
सागर रिजाल
प्युठान,१६ जेठ ।
लामो समयदेखी चर्चामा रहेको चाल्नेटार विमानस्थल निमार्ण हुने आशा पलाएको छ । जिल्लाको स्वर्गद्धारी नगरपालिका वडा नंम्बर ८ बर्जिवाङमा पर्ने चाल्नेटारमा विमानस्थल बनाउने सरकारको बजेट भाषणमा सम्बोधन गरिएसंगै आशा पलाएको हो । उक्त स्थानमा वातावरणीय प्रभाव मूल्याङ्कन गरि नागरिक उड्यन मन्त्रालयमा पेश गरेपछि बजेट भाषणमा सम्बोधन गरिएको स्वर्गद्धारी नगरपालिका नगरप्रमुख नेत्रबहादुर रोकायले जानकारी दिनुभयो ।
जिल्लाको मुख्य धार्मिक स्थल स्वर्गद्धारीलाई केन्द्रविन्दु बनाई विमानस्थल बनाउन लागि पहल भएको उहाँले बताउनुभयो । जिल्ला संगै छिमेकी जिल्ला रोल्पाका जनतालाई हवाई यातायातको पहुँच पुग्ने उहाँले जानकारी दिनुभयो । चाल्नेटार विमानस्थलले स्वर्गद्वारीको पर्यटन प्रर्वद्धनमा ठुलो मद्दत गर्ने उहाँले बताउनुभयो । बजेट कति हो भनेर सरकारले तोकेको छैने, नगरप्रमुख रोकाले भन्नुभयो,–‘बजेट भाषणमा सम्बोधन गरेको छ, अब विमानस्थलको काम अगाडी वढने आशा पलायो । ’
विमानस्थल निर्माणले स्वर्गद्वारीमा स्वदेशी तथा विदेशी पर्यटकहरु सहज रुपमा आउने उहाँले बताउनुभयो । यस स्थानमा विमानस्थल निमार्ण भएसंगै पर्यटन उद्योगको विकास हुने उहाँ बताउछन् । नेपाल नागरिक उडड्यन प्राधिकरणको तर्फबाट परामर्शदाता संस्था प्याक्ट कन्सल्ट्यान्ट प्रा.लि. मार्फत वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन गरि सार्वजनिक सुनुवाई गरिसकेको उहाँले बताउनुभयो । जिल्लाकै मुहार फेर्ने विमानस्थलको चार वर्ष अघि फिल्ड सर्भे भएको थियो ।
६० दशमलव ७९ हेक्टर क्षेत्रफलमा फैलने
विमानस्थलका लागि ६० दशमलव ७९ हेक्टर क्षेत्रफल आवश्यक पर्ने अध्ययनले देखाएको छ । आयोजना निर्माणले चाल्नेटारका १२ घरधुरी प्रत्यक्ष रुपमा विस्थापित हुनेछन् । आयोजना निर्माण गर्दा ५५ दशमलव १८ हेक्टर राष्ट्रिय वन अन्र्तगतको हरियाली सामुदायिक वनको अधिग्रहण हुने देखिएको छ । स्थानीयले घर र जमिनको उचित मुआब्जा दिन माग गरेका छन् ।
विमानस्थल निर्माणका लागि सरकारले सम्बोधन गरेसंगै जिल्लाका स्थानियमा खुसीयाली छाएको छ । चाल्टेटारमा विमानस्थल निर्माणले जिल्लाको मुहार फेर्ने नेपाल कम्युनिष्ट्र पार्टी(नेकपा) जिल्ला कार्यसमिति सदस्य सुमन श्रेष्ठले बताउनुभयो । जिल्लाका बामदेव गौतम, मणी थापा, कृष्णध्वज खड्का,सूर्य थापा लगाएतका नेताहरुको पहलमा बजेट भाषणमा सम्बोधन गरिएको छ, उहाँले भन्नुभयो,–‘यो काम जिल्लाबासीको लागि स्वागतयोग्य छ । ’ श्रेष्ठले विमानस्थल निर्माणका लागि बजेट पनि विनियोजित हुनुपर्ने बताउनुभयो ।
विमानस्थल निर्माण शुरु भएको दुई वर्षभित्र सम्पन्न भइसक्ने अनुमान गरिएको छ । आयोजनाको प्रस्तावित लागत ७७ करोड रुपिँया रहेको छ । आयोजनाले जिल्लालाई काठमाण्डौ, भैरहवा, धनगढी, नेपालगञ्ज, पोखरा, भरतपुर, विराटनगरका साथै अन्य पहाडी जिल्लाहरुमा हवाई सम्पर्कको सुविधा उपलब्ध गराउनेछ ।
बन्ने भयो नौमुरे
प्युठानको बहुप्रतिक्षित नौमुरे बहुउद्देश्यीय जलविद्युत आयोजना पनि निर्माण हुने आशा पलाएको छ । अर्घाखाँची र प्यूठानको सिमानामा पर्ने नौमुरेमा रहेको २ सय १६ मेगावाट विजुली उत्पादन हुने छ । करिब तीन दशकदेखि चर्चामा रहेको नौमुरे आयोजनामा ०४४ सालमा सरकारले खटाएको विशेषज्ञ टोलीले २ सय ४५ मेगावाट विद्युत निकाल्न सकिने प्रतिवेदन बुझाएको थियो ।
कमेन्ट गर्नुहोस !