
सागर रिजाल
प्युुठान,
सवारी साधन दुर्घटनाको क्रम वढैसंगै प्युठानमा यसको न्युनीकरणका लागि साताव्यापी ट्राफिक जनचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको छ । सवारीचालक, स्थानिय जनप्रतिनिधि, स्थानियबासीहरुमा जनचेतना फैलाउन जिल्ला ट्राफिक कार्यालय देविस्थान प्युठानले ठाउँ ठाउँमा सुधार अभियान शुरु गरेको हो ।
शनिवार चकचकेबाट कार्यक्रमको शुरुवात गरिएको हो । कार्यालयले आईतबार प्युठान नगरपालिका ४ जुम्रीमा जनचेतनामुलक कार्यक्रम गरेको छ । सानो गल्तीले धेरै सवारीसाधनहरु दुर्घटना भएको र धेरैले ज्यान गुमाउनुपरेकोले यो कार्यक्रम सञ्चालन गरिएको जिल्ला ट्राफिक कार्यालय प्युठानका प्रमुख प्रहरी नायव निरिक्षक कृष्ण विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सवारी दुर्घटना न्युनीकरण गर्नेनै यो कार्यक्रमको मुख्य उदेश्य हो । ’
सातादिनसम्म सञ्चालन हुने कार्यक्रममा चालकहरुलाई सवारी साधनमा प्रयोगमा ओभरट्याग गर्न सिकाउने, हर्न, तिव्र गति नियन्त्रण गर्न सिकाईने ट्राफिक प्रमुख विश्वकर्माले बताउनुभयो । त्यस्तै चालकलाई प्राथमिकताका विषयमा सिटबेल्ट बाध्न लगाउने, गाडी चलाउँदा अनिवार्य जुत्ता लगाउन भन्ने,स्वास्थ्य जाँच, यात्रुलाई सभ्य व्यवहार, सवारीसाधनको फोहोर व्यवस्थापन लगाएतका विषयमा जानकारी गराउने प्रमुख विश्वकर्माले जानकारी गराउनुभयो ।
चकचकेबाट शुरु गरिएको कार्यक्रम जिल्लाका विभिन्न ठाउँमा सञ्चालन गरिने ट्राफिक प्रमुख विश्वकर्माले बताउनुभयो । उहाँका अनुसार जुम्री, विजुवार, बाग्दुला, भिग्री, वड्डाडा बजारमा यो अभियान सञ्चालन गरिने छ । स्थानिय सरकार, स्वर्गद्धारी सार्वजनिक यातायात व्यवसायी समितिको सहकार्यमा कार्यक्रम गरिएको उहाँले बताउनुभयो ।
जुम्रीमा भएको कार्यक्रममा प्युठान नगरपालिकाका नगरप्रमुख अर्जुनकुमार कक्षपतिले ट्राफिक नियमको पालना गरि सवारीचालकले सवारी चलाउनुपर्ने बताउनुभयो । पछिल्लो समय जिल्लामा सवारी दुर्घटना वढेका छन्, उहाँले भन्नुभयो–‘सवारी दुर्घटना कम गर्न चालकनै जिम्मेवार बन्नुपर्छ । ’ ‘ प्युठानमा साघुरो सड्क र व्यक्ति नाममा भएका सड्कले समस्या छ, मुख्य सड्क नेपाल सरकारको मातहतमा छ, उहाँले भन्नुभयो,–‘यसले गर्दा स्थानिय सरकारलाई समस्या भएको छ । ’ ट्राफिक प्रहरीले दुर्घटना कम गर्न चलाएको अभियान सकारात्क भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो –‘यो अभियानमा सबैले साथ दिनुपर्छ । ’
दुर्घटना न्युनीकरण गर्न ट्राफिकको नयाँ योजना
प्युठानमा सवारी दुर्घटना न्युनिकरण गर्न जिल्ला ट्राफिक कार्यालय प्युठानले नयाँ योजना अगाडी सारेको छ । यात्रुको आवतजावत वढी हुने ठाउँमा जेब्राक्रस राख्ने योजना रहेको ट्राफिक प्रमुख विश्वकर्माले बताउनुभयो । त्यस्तै माण्डवी गाउँपालिका अन्र्तगत पर्ने चकचके बजारमा आईलाईन राख्ने, विभिन्न ठाउँमा ट्राफिकमुलक चिन्ह, सन्देश राखिने र चकचकेमै सोलार प्यानल बत्ति राखिने योजना बनाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयोे,–‘असारमसान्त सम्म यो काम कार्यालयले गरिसक्नेछ । ’
नौमहिनामा १२ मृत्यु, ४९ घाईते
चालु आर्थिक वर्षको नौ महिनामा सवारी दुर्घटनामा परि प्युठानमा १२ जनाले ज्यान गुमाएका छन् । जसमा पुरुष ७ जना, महिला ३ जना, बालक १ जना, बालिका १ जना गरि १२ जनाले ज्यान गुमाएको ट्राफिक प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । त्यस्तै नौ महिनाको अवधीमा ४९ जना गम्भीर घाईते भएका छन् । जसमा पुरुष ३३ जना, महिला ८ जना, बालक ६ जना, बालिका २ जना रहेको कार्यालयले जनाएको छ । जिल्ला ट्राफिक कार्यालय प्युठानको तथ्यांक अनुसार आर्थिक वर्ष ०७२÷०७३ मा २४ जनाको मृत्यु ४९ गम्भिर घाईते, ०७३÷०७४ मा १८ जनाको मृत्यु ४२ जना गम्भिर घाईते र ०७४÷०७५ मा १८ जनाको मृत्यु र ४९ जना गम्भिर घाईते भएको ट्राफिक प्रमुख विश्वकर्माले जानकारी दिनुभयो ।
दुर्घटना हुने सवारीसाधनमा बस १, ट्रक २, जीप १४, ट्याक्टर ४, मोटरसाईकल १३, टेम्पो २ र अन्य २ गरि ३८ वटा रहेका छन् । चालकको लापरवाही, साघुरो सड्क, तिव्र गति, सड्क अतिक्रमण, ट्राफिक चेतनाको कमि जस्ता कारणले सवारीसाधन दुर्घटनामा परेको पाईएको ट्राफिक प्रमुख विश्वकर्माले जानकारी दिनुभयो । दिउसो १२ बजेदेखी साझ ५ बजे सम्म दुर्घटना वढी हुने गरेको र १६ वर्ष देखि २५ वर्ष सम्मको उमेरसमुहका चालकले सवारी दुर्घटना गराएको पाईएको उहाँले बताउनुभयो ।
कमेन्ट गर्नुहोस !