सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

आ–आफ्नो कार्ड नखोली तुरियो सिट बाँडफाँट कार्यदलको पहिलो बैठक





सत्ता गठबन्धनले सिट बाँडफाँटका लागि बनाएको कार्यदलको पहिलो बैठक सोमबार बस्यो । तर कुनै दलले आफ्नो कार्ड नखोलेको नेताहरु बताउँछन् ।

२० साउनमा बसेको पाँचदलीय गठबन्धनका शीर्ष नेताहरुको बैठकले ४ मंसिरको प्रदेश र प्रतिनिधिसभा चुनावमा तालमेल गर्ने निर्णय गर्दै कार्यदल बनाएको थियो । कार्यदलको पहिलो बैठक सोमबार दिउँसो बालुवाटारमा बसेको थियो ।


एक सदस्यका अनुसार बैठक औपचारिकतामा सीमित भयो । नेकपा एकीकृत समाजवादीका महासचिव बेदुराम भूसाल भन्छन्, ‘कसरी जाँदा ठीक होला, के आधारमा, कुन मापदण्डमा जाँदा ठीक होला भनेर छलफल गर्‍याै‌ं । आज एकदमै प्रारम्भिक खालको छलफल भएको छ ।’

बैठकमा माओवादी नेता एवं कार्यदलका सदस्य वर्षमान पुनले भने २०७४ मा एमाले र माओवादीबीच सिट बाँडफाँटको अनुभव सुनाएका थिए । ‘ओली र प्रचण्ड बसेर ६०/४० टुंग्याएपछि अरु छलफल गर्न सहज भएको थियो’, उनले भने ।


नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले भने गठबन्धन सिटको विषय मात्र नभएको भन्दै संविधान कार्यान्वयन, आर्थिक सामाजिक रुपान्तरण र वैदेशिक सम्बन्ध लगायतका विषयमा न्यूनतम साझा धारणा बनाउनुपर्ने पार्टीको निर्णय सुनाएका थिए ।

एक सदस्य भन्छन्, ‘आज कसैले पनि पत्ता खोलेनन् । आ–आफ्नो पार्टीमा छलफल गरेर अर्को बैठकमा विषय प्रवेश गर्ने भन्ने भएको छ ।’

बैठकमा लोकतान्त्रिक पार्टी (लोसपा) र डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीबारे समेत छलफल भएको थियो ।

सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री एवं कार्यदल सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले लोसपा नेताहरुसँग प्रधानमन्त्रीले सम्वाद गरिरहेको जानकारी दिएका थिए । माओवादी नेता पुनले भने डा. भट्टराईसँग आफूहरु पनि सम्वादमा रहेको बताए ।

तर दुबै दलबारे कुनै निर्णय भएन ।

कार्यदलको बैठकले कांग्रेसका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेको छ । ११ सदस्यीय कार्यललमा कांग्रेसका तीन सदस्य छन् भने अरु दलका २–२ जना छन् । कार्यदललाई साउन मसान्तभित्र सिट बाँडफाँटबारे सहमति जुटाएर प्रतिवेदन बुझाउन भनिएको छ ।

अर्को बैठकअघि दलहरुबीच द्विपक्षीय तथा बहुपक्षीय छलफल पनि हुन सक्ने नेताहरुले बताएका छन् । कार्यदलको अर्को बैटक साउन २६ गतेका लागि बोलाइएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top