
शशिधर भण्डारी(समृद्ध)
प्यूठान जिल्लाको सदरमुकाम रहेको खलंगा आफैमा रमणीय तथा सौन्दर्यताले भरीपूर्ण स्थान हो । जिल्लाको प्रशासनिक केन्द्र नजिककैको ठाउँ भएर पनि जिल्ला सदरमुकामका नजिकका गन्तब्यहरु जुन रुपमा विकसित हुनु पर्ने हो त्यो रुपमामा नभएपनि आन्तरिक पर्यटनको आकर्षणमा कमी छैन् ।
दशै, तिहार, माघे संक्रान्ति, तिज, गाठे मंगल, रोपाइ जात्रा, गाइजात्रा, साउने सक्रान्ति, ल्होछार, देवाली लगायतका खस ,जनजाती, गुरुङ तथा नेवारजातिको मौलिक संस्कृतिले यस क्षेत्रको विशिष्ट साँस्कृतिक पहिचान बोकेको छ । यहाँ रहेको मल्लरानी गाउँपालिका, झाक्रिस्थान, खलंगा शिबालय, भिमेस्थान , पर्चाकोट, भैरव डाँडा, बहादेवि मन्दिर, पालुकाथान, सरङ्गकोट आदिवासी जनजाति सांस्कृतिक संग्रहालय, खैराकोट मल्लरानी लगायतका हरियाली पहाड आदि प्राकृतिक तथा सांस्कृतिक स्थलहरू पर्यावरणीय, पहाडी, साहसिक, ग्रामीण तथा सांस्कृतिक पर्यटनको दृष्टिले महत्वपूर्ण गन्तव्य स्थलहरु रहेका छन् । ऐतिहासिक गन्तब्यको रुपमा रहेको खलंगा, मल्लरानी र रस्पुरकोटमा नेपालको राजनितिक इतिहासका अध्ययनहरु गर्न लायक छन् । नेपालको इतिहासमा खलंगा, विजुवारको पुण्यखोला लगायतका कोटहरुमा सुरक्षाको दृष्टिले सशक्त भएको पाइन्छ । कारण थियो प्यूठानमा हात हतियारको निर्माण तथा आविष्कार हुनु । प्यूठानको खलंगा पनि सैनिक गण मार्फत नेपाललाई हातहतियार प्रदान गर्ने इतिहास पाइन्छ ।
१.खलंगा
नेपाल एकीकरण संगै पाल्पा राज्यको नियन्त्रणमा प्यूठान रहेको थियो भने अहिलेको खलंगा सेनाको नियन्त्रणमा थियो । जंग बहादुर राणाका बाजे रामकृष्ण कुंवर सैनिक मेगजिन स्थापना गर्न वि.स.१८२० को दशकमा आइ प्यूठानमै मृत्यु भएको पछि रणजित कुवरको आदेशमा बुबा सम्झनामा रामेश्वर मन्दिर स्थापना गरेको इतिहास छ ।
त्यस्तै खलगांको हाल मालपोत कार्यालय अगाडि रहेको पौराणिक कला तथा बुट्टाले १८८२ मा बनाइएकोे भिमसेनको मन्दिर व्यायिक शक्ति र सैनिक शक्तिको स्थापना गरिएको अडकल गरिएको छ । हाल उद्योग बाणिज्य संघको भवनमा जाने ठाउँमा रहेको गणेश मन्दिर पनि रणजित कुंवरले स्थापना गरे । सैनिक ब्यारेकमा दुर्गा मन्दिरको स्थापना भयो । सम्बत् १८८२ मा कृष्ण नेवारलाई मन्दिरको पुजाआजाको जिम्मेवारी दिएपछि त्यति वेला देखि खलंगामा नेवार जातिको बस्ती शूरु भएको तथ्य पाएकोे छ ।
खलंगा नेपाल एकिकरण पश्चात मात्रै होइन । भित्रिकोट राज्य हुँदाको बखत पनि टुडिखेलमा परेड खेल्ने व्यवस्था थियो । कोइला, अभ्रख र गन्धकको मिश्रणबाट बारुद निर्माण गरिन्थ्यो । त्यो बारुद तथा हातहतियार पिउठाना राज्यको बादिकोट, आरनेटा र खलंगामा निर्माण गरिन्थ्यो । वारुद, बन्दुक र तोप आदि हातहतियार बनाउने हुुँदा पिउठाना राज्य शक्तिशाली थियो र दिनको १ नाल बन्दुक तयारी गरिन्थ्यो । अंग्रेज संगको नेपालको युद्धमा समेत प्यूठानको फलाम प्रयोग गरि संगिन तोप बनाउने गरिन्थ्यो ।
