शनिबार, असार ६, २०८३ | Saturday 20th June 2026

तरकारी बारीमै रात विताउछन् ५४ वर्षे पुनाराम


राधिका भुसाल
प्यूठान । वरिपरि लटरम्म फलेको टमाटर । हुर्कीदै गरेको बन्दा । एका छेउतिर रामझाम परेको फुल खेल्दै गरेको केराउ । तरकारी बारीको वीचमा रहेको टनेल । टनेल भित्र जमिन देखि केही माथि उठाएर खाटको जस्तो बनावटी । त्यसमाथि ओछ्यान । नजिकै एकबृद्धाले तरकारीको स्याहार गर्दै गरेको दृष्य । यो कुनै कथा होइन ।
प्यूठान नगरपलिका ५ जुम्रीकाँढा पुर्णगाउँका एक मेहनेती कृषक पुनाराम पुन आफुले मेहनत गरेको तरकारी सुरक्षित राख्न तरकारी बारीमै रात विताउने गर्दछन् । ‘काम गर्ने कालु मकै खाने भालु जस्तै भएको छ ।’ कृषक पुनारामले भने –‘मैले मेहनत गरी फलाएको तरकारी चोरी हुन थालेपछि तरकारी बारीमै रात विताउने गर्छु ।’ दिउसोको समयमा आफु बारीमै हुने हुंदा केही डर नभएको बताउने उनले रातको समयमा तरकारी चोरी हुन थालेको बताउछन् । गत वर्षको घटनालाई स्मरण गर्दै उनले भने–‘बोटबाटै एकमुष्ठ तरकारी खरिद गर्न ग्राहकले बैना बट्टा गरेकै रात सबै तरकारी झिम्रिक्कै भएको थियो ।’ त्यसपछि तरकारी तयार भएको समयमा बारी सुत्ने गरेको बताए ।
पाँच हजार लगानीको सुरुवाती
पुनारामले आज भन्दा करिब ११ वर्ष अगाडि पाँच हजार रुपैया बराबरको आलुको विउ मकैसंग सटाएर व्यवसायी रुपमा तरकारी खेती गरेका थिए । सुरुको सिजनमा दुइ क्वीन्टल आलुको विउ रोपेको र ३० कुवीन्टल उत्पादन गर्न सफल भएको सुनाउदै त्यसपछि तरकारी खेतीमा नसा बसेको समेत सुनाउछन् । ‘तरकारीखेतीका लागि हाम्रो जमिन उर्वर छ, ४ वटा आलुको दानाले पाथी भरिएको थियो’ पुनारामले भने–‘त्यसबेला यातायातको सुविधा थिएन डोकोमै बोकेर तरकारी बिक्री गर्न बजार पुग्ने गर्थे ।’
एक सिजनमा ८० हजार आम्दानी
मौसमी तथा वेमौसमी तरकारी खेती गर्दै आएकका पुनले राम्रो उत्पादन भएको बेला एक सिजनमै ८० हजार आम्दानी गरेको बताउछन् । करिब ६ रोपनी जग्गामा पुनारामले टमाटर, बन्दा, काउली, आलु, सिमी, केराउ, खुसार्नी, सिम्लामिर्च लगायतका तरकारीहरु उत्पादन गर्दै आएका छन् । तरकारी खेतीमा ७७ वर्षिय आमा ज्ञानी पुनले हौसला, लगाव र मेहनत आफ्नो भन्दा बढि भएको सुनाए । श्रीमति गिमाको पनि उत्तिकै सहयोगले आफु सफल भएको उनको ठम्याइछ । मकै, जौ, गहुँ खेतीबाट भन्दा छोटो समयमै तरकारी खेतीबाट मनग्य आम्दानी गर्न सकिने उनको अनुभव छ ।
३ रोपनी जमिनमा प्याज लगाउने तयारी
