
सागर रिजाल
प्युठान,११ बैशाख ।
जिल्लाको झिमरुक गाउँपालिकाले ‘विपन्न वर्गको उत्थान, घरको छाना विस्थापन’ कार्यक्रम अन्र्तगत खरका छाना भएका एकल, विपन्न एंव गरिब परिवारका घरहरुमा जस्तापाताले घर छाउने अभियान शुरु गर्ने भएको छ । गाउँ कार्यपालिकाको ३४ औँ बैठकले यो निर्णय अघि सारेको हो ।
गाउँपालिकाले आ.व.०७५÷७६ को बजेट प्रस्तुत गर्दा यो निर्णय अघि सारेपनि अब अभियानका रुपमा अगाडी वढने गाउँपालिका अध्यक्ष तिलक जिसीले जानकारी दिए । सुरक्षित आवास, जोखिम न्युनीकरण, आगलागीबाट जोगाउन जस्तापाता वितरण गर्न लागिएको उनले बताए । उनले भने,–‘यस्ता कामले जनतालाई स्थानिय सरकार आएको महशुस गराउँने छ । ’ प्युठान मा धेरै स्थानीय तहले खरको छाना हटाउने अभियान थाले संगै झिमरुकले पनि प्राथमिकता का साथ यो कार्यक्रम अगाडि बढाएको उनले बताए ।
गाउँपालिकाको तेश्रो गाउँसभाबाट विपन्न परिवारको खरको छाना हटाई जस्तापाता लगाउँने नीति तयार पारिएको गाउँपालिकाका अध्यक्ष जिसीले बताए । आर्थिक, सामाजिक, सांस्कृतिक लगायत समग्र क्षेत्रको सन्तुलित र दिगो विकास गर्दै गरिबी, असमानता र भोकमरीको न्युनीकरण गर्ने गाउँपालिकाले लक्ष्य लिई आफ्ना कार्यक्रमहरु अगाडी सारेको उनले बताए । उनले भने,–‘हाम्रो झिमरुक, राम्रो झिमरुक बनाउन बजेट हामी लागिपरेका छौँ । ’
६० लाख बजेट विनियोजन
विपन्न परिवारका घरका जस्तापाता छाउनका लागि ६० लाख बजेट विनियोजन गरिएको छ । गाउँपालिकाको ३० लाख र प्रदेश सरकारको ३० गरि ६० लाख बजेट विनियोजन गरिएको गाउँपालिकाका प्राविधिक बासुदेव गिरीले जानकारी दिए ।
पालिकाभित्र ८ वडा छन् । यो आर्थिक वर्षमा १ वडामा २० गरि जम्मा १ सय ६० घरधुरीमा जस्तापाता लगाईने प्राविधिक गिरीले जानकारी दिए । गाउँपालिकाले पालिकाभित्र खरका छाना हटाउन योजना बनाएर अगाडी वढेको उनले बताए । उनले भने,–‘ मापदण्ड पुरा गरेका घरमा जस्तापाता दिईनेछ । ’ अबको केहि दिनमा यो अभियान अगाडी वढने उनको भनाई छ ।
पालिकाभित्र एक हजार ६ सय ६६ विपन्न परिवार
विभिन्न विकास निर्माणका कामहरु संगै पालिकाले खरका छानो मुक्त बनाउने अभियान शुरु गरेको गाउँपालिका अध्यक्ष जिसीले बताए । गरिब जनताको आशु पुछ्न र जनताको दैलोमा सरकार आएको महसुस गराउन हामिले अन्य काम संगै गरिब जनताको घर छाउने कार्यक्रमलाई अगाडि वढाएको उनी बताउछन् । जस्तापाता सगै सडक,खानेपानी,सिंचाइ,पुल लागाएत अन्य भौतिक पुर्वाधार कार्यक्रम सन्चालन गरेको जिसीले बताए ।
झिमरुक गाउँपालिकाका ८ वटा वडा भित्र एक हजार ६ सय ६६ विपन्न घरपरिवार रहेको उनले जानकारी दिए । यस आर्थिक वर्षमा छाएर बचेका विपन्नका घरमा ५ वर्ष भित्र छाउने अध्यक्ष जिसीले जानकारी दिए ।
कमेन्ट गर्नुहोस !