आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

खानेपानीको समस्या झेल्दै विजुलीबासी, आउदो असारसम्म खानेपानी पुर्याउने गाउँपालिकाको योजना


प्युठान,८भदौ ।
ऐरावती गाउँपालिका– ६ मा पर्ने विजुली गाउँमा खानेपानीको समस्या निकै छ । यहाँका स्थानियहरुको पहिलो पिरलो खानेपानी बनेको छ । मानिसको अतिआवश्यक बस्तु पानी यो क्षेत्रका मानिसलाई अमृत समान मानिन्छ । यहाँका स्थानिय एक गाग्री खानेपानी भर्नका लागि रातभर जाग्राम बस्नुपर्ने बाध्यता छ । पानी पिउनुका संगैै यहाँका स्थानियलाई नुहाउँन, गाईवस्तुलाई खुवाउनका साथै सिँचाईको लागि समेत समस्या हुने गरेको छ । नयाँगाउँ, धनफुले, चिउरापानी, मडाई,बरमपोखरा, हात्तिपाईला लगायतका क्षेत्रहरुका बासिन्दाहरुले खानेपानी लिनकै लागि चार÷पाँच घण्टा लगाउनुपरेको स्थानिय एंव जनता माध्यामिक विद्यालय बिजुलीका प्रधानाध्यापक खडानन्द पौडेलले बताउनुभयो । बर्खाको समयमा समेत मुल नफुटदा खानेपानीको झनै समस्या वढेको उहाँ बताउनुहुन्छ । ०४० सालमा खंलगाको गहतेरा मुलबाट खानेपानी लिई गाउँमा १६ वटा धारा निर्माण गरेपनि अहिले पानी नआउदा समस्या झनै वढेको उहाँले बताउनुभयो । गाउँमा केहि विकास निर्माणका काम गर्न र पिउनका लागि किनेर खानुपरेको छ, उहाँले भन्नुभयो,–‘प्रतिलिटर डेढ रुपिँया तिरेर खानेपानी किनेका छौँ । ’
पिउने पानी समेत नहुँदा यहाँका स्थानियहरु बसाईसरि जाने क्रम पनि वढेको छ । खेतियोग्य जमिनहरु बाझिँदै गएको छ । तरकारी गाउँमा उब्जाउ हुदैँन् । भदौँ महिनाभर पानीका मुल नफुट्ने हो भने यहाँका बासिन्दाहरु गाउँनै छाड्ने अवस्था रहेको विद्यालयका प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
खानेपानी नहुँदा यस क्षेत्रका चार सय घरधुरीका बासिन्दाले खानेपानीको समस्या झेलेको वडा अध्यक्ष चन्द्रबहादुर रानाले बताउनुभयो । पहिले देखी पुर्खाहरुले लिने ठाउँबाट खानेपानी लिएको र अहिले त्यो मुलसमेत सुक्न थालेपछि यहाँँका स्थानियहरुलाई झनै समस्या परेको वडाअध्यक्ष राना बताउनुहुन्छ । वडा अध्यक्ष राना भन्नुहुन्छ,–‘पानी लिनको लागि धेरै समय लाईन लागेपनि भर्न नपाई कहिलेकाहीँ सुक्छ । ’
घर घरमा शौचालय भएपनि यहाँका स्थानियहरुको शौचालय बनजंगल बनेको छ । पानी अभावले शौचालयका लागि स्थानियबासी जंगल जानुपरेको वडाअध्यक्ष रानाले बताउनुभयो । शौचालय भएपनि पानि अभावमा प्रयोग बिहिन भएको उहाँले बताउनुभयो ।
विद्यालयलाई पुग्यो खानेपानी
आर्थिक वर्ष ०७५÷०७६को बजेटबाट जनता माध्यामिक विद्यालयमा खानेपानी पु¥याएको गाउँपालिका सवईन्जीनियर प्रजापती ज्ञवालीले जानकारी दिनुभयो । २० लाख रुपिँया बजेटमा जलुके मुहानबाट विद्यालयमा खानेपानी पु¥याएको उहाँले बताउनुभयो । उहाँका अनुसार विद्यालयमा दुई धारा निर्माण गरिएको छ । यो निर्माण विद्यालयमा खानेपानी समस्या हल भएको विद्यालय प्रधानाध्यापक पौडेलले बताउनुभयो ।
गाउँमा पनि पानी पु¥याउन बजेट विनियोजन
ऐरावती गाउँपालिकाले बिजुली क्षेत्रका बासिन्दालाई खानेपानी पु¥याउनका लागि आर्थिक वर्ष ०७६÷०७७ मा दुई करोड ५७ लाख ५३ हजार तीन सय ३६ रुपिँया विनियोजन गरेको सवईन्जीनियर ज्ञवालीले बताउनुभयो । झिमरुक खोलाको पानीलाई लिफ्ट मार्फट सात सय ८० मिटर उचाईमा तानी खानेपानी गाउँमा पु¥याउने योजना रहेको उनले बताए । ०७७ असार १५ सम्म योजना सकाउने गरि जेशी÷आँसु÷ईशान जे.भी. काठमाण्डौले ठेक्का समेत पाएको सवइंन्जीनियर ज्ञवालीले बताउनुभयो । चार वटा पानी तान्ने पम्प, सात वटा टंयाकी, २५ हजार पाँच सय मिटर पाईप लाईन , दुई सय ५८ धारा निर्माण हुने उहाँले बताउनुभयो ।
खानेपानी प्राथमिकतामा ः अध्यक्ष शाह


