
प्युठान १४ माघ ।
लामो समयदेखी चर्चामा रहेको स्वर्गद्धारी बिमानस्थल निमार्ण हुनका लागि डिपीआर निर्माण गरिदै छ । स्वर्गद्धारी नगरपालिका वडा नंम्बर ८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल बनाउनका लागि माघ १३ र १४ गते उक्त स्थानको सर्बेको काम हुने नागरिक उड्यन मन्त्रालयका कन्सल्टेन्स उत्सव गौतमले जानकारी दिए । अत्याधुनिक प्रविधि ड्रोन मार्फत चाल्नेटार बिमानस्थलको सर्बे गरिएको गौतमले बताए । उनले भने,–‘ चार महिनाको अवधीमा डिपिआर तयार हुन्छ।’ उक्त स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरि नागरिक उड्यन मन्त्रालयमा पेश भएपछि डिपिआरका लागि सर्बेको काम भएको छ ।
जिल्लाको मुख्य धार्मिक स्थल स्वर्गद्धारीलाई केन्द्रविन्दु बनाई बिमानस्थल बनाउन लागिएको स्वर्गद्धारी नगरपालिकाका नगरप्रमुख नेत्रबहादुर रोकायले जानकारी दिए । जिल्ला संगै छिमेकी जिल्ला रोल्पाका जनतालाई हवाई यातायातको पहुँच पुग्ने उहाँले बताउनुभयो । चाल्नेटार विमानस्थलले स्वर्गद्वारीको पर्यटन प्रर्वद्धनमा ठुलो मद्दत गर्ने छ । बजेट कति हो भनेर सरकारले तोकेको छैने, नगरप्रमुख रोकाले भन्नुभयो,–‘बजेट भाषणमा सम्बोधन भएपछि डिपिआरका लागि मन्त्रालयबाट आउनुभएको छ अब विमानस्थलको काम अगाडी बढ्ने छ । ’बिमानस्थल निर्माणले स्वर्गद्वारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु सहज रुपमा आउने उहाँले बताउनुभयो । यसभन्दा अघि नेपाल नागरिक उडड्यन प्राधिकरणको तर्फबाट परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रा.लि. मार्फत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरि सार्वजनिक सुनुवाई गरिसकेको उहाँले बताउनुभयो । बिमानस्थलको चार वर्ष अघि फिल्ड सर्भे भएको थियो ।
विमानस्थल निर्माणका लागि ६० दशमलव ७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ । आयोजना निर्माण गर्दा ५५ दशमलव १८ हेक्टर राष्ट्रिय वन अन्र्तगतको हरियाली सामुदायिक वनको अधिग्रहण हुने देखिएको छ । आयोजनाको प्रस्तावित लागत ७७ करोड रुपिँया रहेको छ । आयोजनाले जिल्लालाई काठमाण्डौ, भैरहवा, धनगढी, नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगरका साथै अन्य पहाडी जिल्लाहरुमा हवाई सम्पर्कको सुविधा उपलब्ध गराउनेछ ।
चाल्नेटारमा विमानस्थल निर्माणका लागि यस क्षेत्रका स्थानियहरु एकजुट भएका छन् । विमानस्थल निर्माणमा यस स्थानका १८ घर पूर्ण रुपमा विस्थापित हुने स्थानिय नन्दराम जिसीले बताए । केहि दिन अगाडी हामीहरु सहमतीका साथ उत्साहित भएर जग्गा दिने निर्णय गरेको उनले बताए । विस्थापित हुने घरपरिवारलाई पुर्नस्थापना गरेर निर्माण काम सुरु हुने छलफल भएको उनले बताए ।
कमेन्ट गर्नुहोस !