
प्रेमबहादुर विश्वकर्मा
प्युठान,७ भदौ ।
जिल्लाको ऐरावती गाउँपालिका बरौला प्युठानले टोल विकास संस्था गठन गरेको छ । पालिकाले चालु आर्थिक वर्षको नीति, कार्यक्रममा समावेश पश्चात बजेट विनियोजन गरी टोल विकास संस्था गठन कार्य सुरु गरेको हो । स्थानीयतहका जनप्रतिनीधिहरुलाई काममा सहज होस भन्ने उदेश्यले साविकका वडालाई समेटी संस्था गठन सुरु गरिएको गाउँपालिकाका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताए । गत साउन १५ गते गाउँपालिकाका जनप्रतिनीधि, कर्मचारी,र कालिका विकास केन्द्र नेपालका कर्मचारीहरुको बैठक बसी जनप्रतिनीधि र कर्मचारी परिचालित गरी संस्था गठन सुरु गरिएको उहाँले बताए ।
संघीय संरचना लागु भएपछि विगतका गाविस अहिले १ वडा बनेको छ तर भूगोल भने उही पुरानो नै हो, गाउँपालिका उपाध्यक्ष बस्नेतले भने,–‘ हिजो ४५ जना जनप्रतिनिधिले गर्ने काम अहिले ५ जनाले काम गर्नु परेको छ ।’ केही क्षेत्रका बस्तीहरुमा विकास निर्मााणका तार्गेट पुरा भएका छैनन्, बस्ती स्तरबाट आउने समस्याहरु कतै अपुरा हुन पुगेकाले टोल विकास संस्था मार्फत यी समस्या समाधान हुने उनले बताए । अबका दिनमा संस्थाले पूर्णता पाएपछि सबै बस्ती तथा टोल समेटी काम गरिने उनको भनाई छ ।
टोल विकास संस्था गठन पश्चात नागरिकलाई आफुले प्राप्त गर्ने अधिकार र दायित्वको बारेमा स्पष्ट पारी सामाजिक समृद्धिका लागि समुदायलाई व्यापक परिचालन गरिने छ । यसले सामाजिक र आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्ने आशा गरेको उपाध्यक्ष बस्नेतले बताए । पछिल्लो समय जताततै असन्तुष्टी र व्यथिती देखा परेको छ, उपाध्यक्ष बस्नेतले भने,–‘टोल विकास संस्थाहरुको माध्यमबाट समाजमा सुशासन कायम राख्न सकिने छ ।’ साथै टोल बासीका नागरिकलाई संगठित बनाई सामुहिक भावनाको जागृत गराई सामाजिक समानता कायम गरिने उनले बताए ।सामाजिक कार्यमा सकारात्मक सोच, निर्णय प्रकृयामा सबैको सहभागीता, सेवा प्रवाहमा नागरिकको पहँच, सम्पूर्ण विकास निर्माण कार्यमा सहभागीता, गाउँपालिकाबाट हुने कार्यक्रमहरु सबैलाई जोडिने उपाध्यक्ष बस्नेतको भनाई छ । पालिकाले संस्था गठन र परिचालनका लागि एक वडामा ५ लाख रुपिँयाका दरले ६ वडामा ३० लाख रुपिँया बजेट विनियोजन गरेको उनले बताए ।
पलिकाका ६ वटै वडाका साविकका वडाहरुलाई समेटने गरी संस्था गठन गरिएको जनाईएको छ । ६० देखी एक सय घरधुरी सम्म समेटने गरेर संस्था गठन गरिएको छ । जसमा ५० प्रतिशत महिला कार्य समितिमा हुने गरी ९ सदस्यीय कार्य समिति समेत निर्माण गरिएको उहाँले बताउनुभयो । साविक वडाको आधार, घरधुरी संख्याको आधार, सामुदायिक विद्यालय सञ्चालनको आधार, एउटै बाटो एउटै पधेँरो, सामुदायीक वन उपभोक्ता समितिमा रहेको आधार लगाएतलाई आधार मानी संस्था गठन गरिएको बस्नेतले बताए । ६ वटा वडा भित्रका करिब ६० वटा टोल विकास संस्था गठन हुने उनले बताए । उनले भने,–‘धेरै सकिएको छ, अबको केहि दिनमा सबै गठन गरिने छ ।’ वडाका जनप्रतिनीधि,कर्मचारी र कालिका विकास केन्द्र नेपालद्धारा सञ्चालित स्टोमा फाउण्डेसन कार्यक्रमका सामाजिक परिचालकको उपस्थितीमा गठन गरिएको उनले बताए ।
गाउँ समाजमा हुने विकास निर्माणका कामहरु दु्रस्त गतीमा हुने विश्वास लिएको ऐरावती गाउँपलिका वडा नं ४ स्थित तिल्केनी टोल विकास संस्थाका अध्यक्ष सञ्जितकुमार गुरुङ(नवीन)ले बताए । बालमैत्री एंव बाताबरणमैत्री तरिकाले विकास गर्दै दिगो विकासका सिद्धान्तहरुलाई आत्मसात गर्दै समृद्ध गाउँ बनाउन निकै ठूलो अवसरका रुपमा हामिले टोल विकास संस्थालाई लिएको उनले बताए । उनले भने,–‘हामिलाई बिकास मैत्री युवा र युवा मैत्री बिकास गर्दै युवाहरू विकास निर्माणमा प्रत्यक्ष सहभागी हुनेछन् ।’ संस्था मार्फत महिला, बालबालिका,ज्येष्ठ नागरिक र युवाहरूलाई एकजुट बनाई समानुपातिक र समावेशी सिद्धान्तलाई अबलम्बन गरी प्रत्येक कार्यक्रम गर्ने लक्ष्य लिएको उनले बताए ।
कमेन्ट गर्नुहोस !