
सागर रिजाल
प्युठान,४ कार्तिक ।
स्वास्थ्य कार्यालय प्युठानले एक कार्यक्रमका बिच सोमबार झिमरुक गाउँपालिका–२ बादिकोट स्वास्थ्य चौकीलाई एक थान एम्बुलेन्स हस्तान्तरण गरेको छ । ५ नंम्बर प्रदेश सामाजिक विकास मन्त्रालय मार्फत आर्थिक वर्ष ०७५÷०७६ मा विनीयोजित रकमबाट स्वास्थ्य कार्यालयले खरिद गरि वितरण गरिएको स्वास्थ्य कार्यालय प्युठानका प्रमुख विशाल सुबेदीले जानकारी दिए । मन्त्रालयले १२ वटै जिल्ला स्वास्थ्य कार्यालय मार्फत स्थानिय तहमा रहेका स्वास्थ्य संस्थाहरुलाई एम्बुलेन्स हस्तान्तरण गर्ने कार्यक्रम अनुसार प्युठानको बाधिकोट स्वास्थ्य चौकीलाई पनि हस्तान्तरण गरिएको सुबेदीले बताए ।
स्वास्थ्य चौकी सञ्चालन तथा व्यवस्थापन समिति का अध्यक्ष एंव २ नंम्बर वडा अध्यक्ष बलबहादुर महतरा र झिमरुक गाउँपालिका अध्यक्ष तिलकबहादुर जिसीलाई स्वास्थ्य कार्यालय प्युठानका प्रमुख सुवेदीले एम्बुलेन्स हस्तान्तरण गरेका हुन् । झिमरुक गाउँपालिकामै पहिलो पटक एम्बुलेन्स हस्तान्तरणले दुरदराजमा रहेका सेवाग्राहीलाई सुदृढ प्रेषण प्रणाली मार्फत उपचारमा सहज हुने विश्वास लिएको स्वास्थ्य कार्यालय प्रमुख सुवेदीले बताए । एम्बुलेन्स सञ्चालन भएसंगै झिमरुक संगै गौमुखी गाउँपालिका र सिमा जोडिएका अर्घाखाँची र गुल्मीका स्थानियलाई पनि सहज हुने सुबेदीले बताए । एम्बुलेन्स पाएपछि झिमरुकबासी खुसी भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको एम्बुलेन्स सञ्चालन सम्बन्धी निर्देशिका २०७० बमोजिम भन्सार छुट प्रक्रिया पुरा गरि एम्बुलेन्स ल्यार्ईएको उनले बताए ।
कमेन्ट गर्नुहोस !