खलंगा ऐतिहासिक सामरिक महत्वको स्थान मात्रै होइन यस क्षेत्रको ऐतिहासिक अध्ययन संगै पहाडी क्षेत्रमा भएका कारण रमणीय गन्तब्यको सम्भावना बोकेको ठाउँ पनि हो । बाघ मुखे चुलेसी, हस्तकलाका सामाग्री , नेवारी, गुरुड., मगर, ब्राम्हण लगायतका मौलिक संस्कृतिहरु लगायतका विविध पक्षहरुबाट सुसज्जित खलंगाको वजार क्षेत्रलाई घुम्न लायक छ ।
२. मल्लरानी

पर्यावरणीय आनन्द प्राप्त गर्ने मल्लरानी सुन्दर पर्यटकीय गन्तब्य हो । प्यूठानको सदरमुकाम खलंगा देखि २ कि.मि. नजिक रहेको यो ठाउँ जंगल, सुन्दर हिमश्रृखंलाको दृश्यावलोकन लगायतका अनगिन्ती बिशेषताका कारण प्यूठानको पर्यटकीय गन्तब्यको रुपमा परिचित छ ।
समुन्द्री सतहदेखि १६५५ मिटरको उचाईमा रहेको मल्लरानी पुग्न खलगांबाट करिव पौने घण्टा पैदल हिडेर पुग्न सकिन्छ । गाडी चढेर पनि खलंगाबाट भट्टचौर, लाममेला हुँदै र कसेरी टोप्रे हुँदै मल्लरानी पुगिन्छ । मल्लरानी पुग्नको लागि सिडि निमार्ण, चिल्डेन पार्क, भ्यूटावर, मन्दिर निमार्ण, सड्क कालोपत्रे, ट्राकिङ रुट , सड्कको बिचबिचमा सोलार जडान, पिकनिक स्पोर्टहरु निर्माण गर्न सके पर्यटन प्रवद्र्धनमा सहयोग पुग्दछ ।
मल्लरानीमा पहिले रानी बास बस्थीन भन्ने किबदन्ती छ । अहिले पनि मल्लरानीमा रानीको पाईला देख्न सकिन्छ । रानी नुहाउनका लागी मल्लरानीवाट सुरुङ्गमार्ग हुदै झिमरुक खोला झर्ने र राजा भित्रिकोटवाट झिमरुक खोला झर्ने गर्दथे र उनीहरुबिच झिमरुक खोलामै भेट हुने गर्दथ्यो । मल्लरानीबाट धौलागिरि हिमाल, माछापुच्छे हिमाल लगाएतका थुप्रै हिमालहरु नियाल्न सकिन्छ । यहाँबाट बिजुली कोट संगै सदरमुकाम खलङ्गा, बाग्दुला , विजुवार, जुम्री, माझकोट, खैरा,कसेरी, सानीलेख, मुनडाडा लगाएत दर्जनौ स्थानहरु र छिमेकी जिल्ला अघाखाँचीका केहि स्थान समेत अवलोकन गर्न सकिन्छ । नयाँ वर्ष, होलि पूर्णीमा, लालीगुरास फुल्ने समय र बिदाको दिनमा आन्तरिक पर्यटकहरु बढी घुम्न आउने गर्दछन् । आन्तरिक पर्यटन प्रबद्धन गर्नभन्दै केहिसमय पहिले मल्लरानीवाट प्याराग्लाईडिगंको सफल परिश्रण गरिएको भएपनि त्यसले निरन्तरता पाउन सकेन् भने प्याराग्लाईडगं सञ्चालन गर्न सके पनि पर्यटन प्रवद्र्धनमा थप टेवा पूग्ने विश्वास स्थानीयहरुको छ ।
३. झाक्रिस्थान(कात्रे खोला)
ग्रामीण समाज धार्मिक आस्थामा समर्पित छ । कुल, सिम, मष्ट, बराह, देवता, झाक्रि, भुत प्रेतमा विश्वास गर्दछ । यहि कारण पनि झाक्रि महाराजसंग हिन्दु समुदाय धेरै डराउने गर्दछन् ताकि झाक्रि नरिसाउन भनि । झाक्रि देवता ज्यादैै रिसाह हुने भएकाले प्रसन्न बनाउन पनि सजिलो छिटो सकिन्छ भन्ने मान्यता छ ।
