
सागर रिजाल
प्युठान ।
सरुमारानी गाउँपालिकाले चालु आर्थिक वर्ष ०७७÷०७८ का लागि ४१ करोड ३५ लाख ६८ हजार छ सय ४० रुपिँया बजेट विनियोजन गरेको छ । गाउँपालिकाले ‘किसानसंग गाउँसरकार कार्यक्रम’ लाई चालु आर्थिक वर्षमा पनि निरन्तरता दिने भएको छ । आर्थिक वर्ष ०७५÷०७६ बाट सञ्चालन गरिएको यो कार्यक्रम निरन्तर रुपमा चलिरहेको छ । कार्यक्रम अन्र्तगत अघिल्ला आर्थिक वर्षहरुमा बाख्रापालन, मौरीपालन, केराखेती, धानखेती र अदुवाखेतिका लागि किसानहरुलाई अनुदानका कार्यक्रम सञ्चालन भएका थिए ।
चालु आर्थिक वर्षमा भने यस कार्यक्रम मार्फत कोभिड १९ का कारण सिर्जित प्रतिकुल अवस्थालाई अवसरका रुपमा लिई रोजगारी गुमाएका नागरिकहरुको जीविकोपार्जनका लागि कार्यक्रमहरु सञ्चालन गरिने गाउँपालिका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए। कोरोना संक्रमणका समयमा भारत तथा तेश्रो मुलुकबाट पालिका क्षेत्रभित्र आएका व्यक्तिहरुको तथ्यांक संकलन गर्ने, उनीहरुसंग छलफल गर्ने, काम गर्न ईच्छुक व्यक्तिहरुको प्रस्तावना माग गर्ने , तालिम प्रदान गर्ने र सोही अनुसार पालिकाले सहयोग गर्ने उनले बताए । पालिका क्षेत्रमा खेर गएका बगरहरुको समेत यहि कार्यक्रम मार्फत व्यवस्थापन गरिने उनको भनाई छ ।
व्यवसायिक कृषि, पशुपालन, माहुरी पालन, बिउ उत्पादन लगाएतमा उनीहरुलाई अनुदान दिईने पालिकाले जनाएको छ । पालिकाले चालु आर्थिक वर्षमा किसानसंग गाउँसरकारका लागि प्रदेश र गाउँपालिका मार्फत एक करोड ४० लाख रुपिँया बजेट विनियोजन गरेको छ । यस मार्फत ७० लाख रुपिँयाको वडा नं १ र २ का जनतालाई सिँचाईको सहजताका लागि बांगेशाल सिँचाई आयोजनाको काम गरिने छ भने ७० लाख रुपिँया रोजगार गुमाएका व्यक्तिलाई स्वरोजगारमा खर्च गरिने गाउँपालिका अध्यक्ष विश्वकर्माले बताए । गाउँपालिकाले ‘किसानसंग गाउँसरकार कार्यक्रम’ का लागि आर्थिक वर्ष ०७६÷०७७ मा १ करोड र आर्थिक वर्ष ०७५÷०७६ मा ५० लाख रुपिँया बजेट विनियोजन गरेको थियो ।
छोरी पेवा बचत र अनाथ बालबालिकालाई भत्ता कार्यक्रम निरन्तरता
गाउँपालिकाले चालु आर्थिक वर्षमा छोरी पेवा बचत र अनाथ बालबालिकालाई भत्ता कार्यक्रमलाई निरन्तरता दिएको छ । गाउँसमाजमा छोरी भएकै कारण हुने भुणहत्या, बालबिबाह, आर्थिक समस्याका कारण बिचैमा पढाई छोड्ने बानीलाई हटाउनका लागि पालिकाले आर्थिक वर्ष ०७५÷०७६ बाट सञ्चालन भएको कार्यक्रमलाई चालु आर्थिक वर्षमा पनि सञ्चालन गरिने अध्यक्ष विश्वकर्माले बताए । पालिकाले यस कार्यक्रम मार्फत पालिका क्षेत्रमा जन्मने छोरीहरुको वडा कार्यालयको सिफारिसको आधारमा पालिका भित्र रहेका २ वटा सहकारी ऐरावती बहुउदेश्य साना किसान सहकारी संस्था बड्डाडा र साना किसान कृषि सहकारी संघ बागेशाल सहकारीमा बचत गर्ने गरेको छ । अघिल्लो आर्थिक वर्षमा मासिक दुई सय रुपिँया छोरीहरुले जम्मा गरेका थिए भने चालु आर्थिक वर्षमा मासिक तीन सय रुपिँया जम्मा हुनेछ । यस कार्यक्रमका लागि चालु आर्थिक वर्षमा चार लाख रुपिँया बजेट विनियोजन गरिएको छ ।
त्यस्तै पालिकाले संरक्षक विहिन अनाथ बालबालिकालाई मासिक भत्ता दिने कार्यक्रमलाई पनि निरन्तरता दिएको छ । संरक्षकविहिन बालबालिकाहरुलाई पठनपाठनमा सहयोग पु¥याउने उद्धेश्यका साथ कार्यक्रमलाई निरन्तरता दिएको हो । यस मार्फत अनाथ बालबालिकाले मासिक १ हजार रुपिँया पाउनेछन् । जसका लागि आठ लाख ५० हजार रुपिँया बजेट विनियोजन भएको पालिका अध्यक्ष विश्वकर्माले बताए ।
पालिकाले चालु आर्थिक वर्षमा विपद् व्यवस्थापनका लागि ८० लाख, शैक्षिक गुणस्तर सुधारका लागि २३ लाख, गाउँ शिक्षा योजना निर्माणका लागि २ लाख ५० हजार, विपन्न विद्यार्थीलाई सहयोग २ लाख, छापामय बालविकास निर्माणका लागि २ लाख, सुत्केरी उपहार कार्यक्रमका लागि दुई लाख ५० हजार, प्रसुती सेवा एम्बुलेन्स सहायताका लागि एक लाख रुपिँया लगायत विभिन्न योजनामा बजेट विनियोजन गरेको अध्यक्ष विश्वकर्माको भनाई छ ।
कमेन्ट गर्नुहोस !