुनेछ ।
कमेन्ट गर्नुहोस !