शुक्रबार, बैशाख १८, २०८३ | Friday 1st May 2026

खेलौनासंग अक्षर सिक्दै बालबालिका


राधिका भुसाल
प्यूठान । रंगिविरंगी पोस्टरले छपक्क छाइएको सानो कोठा । छरपस्ट छरिएका खेलौनाहरु । लहरै बसेका बालबालिकाहरु एकाअर्कासंग खेलौनाहरु साटासाट गर्दै थिए । गुरुआमा (शिक्षिका) कक्षाकोठालाई केन्द्र विन्दु बनाएर चौतर्फी नजर घुमाइरहेकी थिइन ।
“३ देखि ५ वर्ष उमेर समुहका बालबालिकाहरुलाई काखमा च्यापेर उनीहरुको भविष्य कोरिदिन त्यति सहज त छैन,”–शिक्षिका उर्मिला पण्डितले भनिन् –“तर, उनीहरुको चौतर्फी विकाससंगै म पनि रमाउन पाएकी छु ।” बाल बिकासको सुरुवाती दिनका बालबालिका भन्दा तुलनात्मक रुपमा अहिलेका बालबालिकाहरु धेरै टाठाबाठा भएको उनको बुझाइछ । “अहिले प्रविधि विकाससंगै बालबालिकाहरु धेरै चलाख भएका छन् र प्रत्त्येक दिन उनीहरुबाट मैले पनि नयाँ कुरा सिक्ने गर्छु ।”–पण्डितले स्मरण गर्दै भनिन्– “०६० सालमा मन्दिरको एउटा कुनामा २६ जना बालबालिका राखेर बाल सामग्री बानी नै बाल शिक्षा सिकाउने गरेकी थिए ।” सुरुवाती चरणमा रु. ५ सय मासिक तलबमा अध्यापन गराएको समेत उनले बताइन ।
३० जना बालबालिका रहेको जनता बाल विकास केन्द्र बाग्दुलामा विभिन्न ठाउँका मिश्रित बालबालिकाहरुले बाल शिक्षा सिक्दै आएका छन् । बालबालिकाको सुरुको शिक्षा लिने ठाउँ बाल बिकास केन्द्र नै भएता पनि बाल मैत्री हुन नसक्दा समस्या परेको छ । बाल विकास केन्द्रको आफ्नै भवन नहुंदा स्रोत केन्द्रको भवनलाई विभाजन गरी आधा कोठामा बाल बिकास सञ्चालन गर्न परेको हो । साघुरो कक्षाकोठा भएकाले आफुसंग उपलब्ध भएका सबै शैक्षिक सामग्रीहरु बाल सिकाइमा प्रयोग गर्न नपाएको पण्डितले गुनासो गरिन् ।
कतिपय अभिभावकहरुले नीजि विद्यालय भर्ना गर्नु भन्दा अगाडि बाल बिकास केन्द्रमा पठाउने गरेको उनले बताइन् । अक्षर सिकाउने मात्र नभई बालबालिकाको चौतर्फी विकास हुने क्रियाकलय गराइदै आएकोे सहयोगी कर्ता उर्र्मीला पण्डितले बताइन् । “बाल बालिकाको शारीरिक, मानसिक, बौद्धिक र सामाजिक विकास हुने क्रियाकलाप गराउने गर्छु ।” पण्डितले भनिन्–“बालबालिकाले अक्षर चिन्नु मात्र बिकास होइन, उनीहरुलाई समाजमा घुलमिन हुन, अभिभावकलाई आदर गर्न, साथीभाइ संग मिलेर बस्न सिकाउन पर्छ ।” बाल बालिकालाई चित्र, खेलौना, गटी, पोस्टर लगायतका सामग्री देखाउदैं अक्षर सिकाउन सजिलो हुने उनले बताइन ।
बाल विकासको कक्षाकोेठामा प्रवेश गर्नासाथ सबै बाल बालिकाले “नमस्कार नमस्कार गुरुआमा, नमस्कार नमस्कार साथीहरु आज भेटेर खुसी लाग्यो” भन्ने र छुट्ने बोलमा “नमस्कार नमस्कार गुरुआमा, नमस्कार नमस्कार साथीहरु भोली भेटेर खुसी हुनेछौं” भन्ने स्लोक गीतर मात्र छुट्ने पण्डितले बताइन ।
घरमा बस्नै मान्दैनन् ः अभिभावक
बाल विकास केन्द्रमा नयाँ नयाँ खेलौनाका साथै शैक्षिक सामग्रीहरु हुने भएका बालबालिका घर बस्नै नमान्ने अभिभावक कमला पण्डितले बताइ । “मेरो नाती अनित पण्डितलाई यसै वर्ष भर्ना गरेकी हुंँ”–अभिभावक पण्डितले भनिन्–“बाल बिकास केन्द्र आउन धेरै रहर गर्छ, अहिलेसम्म यहाँ ल्याउन कहर लगाउन परेकै छैन् ।” त्यस्तै आफ्नो ३ वर्षे छोरा आयुष संगितलाई बाल विकास भर्ना गरेकी प्रचला गौतमले भनिन्–“घरमा बस्न भन्दा साथीभाइहरुसंग बाल विकास केन्द्रमा खेल्न सिक्न रमाइलो मान्छ ।” त्यसो त सबै अभिभावकले आफ्ना बाल बालिका बाल विकास केन्द्रमै रमाइलो मान्ने गरेको बताउछन् ।
“मलाई त स्कुल आउन मन लाग्छ”–बालक रितेस विस्टले भने–“मम्मीले टिफिनमा रोटी, अण्डा, अंगुर, स्याउ, परौठा राख्दिनु हुन्छ अनि भोक लागे त्यही खान्छु ।” घरमा भन्दा स्कुलमा रमाइलो लाग्ने केजीमा अध्यायन गर्दै आएका विष्टले बताए ।
सवै बाल बालिकाका अभिभावकलाई घरकै खाजा बनाएर टिफिन हालिदिने आग्रह गरेपछि कुनै पनि बाल बालिकाले फुट खाजा नखाने गरेको शिक्षिका हिमा पण्डितले बताइन् । विद्यालय भर्नाको केही समय पछि बाल सिकाइमा सहयोग पुग्ने आफ्नै घरमा उपलब्ध भएको एक एक वटा शैक्षिक सामग्रीहरु अभिभावकलाई नै ल्याउन भन्ने गरेको उनले बताइन् । बाल बिकासका लागि सेभ द चिल्ड्रेनले पनि शैक्षिक सामग्री सहयोग गरेको छ ।
२०५२ सालमा प्राथमिक शिक्षा परियोजनाबाट सुरु भएको जिल्ला शिक्षा तथा समन्वय इकाइ प्रमुख शिवराज पण्डितले जनाकारी दिए । तत्कालिन समयमा प्यूठान जिल्लामा ३२ वटा बाल विकास केन्द्र भएता पनि हाल ३ सय ८७ वाल विकास केन्द्रमा करिब ९ हजार ६ सय बाल बालिकाहले सिक्दै आएको उनले बताए । बाल विकास शिक्षकहरुलाई तालिम, बाल बालिका खेलौना, शैक्षिक सामग्र्रीहरु उपलब्ध गराउदैं आएको पण्डितले बताए । कतिपय बाल विकास केन्द्रहरुको भौतिक संरचना बाल मैत्री नभएको हुंदा बाल बालिकाको सिकाइ क्रियाकलापमा समस्या भएको उनको भनाइ छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top