प्यूठानको खरा अर्खा क्षेत्रमा त लाटा नाँच नचाउने नै चलन छ भने मल्लरानी गाउँपालिका ४ कात्रेखोलामा रहेको झाक्रि पनि महत्वपूर्ण धार्मिक तिर्थ स्थल हो । जिल्ला सदरमुकाम देखि ३ किलोमिटर दुरीमा रहेको भैरवडाँडा र बुढीचारको काखमा रहेको कात्रेखोलामा झाक्रि देवस्थल रहेको छ । प्राकृतिक वनोट, झाक्रि देवता प्रतिको आस्थाका कारण अत्यन्त लोकप्रिय स्थल बनेको यो ठाउँ झाक्रि देवतालाई फलेदाको रुख मुनी राखिएको छ । रुखको फेदमा श्रद्धालुहरुबाट चढाइएका पितलले वनाएको झाक्रिको मुकुट, वरिपरि त्रिसुल, घण्ट झुण््याइएको छ । बडा दशै, चैते दशै र विदाको दिन समस्याबाट मुक्ती पाउन वाा कवोल र राम्रो फल प्राप्तिका लागि झाक्रिस्थानमा पुजा गर्न जानेहरुको भिड लाग्दछ । झाक्रिलाई खुल्ला आकास मन पर्ने भन्दै मन्दिर नबनाई चौपारी बनाएर व्यवस्थित गरिएको छ । रजवाराको झाक्रिढुगां र झाक्रिस्थान मंगलवार र शनिवार वढी घुइचो हुन्छ । यिनै बारलाई बढी पुजा गर्ने राम्रो बारको रुपमा लिइन्छ । हाँस, कुखुरा, बोका आदि झाक्रिलाई वली दिने प्रचलन छ । साथै अन्य रोटहरुको पनि भोग दिने गरिन्छ । गहुँ वा चामलको पिठोको एउटै रोटी(रोट) चलाउने प्रचलन छ । यसरी पुजा गरिने झाक्रिस्थानमा झाक्रिलाई चिच्याएर बर माग्ने चलन रहेको छ । धार्मिक हिसावमा महत्वपूर्ण मानिने झाक्रिस्थान प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । प्रकृतिको रमणीय वातावरण, हरियाली जंगल, एकान्त लगायतका बिशेषताहरुले यसलाई अझै सुन्दर बनाएको छ ।
४. पालुकास्थान
मल्लरानी गाउपालिका २ चुँजाठाटी स्थित धार्मिक आस्थाको केन्द्र पालुकास्थान हो । पौडेल थरहरुको कहानीसंग जोडिएको यस पालुकास्थान भारतको उत्तराखण्डको हरिद्धार पौडी क्षेत्रबाट नेपालका विभिन्न ठाउँहुँदै चुँजामा आउँदै गर्दा बत्तिबालेर आएको र बत्ति निभेपछि सोही ठाउँमा पालु देवताको देवस्थल तयार गरी पुजाआजा शुरु गरिएको पाइन्छ । प्यूठान, अर्घाँखाचीमा, कपिलवस्तुमा बसोबास गर्दै आएका पौडेलहरुको उद्गमको रुपमा चिनिने पालुकास्थान क्षेत्रमामा वि.स.१९४० मा चुँजाठाटीको मुडखोलामा पालुको मूर्ति फेला परेको थियो । मंसिर शुक्ल पूर्णिमामा पुजा गर्ने गरिन्छ । हरेक २ बर्षमा बर्षा हो, पशु चौपाया, खेतिपातीबाट हानिनोक्सानी, समस्या आइ नपरोस भन्ने कामना सहित पुुजाँपाठ गर्ने चलन रहेको थियो । अहिले स्थानीय पुजारीको निधनपछि पुजा गर्न छाडिएको स्थानीयहरुको भनाई छ ।
५.शिवालय मन्दिर(रामेश्वर मन्दिर)

खलगांमा रहेको सिकुवा डाँडा अवस्थित जय मल्ल राजाले पाटी पौवा वनाई गुठी राखेका थिए । १५ औं सताप्दी तिर अक्षय तृतियाको दिनमा भोजभतेर र नित्य पुजाको निम्ति ९०० मुरी क्षेत्रफलको गुठी राखि उनले पौवा संरक्षणमा ल्याए । पछि जंग बहादुर राणाका बाजे रामकृष्ण कुंवर शैनिक मेगजिन स्थापना गर्न वि.स.१८२० को दशकमा आइ प्यूठानमै मृत्यु भएको पछि रणजित सिंहको आदेशमा बुबा सम्झनामा रामेश्वर मन्दिर स्थापना गरेको इतिहास छ । भक्तहरुले विभिन्न वस्तुहरु चढाउने क्रममा बि.सं. १९२४ मा रणजित सिंहको आज्ञा अनुसार कप्तान धोलक सिं बस्नेतले घण्टा चडाएका थिए ।
६. भिमसेन मन्दिर
त्यस्तै खलगांको हाल मालपोत कार्यालय अगाडि रहेको पौराणिक कला तथा बुट्टाले १८८२ मा बनाइएकोे भिमसेनको मन्दिर व्यायिक शक्ति र सैनिक शक्तिको स्थापना गरिएको अडकल गरिएको छ । कलात्मक एवं आकर्षक मन्दिरको रुपमा रहेको भिमसेन मन्दिरमा भिमसेनलाई उभिएको आकृतिमा तरवार र ढाल लिएको देखाइएको छ । तान्त्रिक प्रभावको प्रतिनिधित्व गराउन मन्दिरको माथिल्लो पट्टी अर्ध चन्द्रकारको तोरणले फुल बुट्टा, पशुपंछी तथा भयावह आकृति अंकित गरिएको छ । धोवाघाट, बाँझवारी काफलवोटमा ४५ मुरी खेत गुठी राखि सार्वसाधारणबाट संरक्षण तथा पुजाआजा हुँदै आएको छ ।
७. गणेश मन्दिर
हाल उद्योग बाणिज्य संघको भवनमा जाने ठाउँमा रहेको गणेश मन्दिर पनि रणजित कुंवरले स्थापना गरे । बजार क्षेत्रको भित्रि भागमा अवस्थित गणेश मन्दिर तोरणमा धातुको जलप, कलात्मक एवं वुट्टा सहित सजाइए कारण पनि निकै आकर्षण थपेको छ ।
८. नेवारी संस्कृति झल्किने ढुंगेधारा
मल्लरानी गाउँपालिकाको केन्द्र तथा सदरमुकाम खलंगामा रहेको नेवारी संस्कृति र ढुङगेधारा पनि सांस्कृतिक पर्यटनका गतिला आयामहरु हुन् । ३ सय बर्ष पुरानो नेवार बस्ती रहेको यस ठाउँमा ४ वटा ढुंगेधाराहरु रहेका छन् ।
९. रस्पुरकोट (सरायँ नाच)

मल्लरानी गाउँपालिका ३ रस्पुरकोट चौरपानीमा लाग्ने सरायँ मेला पनि जिल्लामा चर्चित सरायँ नाच हो । विजया दशमीको पञ्चमीका दिन भव्य रुपमा सरायँ लाग्ने गर्दछ । २४ से र २२ से राज्य हुँदाका बखत देखिनै भुरे टाकुरे राजाहरुले राज्य सञ्चालन गर्ने क्रममा भएका विजय उत्सवका घटनालाई उत्सवको रुपमा सराय खेलेर मनाउने प्रचलन बस्दै आयो । कोट घरमा वा मठमन्दिरमा चढाइएका कुखुरी, खुडा, भाला लगायतका हातहतियार सहित स्थानीयहरु बाजागाजा सहित भव्यरुपमा सरायँ नाच्ने प्रचलन रहेको छ ।
१०. आदिवासी जनजाति सांस्कृतिक संग्रहालय
मल्लरानी गाउँपालिकाको खलंगामा आदिवासी जनजाति संग्रहालय सांस्कृतिक निर्माण गरिएको छ । नेपाल आदिवादी जनजाति महासंघ जिल्ला समन्वय परिषद प्यूठानको पहलमा निर्माण भएको सामुदायिक भवनमा २०७३ सालदेखि संग्रहालयको रुपमा राखिएको छ । प्यूठान जिल्लामा रहेका आदिवासी जनजातिहरुको भेषभुषा चालचलन, रितिरिवाज, संस्कारसंस्कृति, जिवनशैली झल्कीने समाग्रीहरु संग्रहालयमा राखिएको छ । चाहेको वेला संग्रहालयको अध्ययन अवलोकनको व्यवस्थापन पनि मिलाइएको छ ।
कमेन्ट गर्नुहोस !