पुनारामले तरकारी खेती गरेको आधा भाग अर्थात ३ रोपनी जमिनमा प्याज लगाउने तयारी गरेका छन् । अन्य तरकारी भन्दा प्याजलाई स्याहार गर्न केही सहज हुने र बजारभाउ पनि राम्रो पाउने भएकाले आधा जमिनमा प्याज रोप्ने तयारी गरेको उनले बताए । ‘प्याजका बेर्ना फटक्न समय लागेको छ ।’ उनले भने–‘ बेर्ना तयार हुनासाथ आधुनिक तरिकाको ड्याङ बनाएर प्याज रोप्ने हुंँ ।’ २ लाख आन्दानी गर्ने लक्ष्यका साथ प्याजलाई मेहनत गर्ने उनले बताए ।
करिब डेढ रोपनी जमिनमा लगाएको केराउबाट १५ कुवीन्टल उत्पादन गर्ने लक्ष्यका लिएका छन् । सिचाई अभाव हुंदा गाग्रीबाट पानी बोकर समेत तरकारी उत्पादन गर्ने गरेको कुरा स्मरण गर्दै अहिले सिचाईको लागि सहज भएको कुरा सुनाए ।
बजारीकरणलाई समस्या छैन
उत्पादन गरेको तरकारी विक्री गर्न कुनै समस्या नभएको पुनारामले बताए । प्रायः आफुले बोटै थोकमा बिक्री गर्ने गरेको बताउछन् । ‘राम्रो उत्दपादन गर्नु पु¥यो ग्राहकहरु तरकारी खोज्दै घरैमा आउछन् । उनले भने–‘अहिले त गाउँ गाउँमा यातायातको सुविधा छ, दिनभरको समय खर्चेर डोकोमा बोकेर हिड्न त पर्दैन ।’
जागिरे छोरोलाई श्रीमती पाल्न गाह्रो
२ छोरी ३ छोराका अभिभावक बनेका पुनारामको माइलो छोरा नेपाल प्रहरीमा कार्यरत छन् । उनले छोरालाई चुनौती दिदै भन्छन् –‘सरकारी जागिरे भनेर के गर्नु छोरा पढाउने, कोठा भाडा तिर्न र श्रीमती पाल्न खर्च पुग्दैन उस्लाई ।’ मुस्कुराउदै उनले भने–‘मैले यहाँ परिवार नै सजिलै पालेको छु ।’ रोजगारीका लागि भारतका गल्ली गल्लीको र विदेशको समेत अनुभव बटुलेका पुनारामले विदेशमा गरिने दुख र बगाइने पसिना आफ्नै माटोमा बगाउन सके कोही नेपाली भोकभोक र नांगै बस्न नपर्ने बताए । उमेर हुंदा सम्म बैदेशिक रोजगार भन्दै हामफल्ने परिपाटीले बुढेसकालमा पछुताउनु परेको समेत सुनाए । ४ वर्ष मलेसिया रहंदा चाइनाका कृषकहरुसंग काम गरेको अनुभवले ढिलै भएपनि त्यो सिकाइ आफ्नै माटोमा प्रयोग गरि परिवारसंगै दुख सुख साट्न पाएकोमा खुसी छन् ।
नगरपालिकाको सहयोग
खानेपानीको समेत सहज आपूर्ति नभएको पुर्णगाउँमा प्यूठान नगरपालिकाले सिचाईको लागि कुलो पोखरी र ट्यांकी निर्माण गरेपछि स्थानियहरुले तरकारी खेती तर्फ जोड लिन थालेका छन् । गत आर्थिक वर्ष ५ लाख ६० हजार बजेटमा सिचाई कुलो बनेसंगै ९ घरपरिवारले व्यवसायिक रुपमा तरकारी खेती सुरुवात गरेको वडा अध्यक्ष लछुमन भण्डारीले बताए । ‘ यहाँ तरकारी खेती राम्रो उत्पादन हुन्छ’ वडा अध्यक्ष भण्डारीले भने–‘ कृषकलाई आवश्यक पर्ने विउपल, आधुनिक कृषी औजार, तालिम, बजारीकरण र नमुना फर्महरुको भिजिट पनि गराउनु पर्छ ।’ उनले पुनारामलाई आवश्यक पर्ने प्याजको विउ वडा कार्यालयबाटै उपलब्ध गराउने बचन समेत दिए । कृषकलाई कृषिमा सहज वातावरण बनाउनको लागि आफुले सक्ने सहयोग गर्दै आएको अध्यक्षले भण्डारीको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top