
सागर रिजाल
प्युठान,१६ पुस ।
दिगो तथा मर्यादित आर्थिक सामाजिक सशक्तिकरण कार्यक्रमको बार्षिक प्रगति समीक्षा तथा सामाजिक लेखाजोखा कार्यक्रम ऐरावती गाउँपालिकाको कार्यालय बरौलामा सम्पन्न भएको छ । कालिका विकास केन्द्र नेपालको आयोजना तथा स्टोम फाउण्डेसनको सहयोगमा कार्यक्रम भएको हो । केन्द्रका अध्यक्ष यादव भण्डारीको अध्यक्षता, गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा पालिकाका जनप्रतिनीधि, केन्द्रका पदाधिकारी,शिक्षक, अभिभावक, किशोरीहरु लगाएतको उपस्थिती रहेको थियो ।
कालिका विकास केन्द्रका महासचिव सनत श्रेष्ठको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा केन्द्रका कार्यक्रम संयोजक सरोज श्रेष्ठले एक वर्षभित्र दिगो तथा मर्यादित आर्थिक सामाजिक सशक्तिकरण कार्यक्रम मार्फत भएका कामहरुको बार्षिक प्रगति प्रतिवेदन पेश गर्नुभएको थियो । यस कार्यक्रम ऐरावती गाउँपालिकाका ६ वटै वडामा लक्षित छ । नागरिक समाजलाई सशक्तिकरण गर्नका लागि पालिका स्तरमा हुने योजनाको विषयमा समन्वय गर्ने, अंपागता भएका व्यक्तिहरुका लागि नेपाल सरकारले उपलब्ध गराएका सेवा सुविधाका बारेमा अभिभावकलाई जानकारी गराउने, पालिकाका ६ वटै वडामा भएका कामको पालिकासंग समन्वय गरि सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको कार्यक्रम संयोजक श्रेष्ठले बताए । त्यस्तै पालिका क्षेत्रका ६ वटा विद्यालयमा विद्यालय मर्मत, छात्रामैत्री शौचालय मर्मत, शौचालय मर्मतको काम समेत गरिएको छ ।
गाउँपालिकाको गुणस्तरीय शिक्षा निर्माणका लागि शिक्षा योजना निर्माण ,जीविकोपार्जन कार्यक्रम मार्फत ४० समुहलाई ४० हजारका दरले आयआर्जनका कामहरु अगाडी बढेको संयोजक श्रेष्ठले जानकारी दिनुभयो । संवाद समितिको अगुवाई र नेतृत्वमा किशोरीका लागि ६ दिन संवाद कार्यक्रम ,अभिभावक कक्षा र किशोरीको भाईबहिनीलाई समेत संवाद कक्षा सञ्चालन भएको छ । कार्यक्रम मार्फत बालबालिकाको आनिवानीमा परिवर्तन, किशोरी संवाद र संवाद सहयोग समितीको अगुवाईमा ९ बालविवाह रोकिएका छन् त्यस्तै चार जना किशोरीहरु संवाद कक्षामा आएपछि पुन भर्ना भएका छन्, एक जना किशोरीको गाउँपालिका अध्यक्ष नबीलविक्रम शाहद्धारा अभिभावकत्व ग्रहण गरिएको छ । साथै आनिवानीमा परिवर्तन, स्वास्थ्यमा सुधार , पालिका भित्रका ६ वटा सामाजिक सवालहरुमा संवाद कार्यक्रम हरु समेत भएको कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिनुभयो ।
कार्यक्रममा गाउँपालिका उपाध्यक्ष एंव कार्यक्रमका प्रमुख अतिथि बस्नेतले कालिका विकास केन्द्रको सहयोगबाट पालिका क्षेत्र भित्र भएका कामहरु पालिकाको हितका लागि भएको बताउनुभयो । यस क्षेत्रका ६ वटै वडामा भएका कामको अनुगमन गरि अझ प्रभावकारी रुपमा अगाडी वढाउने उहाँको भनाई छ । यस कार्यक्रम मार्फत पालिकाले शिक्षा योजना बनाउन लागेकोले यसको कार्यान्वयनमा ध्यान पुर्याउनुपर्ने उपाध्यक्ष बस्नेतले बताउनुभयो । कार्यक्रममा वडा अध्यक्षहरु, कालिका विकास केन्द्रका कार्यकारी निर्देशक, शिक्षक, अभिभावक, किशोरीहरुले पनि मन्तव्य राख्नुभएको थियो ।
कमेन्ट गर्नुहोस !