ऐरावती गाउँपालिकाले खानेपानीलाई प्राथमिकता दिई योजना बाडफाँड गरेको गाउँपालिका अध्यक्ष नबीलविक्रम शाहले बताउनुभयो । गाउँपालिकामा पहिलेको तुलनामा यो दुई वर्षको अवधिमा ८० प्रतिशत पानीका मुहानहरु सुकिसकेको अवस्था रहेको अध्यक्ष शाहले बताउनुभयो । यस क्षेत्रमा सबैभन्दा ठूला समस्या खानेपानीको हो, उहाँले भन्नुभयो,–‘खानेपानीकै लागि चालु आवमा पाँच करोड वढी बजेट विनियोजन गरेका छौँ ।’ यस क्षेत्रका बिजुली, दाङवाङ, तिल्केनी लगाएतका स्थानमा रहेको खानेपानीको समस्या समाधान गर्नेतर्फ आफुहरु लागि परेको उहाँले बताउनुभयो । स्थानियले सड्कलाई प्राथमिकता दिने र सड्क खनिसकेपछि वृक्षारोपण नगर्नाले खानेपानीका मुहान सुक्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘गाउँपालिकालाई वातावरणमैत्री संगै खानेपानीका मुहानको संरक्षणका लागि वृक्षारोपणलाई पनि प्राथमिकता दिएको छौँ । ’
निर्वाचनका प्रतिवद्धता पुरा हुदै छन् ः उपाध्यक्ष बस्नेत


आफु सिंगो ऐरावती गाउँपालिकाको जनप्रतिनीधि भएपनि बिजुली गाउँसंग आफ्नो जन्मको सम्बन्ध रहेको गाउँपालिका उपाध्यक्ष बुद्धबहादुर बस्नेतले बताउनुभयो । यस क्षेत्रको हरेक समस्या संग आफु पूर्णत परिचित भएको र यस क्षेत्रमा आफुहरुले खानेपानीको निकै समस्या भोग्दै आएको उहाँले बताउनुभयो । आफु निर्वाचित हुदैँ गर्दा सबै घरमा खानेपानीको धारा पु¥याउछु भनेर प्रतिवद्धता व्यक्त गरेको थिए । अहिले सम्म धेरै खानेपानीका आयोजनाहरु सम्पन्न गरिसकेको उहाँले बताउनुभयो । भर्खरै मात्र जनता मावि बिजुलीमा पनि लिफ्ट मार्फत खानेपानी पु¥याएको उहाँले बताउनुभयो । अब माथिल्लो डाडामा रहेका बस्तीहरुमा झिमरुक नदीबाट लिफ्टीङद्धारा पानी पु¥याउनका लागि बजेट विनियोजन गरि ठेक्का पनि भैसकेको उहाँले बताउनुभयो ।
आर्थिक वर्ष ०७६÷०७७ को अन्त्य सम्ममा बृहत लिफ्ट आयोजना सम्पन्न गरि माथिल्लो बस्तीमा रहेका सबै जनताको घरघरमा रहेको खानेपानीको समस्या समाधान गरिने उपाध्यक्ष बस्नेतले बताउनुभयो । साथै खानेपानीको क्षेत्रमा चरम समस्या भोग्दै आएका अन्य वडाका कैयन बस्तीहरुमा पनि खानेपानी पु¥याउनका लागि प्रयाप्त बजेटको व्यवस्था गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, –‘यो वर्ष खानेपानीको क्षेत्रमा उल्लेखनीय काम गर्ने योजना छ । ’

#सागर रिजालको सहयोगमा ! 

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top