
सागर रिजाल
प्युठान,१० साउन ।
माण्डवी गाउँपालिकाको केन्द्र जस्पुरमा रहने भएको छ । गत जेठ १२ गते माण्डवी गाउँपालिकाको विशेष गाउँसभाले पालिकाको केन्द्र वडा नंम्बर ३ जस्पुर राख्ने निर्णय गरेको थियो । निर्णय गरेपनि देविस्थानबासीले जस्पुर केन्द्र लान दिन हुन्न भनि विरोध गरेका थिए । विरोध स्वरुप दैनिक एक घण्टा धर्ना र गाउँपालिकाको छेउमा कालोझण्डा राखेको गाउँपालिका अध्यक्ष श्रीधर रोकाले बताए ।
विहिवार बसेको मन्त्रीपरिषदको निर्णयले साविक नयाँगाउँ गा.वि.स.को कार्यालयबाट केन्द्र माण्डवी गाउँपालिका वडा नं. ३ जस्पुर कायम हुने निर्णय गरेको छ । मन्त्रीपरिषदले गरेको निर्णयलाई नेपाल राजपत्रमा प्रकाशन समेत गरिने गाउँपालिका अध्यक्ष रोकाले बताए ।
मन्त्री परिषदले जस्पुर निर्णय गरेपनि हामी धर्ना र कालो झण्डा नरोक्ने देविस्थानका स्थानिय गिरीराज पौडेलले बताए । आगामी दिनमा के गर्नेभनि देविस्थानबासी बैठक बसेर निर्णय गर्ने उनले बताए । धर्नामा ४० देखी ४५ जना सहभागी रहेको उनले बताए ।
हाल देविस्थानबाट संचालन हुँदै आएको प्रशासनिक कार्य अब जस्पुरबाट संचालन हुने गाउँपालिका अध्यक्ष श्रीधर रोकाले जानकारी दिए । स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ४ को उपदफा १ बमोजिम प्रदेश सरकारको परामर्श लिई नेपाल सरकार समक्ष गाउँपालिकाको केन्द्र जस्पुर हुने निर्णय गाउँपालिकाले गरेको थियो ।
२९ जना गाउँ सभा सदस्यहरु मध्ये २८ जनाले जस्पुर केन्द्र राख्ने निर्णयलाई समर्थन गरेपछि गाउँपालिकाको केन्द्र जस्पुर तोकीएको हो । वडा नं ५ का वडा सदस्य इश्वर बहादुर थापाले उक्त प्रस्तावमा असमर्थन रहेको जनाएका छन् । सेवा प्रवाह, जनसंख्या, भुगोल जस्ता आधारहरुमा सवैको पायक पर्ने गरी जस्पुर राख्ने निर्णय गरिएको अध्यक्ष रोकाले जानकारी दिए । जस्पुरमा माण्डवी गाउँपालिकाको प्रशासनिक भवन निर्माणका लागि स्थानीयले १९ रोपनी जग्गा उपलब्ध गराउने प्रतिवद्धता जनाएका छन् । लामो समयदेखि जनप्रतिनिधिहरु फरक मत हुँदा गाउँपालिकाले केन्द्र तोक्ने विषयमा विवाद रहेको थियो ।
अन्य भौतिक संरचना देविस्थानमै
सन्तुलित विकास योजनाको अवधारणालाई आत्मसाथ गर्दै अन्य भौतिक संचरनाहरु देविस्थानमा निर्माण गर्ने समेत विशेष गाउँसभाले निर्णय गरेको छ । १५ शैयाको अस्पताल, चिस्यान केन्द्र, बहुउद्देश्यीय हल र अन्य कृषि तथा पशु विकास अन्तरगतका कार्यालय देविस्थानमा निमार्ण गर्ने निर्णय भएको गाउँपालिका अध्यक्ष रोकाले जानकारी गराए ।
कमेन्ट गर्नुहोस !