
प्रेमबहादुर विश्वकर्मा
प्युठान,१० भदौ ।
प्युठान नगरपालिका र ऐरावती गाउँपालिकामा समुदाय स्तरमा कोरोना संक्रमण पुष्टि भएपछि विभिन्न क्षेत्रहरु सिल गर्ने निर्णय भएको छ । प्युठान नगरपालिका वडा नं ४ र वडा नं ७ मा समुदाय स्तरका दुई जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमण थप फैलिन नदिन विभिन्न क्षेत्रहरु सिल गर्ने निर्णय भएको हो । नगरपालिका स्तरीय संकट व्यवस्थापन समिति(सिएमसी) को बैठकको निर्णयले प्युठान नगरपालिका वडा नं ४ जुम्री पुल्चोक देखि वडा नं ७ टिकुरी माझकोट जाने बाटो सम्मको आसपास क्षेत्र सिल गर्ने निर्णय गरेको नगरप्रमुख अर्जुनकुमार कक्षपतिले बताउनुभयो । आज राती १२ बजेदेखि भदौ १७ गते राती १२ बजेसम्म अत्यावश्यक सेवा बाहेक बस्ती, बजार क्षेत्र सिल गर्ने निर्णय भएको उहाँले बताउनुभयो ।

त्यस्तै ऐरावती गाउँपालिकामा पनि समुदाय स्तरमा एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि गाउँपालिका स्तरीय संकट व्यवस्थापन समिति(सिएमसी)को बैठकले वडा नं २ (साविक बरौला गाविसका ७,८ र ९वडा) लाई अर्को सुचना नआउन्जेल सम्मका लागि सिल गर्ने निर्णय गरेको गाउँपालिकाका अध्यक्ष नविल विक्रम शाहले बताउनुभयो । सिल अवधीमा खाद्यान्न पसलहरु बिहान ८ बजे देखी १० बजेसम्म र बेलुका ४ बजेदेखी ६ बजेसम्म खुल्ला रहने छन् भने अन्य गैर सरकारी संस्थाहरु, वित्तिय संस्थाहरु,व्यापार व्यवसायिक पसलहरु पूर्ण रुपमा बन्द हुने गाउँपालिकाले जनाएको छ ।
.
कमेन्ट गर्नुहोस !