
प्यार अलि खाँन
प्यूठानका स्थानीय–तहमा सरकारी मोटरसाईकलको चरम दुरुपयोेग भएको छ । यसरी मोटसाईकलको दुरुपयोग गर्नेमा जनप्रतिनिधिहरुले कर्मचारीहरुलाई उछन्दै छन् । सरकारी काममा कम, व्यक्तिगत काममा बढी सरकारी मोटरसाईलको दुरुपयोग बढ्दो छ । नियमन कस्ले गर्ने? गाँउसरकारका नीति निर्माण तहमा रहेका जनप्रतिनिधिहरुबाटै सरकारी प्रयोजनका निम्ती ल्याईएका सवारी तथा मोटरसाईकलको दुरुपयोग दिनप्रतिदिन बढ्दै जाँदा स्थानीय जनतामा जनप्रतिनिधिप्रतिको विश्वास र लोकप्रियतामा कमी आएको पाईन्छ ।
दाङ्ग जिल्लाबाट प्यूठान प्रवेशगर्दा प्रवेशद्धारमै सरुमारानी गाँउपालिका छ । गाँउपालिकाकै केन्द्र वडा नं. ४ बड्डाँडामा पर्दछ । कालोपत्रे सडक छेउमै वडा कार्यालय रहेको छ र केही वडाका भौगोलिक विकट बस्तीबाहेक सबै गाँउबस्तीमा सहज रुपमा सवारीसाधन तथा मोटसाईकल मार्फत आवतजावत गर्न सकिन्छ । पालिकाले ६ वटै वडा अध्यक्ष र केही विषयगत समितिका संयोजकलाई समेत मोटरसाईकल सेवासुविधा दिएको छ तर यहाँका एक वडा अध्यक्ष भने निर्वाचित् भएदेखिनै आफ्नो नीजि माटोरसाईकल मार्फत आवत–जावत गरि वडाका कामकारवाही तथा कार्यसम्पादन गर्दै आएका छन् । जिल्लाका जनप्रतिनिधिहरु सुविधाभोगी बन्दै गएको गुनासोहरु आईरहेकाबेला प्यूठानका २ स्थानीय–तहका वडा अध्यक्षहरुले भने मोटरसाईकल सुविधा पाएर पनि नलिएको पाईएको छ । सरुमारानी गाँउपालिका वडा नं. ४ का अध्यक्ष चिन्तबहादुर सोमै र प्यूठान नगरपालिका वडा नं. ४ कै वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले सरकारी सेवा सुविधाका रुपमा मोटरसाईकल प्रयोग गरेका छैनन् ।

दुबैको वडा कार्यालयमा वडा कार्यप्रयोजनका निम्ती मोटरसाईकल नराखेको उनिहरुले बताएका छन् ।‘म मेरै बाईक प्रयोग गर्दै आईरहेको छु ।’ सरुमारामी –४ का वडा अध्यक्ष सोमैले भने, ‘आफुसंगै बाईक भएकोले वडा तथा पालिकालाई किन आर्थिक भार पार्ने ।’ वडाका कामहरुमा, अनुगमनमा नीजि बाईक नै प्रयोग गरिरहेको उनले बताए । ‘जनप्रतिनिधिहरु आफ्नो सुविधामा भन्दा जनताको सुविधामा नै बढी ध्यान दिनुपर्दछ ।’ सोमैले भने ।
मोटरसाईकल आफुसंगै भएकोले वडा अध्यक्षका निम्ती बाईक सुविधा नगरपालिकाले दिएतापनि नलिएको प्यूठान न.पा –४ का वडा अध्यक्ष लक्ष्मीप्रकाश राजभण्डारीले बताए । ‘अनावस्यक फजुल खर्च किन गर्ने ।’ राजभण्डारीेले भने, ‘बाईक किन्ने पैसाले जनताको पक्षमा थोरै भएपनि काम गर्न सकिन्छ ।’ वडा अध्यक्षका लागि नभएर वडाका कर्मचारी तथा कामकारवाहीको लागि मोटरसाईकल आवस्यक भएको तर नगरपालिकाबाट हाललाई नपाएको वडा अध्यक्ष राजभण्डारीले बताए ।उता भौगोलिक विकटताका कारण मल्लरानी वडा नं. १ का वडा अध्यक्ष चिन्त बहादुर राहुुमगरले बाईक सुविधाबाट बञ्चित् भएका छन् । ‘मेरो वडामा त बाईक जाने बाटै छ्रैन् ।’ राहुमगरले भने, ‘अन्यत्र वडाका साथिहरुले भने बाईक सुबिधा लिनुभएकै छ ।’
कमेन्ट गर्नुहोस !