
५ करोडको निकासी
प्यार अलि खाँन
सरुमारानीको बड्डाँडा कृषि उपजको कोशेली बजारको रुपमा स्थापित हुदैँछ । प्यूठानका बिभिन्न बजारकेन्द्रहरु मध्ये प्यूठान प्रवेशद्धारमै रहेको बड्डाँडाको विशेष पहिचानमा अदुवा र मह पर्दछ । यहाँ उत्पादित अदुवा देशका विभिन्न भुभाग एंव भारतसम्म पनि निर्यायत हुने गर्दछ ।
कृषकहरुद्धारा उत्पादित गहतको दाल, मसुरो, बेसार, पिडालु पनि यहाँको कृषिउपजको मुख्य उत्पादित बस्तुहरु हुन् । सरुमारानी क्षेत्रको घरेलु उत्पादनको मुख्य विक्रि केन्द्रनै बड्डाँडा बजार हो ।
जिल्ला बाहिरिने तथा भित्रिने यात्रुहरुले यहाँको कृषिउपज कोशेली पाहुरको रुपमा लैजाने गरेको सरुमारानी वडा नं. ४ का वडा अध्यक्ष चिन्तबहादुर सोमैले बताए । “यात्रुहरुले खाजा–नास्ता संगै यहाँको कृषिउपजका बस्तुहरु पनि लैजाने गर्नुहुन्छ ।” वडा अध्यक्ष सोमैले भने, “यहाँ उत्पादित बस्तुले जिल्ला तथा जिल्लाबाहिर सरुमारानीको राम्रो पहिचान बनाएको छ ।” विशेष गरि स्वर्गद्धारी घुम्न आउने आन्तरिक पर्यटकहरुले बजारमा अत्यधिक मात्रामा किनमेल गर्ने गरेको सोमै बताउँछन् ।
यहाँका धेरै स्थानीय व्यापारीहरु घरेलु कृषिउपजकै विक्रिबाट आफ्नो जिविकोपार्जन समेत गर्दै आएका छन् । यात्रुहरुले खाना नास्ता गर्ने समेत ठाँउ बड्डाँडा भएकोले यहाँ बाक्लै रुपमा साना तथा ठूला सवारी साधनहरु रोकीँदा व्यापारमा समेत टेवा पुगेको वडा सदस्य एंव स्थानीय व्यवसायी टिकाराम पल्लीले बताए । गाँउमा उत्पादीत कृषिउपजले बजार पाउँदा स्थानीयहरु खुसी हुनुका साथै एंव उत्पादनमा हौसिएको पल्ली बताउँछन् ।
मह र अदुवा उत्पादनका लागि गाँउपालिकाको मात्र नभएर वडा नं. ४, ५ र ६ जिल्लाकै पकेट क्षेत्र भएको गाँउपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए । “स्थानीय उत्पानको माग बढेसंगै यहाँका कृषकहरु उत्साहित छन् ।” अध्यक्ष विश्वकर्माले भने, “स्थानीय उत्पादनलाई बृद्धि गर्न तथा किसानहरुलाई सहयोग गर्न हामी लागी परेका छौँ ।” सहकारी मार्फत कृषि उत्पादकत्वलाई बजारीकरण गर्न योजनाबद्ध ढंगबाट अघि बढ्न लागिएको अध्यक्ष विश्वकर्मा बताउँछन् । “किसानसंग गाँउसरकार कार्यक्रम प्राथमिकताका साथ अघि बढाएका छौँ ।” गाँउसरकार प्रमुख विश्वकर्माले भने, “पराम्परागत कृषि प्रणालीलाई व्यवसायीकतामा बदल्नै पर्ने अहिलेको आवस्यकता छ ।”
सरुमारानीबाट वर्षेनी करोडौँ रकमको कृषिजन्य उत्पादन जिल्ला बाहिर निर्यायत हुने गर्दछ । गाँउपालिकाको कृषि शाखाले दिएको जानकारी अनुसार गत आर्थिक वर्षमा ५ करोड रुपैयाँ बराबरको कृषि उपज बाहिरिएको गाँउपालिकाले जनाएको छ । पछिल्लो समय सरुमारानीको अदुवा र महले राम्रो बजार पाउन थालेपछि यहाँका किसानहरु व्यवसायिक रुपमै मौरीपालन तथा अदुवा खेतीमा लागेका छन् । यहाँको कृषिलाई व्यवसायीकरणसंगै उत्पादनमा बृद्धि गर्दै जिल्ला भित्र बाहिर हुँदै भारतीय बजारसम्म विक्रि गरि यहाँको आर्थिक विकासमा परिणाममुखी काम गर्न सकिने प्रसस्तै सम्भावना भएको कृषि क्षेत्रका जानकारहरु बताउँछन् ।
कमेन्ट गर्नुहोस !