
प्युठान,३ चैत ।
प्युठान नगरपालिका वडा नं ४ विजुवार भौकामा तीन करोड ५० लाख रुपिँया लगानीमा बजाज सप्लायर्स सञ्चालन भएको छ । यूवा व्यवसायी सुशील कर्मचार्यले न्यु विज्ञान सप्लायर्स मार्फत सेवा सञ्चालन गर्नुभएको हो । विगत तीन वर्ष अघि देखी कारोवार गर्दै आएको सप्लायर्सको सोमबार आधिकारिक रुपमा सञ्चालनमा आएको हो । सप्लायर्सको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै नगरप्रमुख कक्षपतिले यति ठूलो लगानीमा व्यवसाय सञ्चालन गरेकामा खुसी व्यक्त गर्दै सञ्चालकलाई सेवा बिस्तारमा ध्यान दिन सुझाव दिनुभयो । व्यवसायबाट नै मुलुक समृद्ध हुने हुने भएकाले व्यवसाय सञ्चालन गरेका उद्यमीलाई नगरपालिकाले पनि सहयोग गर्ने बताउनुभयो ।

नेपालकै अग्रस्थानमा रहेको हंसराज,हुलास चन्द्र एण्ड कम्पनी (गोल्छा) द्धारा सञ्चालनमा आएको न्यु विज्ञान सप्लायर्समा बजाज बाण्डका मोटरसाईकल र सम्पूर्ण पाटपूर्जाहरु उपलब्ध हुनुका साथै जुनसुकै कम्पनीका मोटरसाईकलहरु साटफेर हुने सञ्चालक कर्मचार्यले बताउनुभयो । सप्लायर्सको उद्घाटन समारोहमा गोल्छा कम्पनीका सञ्चालक अभिमन्यु गोल्छाले प्युठान जस्तो विकट जिल्लामा यति ठूलो लगानीमा जनतालाई सेवा दिने उदेश्यले सप्लायर्स सञ्चालन ल्याएको खुसी व्यक्त गर्नुभयो । साथै उहाँले यूवाहरु व्यवसायमा जोडिन सके सेवा संगै आर्थिक आम्दानी गर्न समेत सकिने बताउनुभयो । यस स्थानमा व्यवसाय सञ्चालन गर्दा कुनै समस्या आएमा कम्पनीले विशेष सहयोग गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।
४१ वर्षिय कर्मचार्यले जिल्लामै उपभोक्ताहरुको आवश्यकतालाई परिपूर्ति गर्नका लागि व्यवसाय सञ्चालनमा ल्याएको बताउनुभयो । उहाँले सञ्चालन गरेको सप्लायर्समा जिल्लाकै सात जनाले रोजगारी पाएका छन् । व्यवसाय सञ्चालनमा घरपरिवारका सदस्यबाट ठूलो सहयोग पाएको बताउनुभयो । तीन वर्षसम्मको अवधिमा २१ करोडको कारोवार गरिसकेकोले कम्पनीले आधिकारिक रुपमा आफुलाई विश्वास गरेकोमा थप उर्जा मिलेको छ , सञ्चालक कर्मचार्यले भन्नुभयो,–‘सप्लायर्सलाई व्यवस्थित रुपमा अगाडी बढाउने छु ।’
सप्लायर्सको उद्घाटनका क्रममा उद्योग वाणिज्य संघ प्युठानका महासचिव कृष्णभक्त गिरी, विभिन्न बैंकका प्रमुखहरु, व्यवसायिहरु, प्रहरी, पत्रकार लगाएतको उपस्थिती रहेको थियो । गोल्छा कम्पनीद्धारा हाल नेपालभर ९५ वटा बजाज कम्पनीका सोरुम रहेका छन् ।
कमेन्ट गर्नुहोस !