
०८ कात्र्तिक । राधिका भुसाल
प्यूठान । चार्डपर्व (दशै तिहार) लक्षित गरेर मात्रै होइन प्रहरीको सुरक्षा व्यवस्था कढाइमा सधै सक्रिय हुने जिल्ला प्रहरी प्रमुख डिएसपी नरेन्द्र कार्कीले बताउनु भएको छ । ‘सुरक्षाकर्मी एकैनास परिचालन गरिएको हुन्छ’– डिएसपी कार्कीले भने–‘अन्य समयमा भन्दा चार्डपर्वको समयमा कार्यालय प्रमुख बढि सक्रिय भएर डिउटी फलोअप गर्नुपर्छ ।’ दशै तिहारको समयमा आफै गाउँ गाउँसम्म पुग्ने बताउदै ट्राफिक चेकजाँचलाई बढाउने गरेको बताउनु भयो । उहाँले भन्नु भयो–‘ दुर्घटनाबाट बचाउनका लागि उक्त समयमा मापासे चेकजाँच बढि नै हुन्छ ।’ तिहारमा पटका पट्काउन नपाइने कुरा समेत उहाँले बताउनु भएको छ । देउसी भैलो खेल्ने बहानामा दान दक्षिणाको बहानामा तोकेर रकम माग्न नपाउने, राती अबेरसम्म देउसी भैलो खेल्न नपाउने, जाँडरक्सी खाएर होहल्लाह गर्न नपाउने लगायतका सुरक्षा व्यवस्था गरिएको उहाँको भनाइ छ ।
जनताको घर दैलोमा प्रहरी 
जनता र प्रहरी बिचको सम्बन्धलाई प्रगाढ र विश्वसीलो बनाउने उदेश्यका साथ प्यूठान जिल्लामा कार्यरत प्रहरी जनताको घर दैलो सम्म पुग्ने गरेको छ । २ वटा प्रहरी इलाकासंगै १८ वटा प्रहरी चौकीमा कार्यरत सबै प्रहरी युनिट बनाएर आफ्नो कार्यक्षेत्रमा अवस्थित समुदायको घरमा पुग्ने, मिठो साइनो (बुबा आमा, दाजु भाउजु, दिदी बहिनी, काका) जस्ता शब्दले सम्बोधन गर्दै उहाँको हालखरब सोध्ने गरेको प्रहरी प्रमुख डिएसपी कार्कीले बताउनु भयो । ‘हाम्रा प्रहरी साथीहरु नम्र स्वभाव र मिठो सम्बोधन गर्दै अहिले जनताको घरदैलोमा पुग्ने गरेका छन्’–डिएसपी कार्कीले भन्नु भयो–‘ एउटा घरमा कम्तीमा १५ देखि २० मिनेटको समय दिएर पारिवारिक कुराकानी हुन्छ, यसोे गर्दा प्रहरी र जनताको सम्बन्ध प्रत्येक्ष जोडिने छ ।’ अहिले दुर्गमलाई महत्व दिएर कार्यक्रम अगाडि बढाएको बताउदै कुनै कुनै ठाउँमा पहिलो पटक प्रहरी देख्दा बालबालिका तथा बृद्धबृद्धाहरु अचम्म मान्ने गरेको कार्कीले सुनाउनु भयो । जनताको घरसम्म पुगेका प्रहरीले नाम, ठेगाना, जन्म मिति, पेशा, सम्पर्क नम्बर, सवारी साधन, इन्जिन नम्बर लगायतका पारिवारिक सम्पूर्ण विवरण ‘नागरिक घरदैलो फारम’ अभिलेख राख्ने गरेको उहाँले बताउनु भयो । ‘यसो गर्नु मुख्य उदेश्य प्रहरी प्रति जनताको विश्वास बढाउनुका साथै अपराधिक क्रियाकलाप न्यूनिकरण गर्नु हो ।’ ९ वटै स्थानिय तहमा कात्तिक १ गते देखि सुरु गरेको घरदैलो कार्यक्रम अन्तरगत १ हजार २२ घर परिवारको विवरण टिपोट गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । ‘प्रहरी हाम्रो साथी’ भन्ने शब्दलाई व्यवहारमै लागु गर्न र जनताको प्रहरी प्रतिको गलत भम्रलाई चिर्नको लागि घरदैलो कार्यक्रमले राम्रो सहयोग पुग्नुका साथै समाजमा अपराधिक घटना कम हुने विश्वास लिएको डिएसपी कार्कीले बताउनु भयो । ‘अपराधिक क्रियाकलाप न्यूनिकरण मात्रै होइन अपराधी पत्ता लगाउन समेत यो विवरणले सहयोग गर्नेछ ।’
‘प्रहरीसंग एक दिन’ 
जिल्ला प्रहरी कार्यालय प्यूठानले ‘प्रहरीसंग एक दिन’ कार्यक्रम अन्तरगत विद्यालयका बाल बालिकाहरुलाई जिल्ला प्रहरी कार्यालय अवलोकन गराउने गरेको छ । ‘विविध समस्याका कारण टाढाका बाल बालिकालाई जिप्रका ल्याउन सकेका छैनौं’– डिएसपी नेरेन्द्र कार्कीले भन्नु भयो–‘सहभागी सबै बालबालिकालाई कार्यलयको अवलोकन गराउदैं शाखाहरुमा गरिने कार्य समेत देखाउने गर्छौ ।’ जिल्ला प्रहरी कार्यालयमा हुने सबै क्रियाकलाप बारे विद्यार्थीहरुलाई जानकारी दिने उहाँको भनाइ छ ।
प्यूठान प्रहरीले विभिन्न विद्यालयहरुमा पुगेर सन्देश मुलक कार्यक्रम गर्दै आएको छ । जिल्लाका विद्यालयहरुमा पुगेर बाल बिवाह, लागु औषध प्रयोग, विभिन्न प्रकृतिका अपराधहरु, सुरक्षा सम्बन्धी व्यवस्था र ट्राफिक नियमका बारे जानकारी गराउने गरेको डिएसपी कार्कीले बताउनु भयो ।
कमेन्ट गर्नुहोस !