
प्यार अलि खाँन
प्यूठान महोत्सवबाट हुने आम्दानीले उद्योग वाणिज्य सभाहलको निर्माण गरिने भएको छ । उपयुक्त स्थानको छनौट गरि सुविधा सम्पन्न वाणिज्य सभाहल बनाईने प्यूठान उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले बताए । “सबै प्यूठानी व्यवसायीहरुलाई पायक पर्ने गरि बृहत वाणिज्य सभाहल बनाउछौँ ।” कक्षपतिले भने, “महोत्सवले भम्रण वर्ष २०२० लाई सफल पार्न महत्वपूर्ण योगदान पु¥याउने छ ।” एक लाख दर्शकले महोत्सव अवलोकन गर्ने तथा ८ करोड बराबरको कारोवार लक्ष्य राखिएको अध्यक्ष कक्षपतिको भनाई छ ।
यही फागुन ८ गतेदेखि १८ गतेसम्म झिमरुक नदि किनार गणतान्त्रीक खेलमैदान विजुवारमा संचालन हुने स्वर्गद्धारी प्यूठान चौँथो महोत्सवले “उद्योग व्यापार र कलाको विकास गरौँ, संस्कृतिको संरक्षण गर्दै पर्यटन वर्ष २०२० सफल पारौँ” भन्ने मुल नारा बोकेको छ ।
कृषि, पर्यटन, ऊर्जा तथा औद्योगिक व्यापार मेला २०७६ मा स्थानीय उत्पादन, राष्ट्रिय तथा अन्तराष्ट्रिय कम्पनीका उत्पादनको प्रदर्शनी तथा बजारीकरण गरिने संघका महासचिव कृष्णभक्त गिरीले बताए । “प्रदेस नं. ५ का मुख्य पर्यटकिय स्थलहरुको प्रचार–प्रसार गर्नेछौँ ।” महासचिव गिरीले भने, “आन्तरिक पर्यटनलाई समेत बढवा दिन महोत्सव कोशेढुङ्गा सावित हुनेछ ।”
महोत्सवमा रमाईलो मेला, बाल उद्यान, स्थानीय प्रतिभाको प्रस्तुतीका साथै राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुती रहने आयोजकले बताएको छ ।
अध्यक्ष कक्षपतिको संयोजकत्वमा १५१ सदस्यीय मुल समारोह समिति गठन गरिएको छ । प्रतिनिधि सभा सदस्य, प्रदेस सभा सदस्य, संविधान सभा सदस्य, पूर्व प्रतिनिधि सभा सदस्यहरु, पूर्व जिल्ला विकास समिति सभापति, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष, सहितको सल्लाहकार समिति गठन गरिएको वरिष्ठ उपाध्यक्ष यज्ञ बहादुर केसी (प्रभात)ले जानकारी दिए ।
संघका पदाधिकारीहरु बुटवल तथा काठमाण्डौँका व्यवसायी, विभिन्न संघसंस्था तथा विभिन्न कम्पनिहरुलाई भेट्दै महोत्सवको प्रचार–प्रसारमा जुटेको संघका कार्यकारी निर्देशक प्रकाश खनालले बताए । “सहयोग, विज्ञापन र प्रायोजकको खोजीमा अध्यक्ष नेतृत्वको टोली जिल्ला बाहिर छ ।” खनालले भने, “महोत्सवको तयारी तिब्र पारिएको छ ।” महोत्सव संचालनका लागि विभिन्न उपसमितिहरु गठन गरिएको उनले बताए ।
कमेन्ट गर्नुहोस !