
सागर रिजाल
प्युठान, १९ मंसिर ।
युवामा लगानी तथा क्षमता अभिवृद्धि सम्बन्धी युवा तथा रोकारवालाहरुका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम होटल आयुष्माको सभाहल जुम्रीमा सुरु भएको छ । सिदार्थ सामाजिक विकास केन्द्रको आयोजना तथा जिल्ला समन्वय समिति प्युठानको सहकार्य र सयुक्त राष्ट्र संघीय जनसंस्या कोष (यु एन एफ पीए) को आर्थिक सहयोगमा अभिमुखीकरण कार्यक्रम गरिएको हो । मल्लरानी गाउँपालिकाका उपाध्यक्ष सरिता जिसीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख केशवराज आचार्यको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
त्यस अबसरमा कार्यक्रमका प्रमुख अतिथि आचार्यले राष्ट्रको परिवर्तनका लागि युवाहरुको भुमिका महत्वपुर्ण हुने बताए । आगामी दिनमा युवाहरुको अधिकारका लागि स्वयं युवाहरुनै जागरुक हुनुपर्ने उनको जोड थियो । युवाहरु सक्रिय रुपमा आफु हरेक कुराबाट सक्षम हुनको लागि स्थानियतह संग समन्वय गर्दै अगाडि बढ्नु पर्ने उनले बताए । संसार बदल्ने आट युवाहरुमा भएको भन्दै युवाहरु आफ्नो क्षमता अभिवृद्धि गर्नुपर्ने धारणा राखेका थिए । अभिमुखीकरण कार्यक्रममा मल्लरानी र ऐरावतीका रोजगार संयोजक संगै २४ जना युवाहरुको सहभागिता रहेको थियो । दुई दिन सम्म चल्ने अभिमुखीकरण कार्यक्रमको सहजीकरण सिदार्थ सामाजिक विकास केन्द्रका पूर्व अध्यक्ष पोमनारायण पौडेलले गरेका छन् ।
कमेन्ट गर्नुहोस !