
राधिका भुसाल
प्यूठान । लामो समय देखि आर्थिक अभावका कारण उपचार नपाएकी कमला परियारको सहयोग मार्फत जुटेको रकमले उपचार सफल भएको छ । 
कमला बचाउ घरदैलो अभियान, विद्यालय तथा संघ संस्था, व्यापारी वैदेशीक रोजगारमा रहेका सहयोगी मनहरुले पठाएको रकमले उनको उपचार सफल भएको हो । स्थानिय समाजसेवी मिठु पुरीको नेतृत्व र प्यूठान नगरपालिका ८ का वडा अध्यक्ष लिपाप सिंह केसी, कार्यपालिका सदस्य पवित्रा जिसी, छिमेकी जगत महतराको पहलमा ८० हजार ३ सय ६१ रुपैया सहयोग रकम जुटेको थियो । भने, हालसम्म पीडित परियारको उपचारमा ७४ हजार ९ सय ७५ रुपैया खर्च भएको छ । बाकी ५ हजार ३ सय ८३ रुपैया पनि उनलाई हस्तान्तरण गरिएको छ ।
“उपचार नपाएकी कमलाको लागि आर्थिक सहयोग जुट्दै” “सहयोग माग्दै छिमेकी” शिर्षकमा हाम्रो एकता साप्ताहिक र हाम्रो एकता डटकममा समाचार प्रकाशन भएको थियो ।
प्यूठान नगरपालिका ८ खप्रेङखोला जुकेपानी निवासी ३६ वर्षे कमला आफ्नो शरिरको पुरै भाग सुन्निए पछि ओछ्यान मै थला परेको बताउछिन् । ‘दिनरात खटिएर मेरो उपचारका लागि रकम जुटाइदिनु हुने सम्पूर्णलाई धन्यवाद दिन चाहान्छु’– कमलाले भनिन–‘उठ्न बस्न पनि साहारा लिनु पथ्र्यो तर अहिले त सजिलै भित्र बाहिर गर्न सक्ने भएकी छु ।’ उपचार खर्च जुटाई आफुलाई बचाउनु भएका सहयोगी मनहरुप्रति आभारी रहेको बताउछिन् । सुरुमा मंसिर २० लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएको थियो । अस्पतालमा ११ दिन वेडभर्ना भएपछि स्वास्थ्यमा केही सुधार आएको बताइन् । ‘डाक्टरले भनेका छन् मृगौला र कलेजोमा समस्या देखिएको छ’– कमलाले भनिन्–‘एक महिनापछि फेरि चेकजाँच गर्न जानु छ ।’ 
उपचार नहुदैको तस्विर ः

उपचार भएपछिको तस्विर
सुरुको चरणमा ३१ हाजर ४ सय ७५ उपचार खर्च जुटाई लुम्बिनी अञ्चल अस्पताल बुटवलमा पाएको स्थानिय समाजसेवी मिठु पुरीले बताए । उपचार गर्ने रकम जुट्नासाथ वडा अध्यक्ष केसीको पहलमा जिल्ला स्वास्थ्य कार्यालयको सहयोगमा एम्बुलेन्स सेवा निशुल्क गराई पठाएको थिए ।
मजदुरी गर्न थाले आइते
कमलाको स्वास्थ्य स्थितिमा सुधार आएसंगै घर परिवारमा खुसीयाली छाउन थालेको छ । उनी आफै हिडडुल गर्न सक्ने भएपछि उनका श्रीमान आइते दमाइ मजदुरी गर्न घर बहिर निस्किन थालेको बताउछन् । ‘ हिजो आज पकाएको खाना झिकेर खाने र आफै भित्र बहिर गर्न थालेका छिन्’–खुसीले भक्कानिदै आइते भने–‘हामी जस्तो गरिवका लागि भगवान बन्नु भएको सहयोगी मनहरुलाई धन्यवाद छ ।’
स्वास्थ्य समस्याले थलिए पछि दुइ छोरा र तीन छोरीको आमा बनेकी पीडित कमला आफ्नो २ वर्षे छोराको साथमा माइती घरमा बस्दै आएकी थिइन ।
‘यो परिवारको अवस्था एकदमै दयनीय छ’– छिमेकी मिठु पुरीले भने–‘ज्याला मजदुरी गरेर विहान साझ हातमुख जोर्ने र परिवारको नांगो ढाक्ने गर्थे केही दिन त्यो बाटो पनि बन्द भयो ।’ कमला थलिएसंगै छोरा छोरीको विचल्ली भएको सुनाउदै समाजसेवी पुरीले कमलाको स्वास्थ्यमा आएको सुधारले आफु खुसी भएको बताए ।
वडा अध्यक्ष लिलाप सिंह केसी, कार्यपालिका सदस्य पवित्रा जिसी लगायत अन्य छिमेकीहरुले पटक पटक सहयोग गर्दै आएको पीडितका बुबा राम बहादुर परियारले बताए । आफ्नो छोरी बचाउनका लागि अहिले सम्म सहयोग गर्नेहरुलाई आभार व्यक्त गर्दै गरेका छन् ।
कमेन्ट गर्नुहोस !