
प्यार अलि खाँन
सरुमारानी गाँउपालिकाबाट नगर प्रहरीको पहिलो अभ्यास सुरु हुने भएको छ । प्यूठानकै पहिलो स्थानीय तहको रुपमा गाँउपालिकाले स्थानीय तहको एकल अधिकारको रुपमा नगर प्रहरीको व्यवस्था कार्यान्वयन गर्दैछ । पालिकाले यहि भाद्रबाट नगर प्रहरी परिचालन गर्न लागेको हो ।
पालिकाले नगर प्रहरी पद सेवा करारमा ५ जनाको लागि विज्ञापन आह्वान गरेको थियो । शारीरिक तन्दुरुस्ती परिक्षण, लिखित परिक्षा र अन्तरवार्ताको आधारमा ४ जनालाई छनौट गरिएको पालिकाका प्रमुख प्रशासकिय अधिकृत अमरवहादुर वलीले जानकारी दिए । “१ जना वरिष्ठ प्रहरीको कोटामा आवेदन परेन ।” वलीले भने, “पुनः छिटै सुचना निकाली आवेदन आह्वान गर्नेछौँ ।
नगरप्रहरीमा खुल्ला तर्फ एक बहादुर सोमै, शेखर शर्मा, आदिवासी जनजाती तर्फ रिमा पुन मगर र महिला तर्फ कलि पुन मगर छनौट भएको प्रमुख प्रशासकिय अधिकृत वलीले बताए ।

गाँउपालिकाका नगर प्रहरीले सार्वजनिक सम्पक्तिको हानी नोक्सानी हुन नदिन र नियमित रुपमा रेखदेख तथा सुरक्षाको व्यवस्थापन गर्ने काम पहिलो हुने गाँउ सरकार प्रमुख झगबहादुर विश्वकर्माले बताए । “हामी संविधानको सफल कार्यान्वयन चाहान्छौँ ।” गाँउसरकार प्रमुख विश्वकर्माले भने, “हाम्रा एकल अधिकारहरुको कार्यान्वयन हुन जरुरी छ ।”
नगर प्रहरीबाट न्यायिक समितिको कार्यसम्पादनमा समेत सघाउ पुग्ने पालिका उपाध्यक्ष मिना सोमैले बताईन । “वादी प्रतिवादीलाई पत्राचार गर्न पनि सजिलो हुन्छ ।” न्यायिक समिति संयोजक समेत रहेकी उपाध्यक्ष सोमैले भनिन्, “पालिकाले बोलाउँदा अनुपस्थित हुने प्रतिवादीलाई नगरप्रहरी मार्फत नै उपस्थित गराउन सक्छौँ ।”
नगर प्रहरी मार्फत वडालाई पनि कार्यसम्पादन गर्न सहयोग पुग्ने वडा नं. ३ का अध्यक्ष भिमबहादुर मर्साङ्गीले बताए । गाँउपालिका र वडा कार्यालयबाट प्रकाशित सुचना टोलविकास संस्थालाई जानकारी गराउन, सुचना आदानप्रदान गर्न सजिलो हुने वडा अध्यक्ष मर्साङ्गीले विश्वास व्यक्त गरे ।
नगर प्रहरीले व्यवसाय दर्ता नगरि व्यवसाय गर्ने घुमन्ते व्यापारिहरुको निरिक्षण समेत गर्ने वडा नं. ५ का अध्यक्ष सन्तबहादुर बरालले बताए । गाँउपालिका क्षेत्र भित्र दिवाकालिन धार्मिक मेला, महोत्सवहरुमा समेत सुराक्षार्थ खटिने कार्यविधि बनाईएको बरालले बताए ।
नगर प्रहरीले सडक क्षेत्र, बजार, छाडा चौपाया व्यवस्थापन, वन तथा नदिजन्य पदार्थको निरिक्षण गर्ने, कार्यालयद्धारा आयोजना हुने विभिन्न सभा, सम्मेलन, कार्यक्रममा शुरक्षार्थ खटिने, दैविक प्रकोप तथा आकस्मिक दुर्घटना भएको स्थानमा उद्धारमा खटिने, गाँउपालिका ऐन, नियम र आदेशको बर्खिलाप गर्ने मानिसलाई सो नगर्न अनुरोध गर्ने र नमानेमा आवस्यक कारवाहीको लागि कार्यालयमा पेश गर्ने, निरिक्षण, शुरक्षा आदी कार्यमा खट्दा स्थानीय प्रहरी चौकीसंग समन्वय गर्ने, आफु खटिएको कार्यालयको निर्देशानुसार अन्य कार्यहरु गर्ने नगर प्रहरीको कर्तव्य र अधिकारहरु रहने कार्यविधिमा उल्लेख छ । गाँउपालिकाका नगर प्रहरीहरुको मासिक तलव नेपाल सरकारले तोकेको न्यूनतम मासिक पारिश्रमिक भन्दा कम नहुने गरि गाँउकार्यपालिकाले तोक्ने बताइएको छ ।
कमेन्ट गर्नुहोस !