
प्यार अलि खाँन
जिल्लाको एक मात्र प्यूठान अस्पताल डाक्टरबिहिन बन्दै गएको छ । ८ जना विशेषज्ञ सहित १४ जना डाक्टरहरुको दरबन्दी भएपनि उक्त दरबन्दी हालसम्म पुरा हुन सकेको छैन् । दैनिक २ सय देखि २ सय ५० जना विरामी चेकजाँच गर्न आउने अस्पतालमा मात्र २ जना डाक्टरहरुले सेवा दिँदै आईरहेका छन् ।
२०७३ माघ १० गते मन्त्रिपरिषदको निर्णय अनुसार १५ सैयाबाट ५० सैयामा प्यूठान अस्पताललाई स्तरबृद्धि गरिएको हो । कागजमा मात्र अस्पताल स्तरोन्नती हुँदा सेवाप्रवाहमा समेत जटिलता देखिदै आएको छ । ८ जना विशेषज्ञसहित ११ औँ तहको मेडिकल सुपरिटेण्डेन्ट दरबन्दी अहिलेसम्म पुरा हुन नसक्दा प्यूठान अस्पताल थलिएको हो । कागजी ५० सैया अस्पतालको भौतिक संरचना निर्माण हुनसकेको छैन् ।
उपलब्ध चिकित्सक पटकपटक जिल्ल्लामा नहुँदा समग्र जिल्लाको स्वास्थ्य सेवा प्रभावित भएको हो । निमित्त अस्पताल प्रमुख १ साता देखि बिदामा बस्दा सेवाप्रवाहमा थप समस्या थपिएको हो । “अत्यावस्यक व्यक्तिगत कामको शिलशिलामा जिल्ला बाहिर छु ।” निमित्त अस्पताल प्रमुख डा–शेषराज घिमिरिले भने, “व्यक्तिगत कामसंगै अस्पतालका समस्याबारे संघ र प्रदेशमा समेत जानकारी गराएको छु ।” केहीदिन भित्रै थप जनशक्ति अस्पतालमा आउने व्यवस्था मिलाईएको डा–घिमिरेले बताए ।
निक साइमन र नेपाल सरकारको छात्रावृति करारका मेडिकल अधिकृत डा–सत्य वैद्य र एमडिजिपी डा–सुनिल सुनारले आकस्मीक सेवा र शुरक्षित प्रसुती सेवा हेरिरहेका छन् । मौशमी रुघाखोकी र भाईरल ज्वरोका कारण विरामीहरुको संख्या बढीरहेको अस्पताल प्रशासनले जनाएको छ । डेण्टल सर्जन डा–अस्मिता कोजुलाई निमित्त प्रमुखको जिम्मेवारी दिई डा– घिमिरे जिल्ला बाहिर गएका हुन् ।
अस्पतालको समस्याबारे संघ र प्रदेस नं. ५ को मन्त्रिपरिषद, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य निर्देशनालयमा जानकारी गराईएको स्वास्थ्य कार्यालय प्यूठानका प्रमुख विशाल सुवेदीले बताए । “स्वास्थ्य निर्देशकबाट अस्पतालको निरिक्षण तथा अनुगमन भएको छ ।” सुवेदीले भने, “आवस्यक जनशक्ति र चिकित्सक पठाउने आश्वासन पाएका छौँ ।”
सिधा केन्द्र र प्रदेसमा पहुँच राख्ने नेता प्यूठानले पाएता पनि जिल्लाको एक मात्र प्यूठान अस्पतालको हरिबिजोगबारे नेता तथा जनप्रतिनिधिहरुले उल्लेखनीय काम गर्न नसकेको प्यूठानीहरुको गुनासो छ । प्रदेश सरकारले अस्पताल विकास समिति गठन आदेश स्वीकृत गरिसकेको भएपनि उक्त निर्णय कार्यान्वयन नुहँदासम्म जिल्ला समन्वय समितिका प्रमुख अस्पताल विकास समितिको अध्यक्ष हुने व्यवस्था छ ।
कमेन्ट गर्नुहोस !