
सागर रिजाल
प्युठान,२६ असोज ।
आईतबार दशैको पाँचौ दिन प्युठानका विभिन्न ठाउँमा सरायँ नाच सम्पन्न भएका छन् । जुम्री, पुण्यखोला, मल्लरानीको चौरपानी, ऐरावतीको जाबुने कोट लगाएतका जिल्लाका विभिन्न स्थानमा दशैको अवसरमा परापूर्वकाल देखि मेला लाग्दै आएका छन् । मेलाका अवसरमा सरायँ नाँच मुख्य आकर्षण रहने गर्दछ । मेलामा सरायँ हेर्नका लागि घुईचो नै लाग्ने गर्दछ । किवदन्ती उल्लेख गर्दै पत्रकार महासंघ प्यूठानका पूर्व अध्यक्ष सुशील पोखरेलले करिब ६ सय वर्ष अर्थात १२ औँ शताब्दीतिर प्युठानको भित्रीकोट राज्यमा एउटा राक्षसी प्रवृतिको जाड राजाले जनतालाई निकै दुःख दिएको र जाडको आंतकबाट जनताहरुले त्रसित जीवन बिताउन परेको थियो । त्यसैले जाडको विनास गर्ने योजना बनाउदै जनताहरु एकबद्ध भई जाडलाई मान्न खुडा, खुकुरी लिएर लड्न थाले जाडलाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित क्षेत्रपालसम्म ल्याए । त्यस ठाउँबाट लखेटदै विजुवारको डल्लेमा ल्याई जाँडको अन्त्य भएको भन्ने छ । यसैको खुशीयालीबाट बिकास भएको सरायँ मेला बिभिन्न अवसरमा लाग्ने गरेको बताए । यस अनुसार आईतबार कोजागत पूर्णिमाको दिन बिभिन्न स्थानमा मेला सम्पन्न भएका हुन ।
सराय प्युठान जिल्लासंगै छिकेकी जिल्लाहरु अर्घाखाँची,गुल्मी, दाङ लगायतका क्षेत्रहरुमा पनि खेलेको पाईन्छ । वडादशै र तिहारको अवसरमा प्युठानका धेरै ठाउँमा सराय मेला लाग्ने गरेको पाईन्छ । प्युठानका गाउँगाउँमा पनि सराँयका समुहहरु गठन भएको पाईन्छ । जिल्लामा डल्लेबाट आरम्भ भएको सरायँ मेला विभिन्न स्थानमा पनि लाग्ने गर्दछ ।
आईतबार जुम्री परिवर्तनशील यूवा समुह प्युठान नगरपालिका ३ को आयोजनामा भएको कार्यक्रममा सरायँ नाँच हेर्नेको घुईचो देखिन्थ्यो । वडा नंम्बर ३ कै युवाहरुको सक्रियतामा सरायँ नाँच गरिएको हो । पहिलेदेखी नाँच्दै आएको सरायँ नाँचलाई निरन्तरता दिनुपर्ने दल बहादुर केसीको भनाइ छ यसै गरी पुण्यखोलामा पनि भब्यताका साथ सराय नाच सम्पन्न भएको छ ।

सांस्कृतिक कार्यक्रम पनि
जुम्री परिवर्तनशील यूवा समुहको आयोजनामा सांस्कृतिक कार्यक्रम समेत सम्पन्न भएको छ । ०७४ साल देखी संस्थाले सांस्कृतिक मेलाको आयोजना गर्दै आएको संस्थाका अध्यक्ष हेमन्त पाठकले जानकारी दिए । मेला व्यवस्थित तबरले अगाडी वढाउने र पुरानो संस्कृतिलाई जोगाउने उदेश्यले मेलाको आयोजना गरेको उनले बताए । सांस्कृतिक कार्यक्रममा समिक्षा ओली, विजय पुन मगर, मुना के.सी., गनबहादुर पेस्तोल, झलक बुढा, सर्मीला पुन, ज्ञानी थापा लगाएतका कलाकारले प्रस्तुती राखेका थिए । मेलाको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले उद्घाटन गरेका हुन् । मेलालाई वडा नंम्बर ३ को कार्यालय, जुम्री बसपार्क व्यवस्थापन समिति र विभिन्न संस्था तथा व्यक्तिको सहयोग गरेको अध्यक्ष पाठकले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !