
रानीकुवा शान्ती पार्कलाई मुख्य पर्यटकिय केन्द्र बनाईने
प्यार अलि खाँन
प्यूठानको सरुमारानी गाँउपालिकाले रानीकुवा योग तथा शान्ती पार्कलाई मुख्य पर्यटकिय केन्द्रको रुपमा विकास गर्ने भएको छ । गाँउपालिकाले पार्कस्थलमा धमाधम भौतिक संरचनाहरुको कामलाई तिब्रता दिएको वडा नं. ४ का वडा अध्यक्ष चिन्त बहादुर सोमैले बताए । सुरुको वर्ष ३ लाख बजेटबाट कामको सुरुवात गरिएको पार्कस्थलमा दोस्रो वर्ष पालिकाको २० लाख र प्रदेस सरकारको २० लाख गरि ४० लाख बजेट खर्च गरिएको छ । यस चालु आ.व.मा प्रदेस तथा स्थानीय सरकारको २५⁄२५ लाख बजेटमा पार्कस्थलमा आवस्यक संरचानाहरु तयार गरिँदै छ ।
ऐतिहासिक महत्व समेत बोकेको पार्कस्थलमा करिब ४ सय क्षमताको योग तथा शान्ती हल, खानेपानी तथा सौचालय, वाटर फाउन्टेन, सेड हाउस, खुल्ला मंच तथा चौतारीहरु बन्दै छन् । “सिंडि निर्माण सम्पन्न भैसकेको छ ।” वडा अध्यक्ष सोमैले भने, “मोटरबाटो विस्तार तथा स्तरोन्नती, वालहरु बनाउने काम अघि बढेको छ ।” पालुको मन्दिर बनाउन लागिएको र बाघको आकृति संरचना बनाई सकिएको सोमैले जानकारी दिए ।
दैनिक रुपमा करिब ६० जनाले पार्कस्थलमा रोजगारी समेत पाएका छन् । ३ विघा क्षेत्रफलमा फैलिएको पार्कमा प्रवेशद्धार गेट र बाउण्ड्री गरिने योजना रहेको गाँउपालिका अध्यक्ष झग बहादुर विश्वकर्माले बताए । व्यवस्थित सुविधा सम्पन्न पार्क बनाउन योजनाबद्ध ढंगले पालिकाले आवस्यक कामहरु अघि बढाएको अध्यक्ष विश्वकर्मा बताउँछन् । “हामीले ऐतिहाँसिक महत्वलाई पुर्नजिवित गर्न खोजेका छौँ ।” विश्वकर्माले भने, “गाँउपालिकाकै आन्तरिक पर्यटन प्रर्वद्धनमा पार्कले महत्वपूर्ण भुमिका निभाउने छ ।” घुम्नको लागि शान्त तथा रमणीय वातावरण भएकाले पार्कस्थल निर्माण सम्पन्न भएपश्चात् आन्तरिक तथा वाह्रय पर्यटकहरुको आगमन हुने अध्यक्ष विश्वकर्माले विश्वास लिए । “पालिकाकै गौरवको योजना भित्र यो पार्कलाई लिएका छौँ ।” विश्वकर्माले भने ।

पार्कस्थलमा विद्युत विस्तार र प्रयाप्त पार्किङको समेत व्यवस्था गरिएको छ । योगा गर्न , वनभोज गर्न, फुर्सदको समय व्यतीत गर्न, पारिवारिक घुमघामको लागि पार्क कोशेढुङ्गा सावित हुने गाँउपालिकाले विश्वास लिएको छ ।
गाँउपालिकाको केन्द्र बड्डाँडा बजार देखि करिब १ किलोमिटरको दुरिमा रहेको पार्क ऐरावती जाने सडक नजिकै जोडिएको छ । साना सवारी साधन समेत सजिलै जान सक्ने सडक भएकाले रानीकुवा शान्ती पार्कमा पर्यटकहरुको बाक्लो आगमन हुने स्थानियहरुले विश्वास लिएका छन् ।
कमेन्ट गर्नुहोस !