
सागर रिजाल
प्यूठान, १० भदौं ।
शिवसेना नेपाल प्यूठानका अध्यक्ष सुरजकुमार पाण्डेले पार्टी साधारण सदस्य समेत नरहने गरी पार्टी जिल्ला अध्यक्ष पद परित्यागको घोषणा गरेका छन् । मंगलबार प्रेस विज्ञप्ती जारी गर्दै उनले पार्टी छोडेको घोषणा गरेका हुन् ।
राजनीतिकमा बिकृति मौलाएको भन्दै उनले राजनीतिकर्मीहरु जनताको सेवामा समर्पित नभएको उनले आरोप लगाए । ‘मुलुकका पछिल्ला घटनाक्रम नियाँल्दा धेरै जसो राजनीतिकर्मीहरु नै सत्यताको बाटो छोडी आफुहरु पनि यथार्थ भनदा धेरै टाढा भ्रममा बाँच्ने तथा आम जनतालाई पनि भ्रममा बाँच्न सिकाउने अवस्था सिर्जना गरिरहेका छन् ।’ , विज्ञप्तीमा उल्लेख छ ।
हाल देशको विभिन्न राजनैतिक नेतृत्वहरूको गतिविधीले देशमा भ्रष्टाचार, गरिबी, बेरोजगारी, स्वास्थ्य र शिक्षा क्षेत्रको आधारभूत गुणस्तरमा समेत वेवास्ता, शान्ति सुरक्षा लगायत जनजिविकाका सामान्य सेवासुविधा नागरिकले ग्रहण गर्न सक्ने अवस्था नभएको भन्दै उनले चिन्ता प्रकट गरेका छन् ।
सेवाभावबाट प्रेरित राजनीतिक अभ्यासका लागि राजनीतिक शुद्धिकरण नभएसम्म कुनै पनि पार्टीमा संलग्न नहुने पाण्डेको घोषणा छ ।
आवश्यक परेमा आफ्नो ज्ञान, शिप र क्षमता समाजसेवा मार्फत राष्ट्रका लागि योगदान गर्ने उनले विज्ञप्ती मार्फत प्रतिवद्धता समेत जनाएका छन् ।
पाण्डे शिवसेना नेपालको तर्फबाट २०७० मा सम्पन्न संविधान सभा सदस्यका लागि प्यूठान क्षेत्र नं. २ का उम्मेदवार थिए । अंग्रेजी विषयमा स्नातकोत्तर गरेका ३७ वर्षीय पाण्डे हाल प्यूठानको विजुवारमा व्यवसाय संचालन गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस !