
सागर रिजाल
प्युठान,१५ भदौ ।
शनिवार स्वर्गद्धारी बहुमुखी क्याम्पस पुण्यखोलामा खुल्ला तीज गीत प्रतियोगिता तथा वृहत सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । हिन्दु नारीहरुको महान पर्व हरितालिका तीजको अवसर पारि विगतका वर्षमा जस्तै यस वर्ष पनि हाम्रो स्वर्गद्धारी विकास केन्द्र नेपाल प्युठानको आयोजनामा कार्यक्रम गरिएको हो । स्थानिय कला तथा संस्कृतिको जर्गेना गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरेको कार्यक्रम संयोजक बोमबहादुर परियारले बताउनुभयो । साथै पछिल्लो समयमा होटल तथा रेष्टुरेन्टमा बसेर नाचगान गरि दर खाने प्रवृति वढीरहेको छ र त्यसो नगरी जिल्ला भरका दिदीबहिनीहरुलाई एउटै प्राङगणमा जुटाई उहाँहरुको खुसी, पिर,वेदना र व्यथालाई गीतको माध्यमबाट व्यक्त गराउने गरि तीज गीत कार्यक्रमको आयोजना गरिएको उहाँले बताउनुभयो ।
कार्यक्रमको प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपसतले उद्घाटन गर्नुभएको हो । उद्घाटन गर्दै उहाँले दिदीवहिनीहरुलाई महिलाहरुको महान चार्ड हरितालिका तीजको शुभकामना दिनुभएको थियो । उहाँले यो तीजलाई भड्किलो भन्दा पनि सरल तथा सभ्य रुपमा मनाउन आग्रह गर्नुभयो ।
कार्यक्रममा डान्सर तथा मोडल तर्फ सिर्जना जिसी, समिक्षा ओली, मुना केसी, कृष्टिना श्रेष्ठ र गायन तर्फ विजय पुनमगर, चिराग मगर, सुजित परियार, दिपक पुनमगर र पदम पुनमगरको प्रस्तुती राखिएको थियो । यो संगै खुल्ला तीज गीत प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालय तथा संघसंस्थाका समुहले आफ्नो प्रस्तुती देखाएका थिए ।

त्यसमध्ये भानुभक्त माध्यामिक विद्यालय मल्लरानी गाउँपालिका ३ बर्बोटको समूह प्रथम, महेन्द्र माध्यामिक विद्यालय मल्लरानी ४ खंलगा दृतिय, विजय चौतारी महिला समूह प्युठान नगरपालिका २ क्वाडी तृतीय र धर्मावती महिला , बचत तथा ऋण सहकारी संस्था प्युठान नगरपालिका ८ बाग्दुला सान्त्वना भएका छन् । विजयी हुनेलाई क्रमश प्रथम १० हजार, दृतिय ७ हजार , तृतिय ५ हजार र सानत्वना ३ हजार संगै प्रमाणपत्र समेत प्रदान गरिएको संयोजक परियारले जानकारी दिनुभयो । साथै प्रथम पुरस्कारको सौजन्य टेकमाईन्ट् नेटवर्क प्राली रोल्पा प्युठानका सञ्चालक भरत राउत, दोस्रो पुरस्कारको सौजन्य कर्मा भाडा पसल जुम्रीका प्रोप्राईटर प्रचण्ड खड्का, तेश्रो पुरस्कार सौजन्य डिलक्स पेन्टको प्युठानका लागि आधिकारीक विक्रेता आर.एण्ड.आर टेड्« लिंकका प्रोप्राईटर रमेश पौडेल र सानत्वना पुरस्कार सौजन्य सुनिर भेराईटिज एण्ड गिफ्ट हाउस बाग्दुला प्युठानका प्रोप्राइटर सुनिल देव श्रेष्ठले गर्नुभएको थियो ।

उक्त कार्यक्रममा प्युठान नगरपालिकाका उपप्रमुख शान्ता आचार्य, नगरपालिकाका प्रवक्ता लक्ष्मीप्रकाश राजभण्डारी, नेपाली काग्रेस जिल्ला सभापती अमर भण्डारी लगाएतले हरितालिक तीजको अवसरमा शुभकामना व्यक्त गरेका थिए । संस्थाका अध्यक्ष नोमराज पौडेलको अध्यक्षता तथा महासचिव हरि भण्डारीको सञ्चालनमा भएकोे कार्यक्रममा जिल्लाका विभिन्न संघसंस्थाका प्रतिनीधि, विद्यार्थी नेता, सुरक्षा निकाय, व्यवसायी, पत्रकार लगाएत तीज मेला हेर्नका लागि करिब पाचहजार संख्यामा मानिसको उपस्थिती रहेको थियो ।
कमेन्ट गर्नुहोस !