
किसानहरुको वर्षौ अघिदेखिको सिंचाई गर्ने सपना अधुरै
-प्यार अलि खाँन
बाङ्गेसाल लिफ्ट सिंचाई योजनाको काम लम्बिएको छ । १५ महिनामा सम्पन्न हुनुपर्ने सिंचाई योजना ४ वर्ष भन्दा बढी समय बितिसक्दा समेत सम्पन्न नहुँदा यहाँका किसानहरुको वर्षौ अघि देखिको सिंचाई गर्ने सपना अधुरै भएको छ ।
मध्यपश्चिमाञ्चल सिचाई विकास डिभिजन कार्यालय प्यूठानको १ करोड ५९ लाख ३० हजार ८ सय ४० रुपैयाँ लागत स्टिमेट रहेको योजनामा स्थानीय उपभोक्ता समितिले करिब ५ लाख रुपैयाँ बराबरको जनश्रमदान समेत गरिसकेका छन् । सिचाई डिभिजनमा ४ वटा हाकीम फेरिदाँ समेत योजना पूर्णरुपले संचालनमा आउन नसक्दा यहाँका किसानहरुमा चिन्ता एंव निराशा छाएको छ ।
राप्ती नदीको पानी लिफ्ट गरि सरुमारानीको साविक बाङ्गेसाल गाविसको वडा नं.४ र ५ का खेतियोग्य जमिनमा सिंचाई गर्ने योजना रहेको बांगेसाल लिफ्ट सिंचाई जल उपभोक्ता समितिका अध्यक्ष जिब्राईल मिँयाले बताए । “डेढ बर्षमा योजनाको काम सम्पन्न गरि सिंचाई गर्ने भनेको हो ।” उपभोक्ता समितिका अध्यक्ष मियाँले भने, “साढे ४ वर्ष बितिसक्दा समेत योजना सम्पन्न हुन सकेन् ।” ५ वटा ओभरहेड पानी टंकी घर बनिसकेको र खोलामा ४ वटा (सम्पवायल) पानी कुवा निर्माण सम्पन्न भईसकेको अध्यक्ष मिँया बताउँछन् । “राप्ती नदी किनारमा थप एउटा सम्पवायल बनाउन बाँकी छ ।” मियाँले भने, “ठेकेदारको लापरबाही र सिंचाई कार्यालयको अव्यवस्थाका कारण सिंचाई योजना अलपत्र परेको हो ।” सिंचित् क्षेत्रको बिस्तार गरि कृषि उत्पादनमा बृद्धि ल्याउन सिंचाई योजनाको प्रभावकारी संचालनमा सम्वन्धित् सरोकारवाला कार्यालय बढी जिम्मेवार हुनुपर्नेमा स्थानीय उपभोक्ता एंव जनप्रतिनिधि जितमान मिँयाले जोड दिए । “गाँउपाललिकाले समेत योजना के–कसरी कार्यान्वयनमा आउन सकेन? चासो दिनुपर्दछ ।” वडा सदस्य मिँयाले भने, “करौडौँको योजनामा आर्थिक अपारदर्शिता समेत भएको आशंका छ ।” योजनाको दिगो भविष्य, प्राविधिक पाटो र सिंचाईको प्रयोगबारे सिंचाई कार्यालयले किसानहरुलाई प्रशिक्षित समेत नगरेकोमा मिँयाले गुनासो गरे ।
उता मध्यपश्चिमान्चल सिचाई विकास डिभिजन कार्यालय प्यूठानका प्रमुख दामोदर सापकोटाले योजनाका वाँकी कामहरु छिट्टै सम्पन्न गरिने दाबी गरेका छन् । “यस वर्ष २५ लाख थप बजेट प्राप्त भएको छ ।” सिंचाई डिभिजन प्रमुख सापकोटाले भने, “हामी उपभोक्ता समितिसंग नियमित संम्पर्कमै छौँ ।” मुस्लिम तथा आदीवासी धामी जातीको बाक्लो बस्ती रहेको यस क्षेत्रमा सिंचाईको प्रभावकारी व्यवस्था भए गहु बाली, तोरी, मकै र वेमौशमी तरकारी खेतीको प्रशस्तै सम्भावना भएको स्थानियहरु बताउँछन् ।
कमेन्ट गर्नुहोस !