सोमवार, बैशाख ७, २०८३ | Monday 20th April 2026

छोराछोरीलाई सामुदायिक बिद्यालयमा नपढाए तलब र सेवासुविधा रोकिने


 

प्युठान,२५ चैत ।
प्युठानको माण्डवी गाउँपालिकाले सरकारी कोषबाट तलब भत्ता खाने जनप्रतिनिधि , कर्मचारी, शिक्षक लगायत विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरुको छोराछोरी वा निजको संरक्षकत्वमा रहेका सन्तानलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा पढाउने निर्णय गरेको छ । आईतबार बसेको गाउँशिक्षा समितिले उक्त निर्णय गरेको हो । सामुदायिक बिद्यालयहरुको शैक्षिक गुणस्तर खस्कदैँ गएको गुनासो बढ्दै गईरहेको समयमा सामुदायिक बिद्यालयप्रति अभिभावकहरुको सकारात्मक बुझाईको बिकास गर्न जनप्रतिनिधिका छोराछोरीहरुलाई अनिबार्य रुपमा सामुदायिक बिद्यालयमा भर्ना गर्न लागिएको गाउँपालिका अध्यक्ष श्रीधर रोकामगरले बताउनुभयो । उहाँले भन्नुभयो,–‘सामुदायिक विद्यालयको शिक्षा सुधार हुने विश्वास लिएको छु । ’ पछिल्लो समय सामुदायिक विद्यालय प्रति आर्कषण घट्दो छ, अध्यक्ष रोकाले भन्नुभयो,–‘विश्वास बढाई शिक्षाको गुणस्तर बृद्धि गर्न स्थानिय जनप्रतिनिधिबाट यो अभियान अगाडी वढाईएको हो । ’
छोराछोरी नपढाए तलब संगै सेवासुविधा रोकिने
गाउँपालिकाले सरकारी तलब खानेले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा अनिवार्य पढाउनुपर्ने निर्णय गरेको छ । निर्णयको उलंघन गरेर सामुदायीक विद्यालयमा छोराछोरी नपढाउने जनप्रतिनिधि र सरकारी कर्मचारीको तलब रोक्का गरिने गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो । तलब भक्ता संगै गाउँपालिकाबाट सेवासुविधा समेत रोकिने अध्यक्ष रोकाले जानकारी गराउनुभयो। समाजमा कायम रहेको सामुदायिक र नीजि विद्यालयमा हुने विभेदलाई हटाउन गाउपालिकाले यस्तो निर्णय गरेको अध्यक्ष रोकाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अब हुने नयाँ विद्यार्थी भर्ना अभियानलाई लक्षित गरि यो अभियानलाई अगाडी वढाउने निर्णय गरिएको हो । ’
शिक्षकका छोराछोरीनै नीजिमा पढेपछि समस्या
शिक्षकका छोराछोरीहरु नै नीजि विद्यालयमा पढाईनाले सामुदायिक विद्यालयको गुणस्तर घटेको रोकाले बताउनुभयो । शिक्षकका छोराछोरी नीजिमा पढेको देख्दा अन्यले समेत पढाई राम्रो नभएको भन्दै सामुदायिक छाडेर नीजि विद्यालयमा पढाउने चलन वढेको थियो, उहाँले भन्नुभयो,–‘गाउँपालिकाले लिएको यो अभियानले सामुदायिक विद्यालय प्रति अभिभावकको माया वढने छ । ’
गाउँपालिका अध्यक्ष रोकाले नीजि विद्यालयमा पढ्दै आएकी आफ्नी छोरीलाई अब घर नजिकैको बागेश्वरी माध्यामिक विद्यालयमा भर्ना गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,–‘सरकारी तलब खाने गाउँपालिकाका सबै कर्मचारी, शिक्षक, जनप्रतिनिधि सबैले आफ्ना छोराछोरी सामुदायिक विद्यालयमा भर्ना गर्नुहुनेछ भन्ने विश्वास लिएको छु । ’ शिक्षा सुधारका लागि गाउँपालिकाले भर्ना अभियान चलाउने अध्यक्ष रोकाले जानकारी दिनुभयो । माण्डवी माध्यामिक विद्यालयमा अगे्रजी माध्यमबाट पठनपाठन शुरु गरेको र बागेश्वरी माध्यामिक विद्यालयमा नर्सरी, एलकेजी र १ कक्षामा नीजि विद्यालयकै पाठयक्रम लागु गरेको अध्यक्ष रोकाले बताउनुभयो ।
सामुदायिक विद्यालयमा ३० प्रतिशत लगानी
माण्डवी गाउँपालिकाले चालु आर्थिक वर्षमा कुल बजेटको तीस प्रतिशत रकम शिक्षा क्षेत्रमा विनियोजन गरेको छ । शिक्षा क्षेत्रलाई प्राथमिकतामा राख्दै गाउँपालिकाले यस चालु आर्थिक वर्षमा ६५ लाख रुपिँया रकम शिक्षा विनियोजन गरेको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।
गाउँपालिका भित्र २६ वटा विद्यालय छन् । स्थानीय चन्दा संकलन गरेर नीजि स्रोतमा राखिएका शिक्षकको ठाउँमा गाउँपालिकाले शिक्षक छनौट गरि पठाएको छ । एउटा विद्यालयमा एक जनादेखि चारजनासम्म शिक्षक पठाएको रोकाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ स्थानीयलाई चन्दा उठाएर शिक्षक पाल्नुपर्ने अवस्था हटेको छ ।’
१० प्रतिशत प्रोत्साहन भत्ता
शिक्षक आवश्यक नभएका विद्यालयमा एक लाख रुपिँयाको दरले अनुदान दिइएको छ । विद्यार्थी अनुपात कम भएका विद्यालयलाई अनुदान रकम दिइएको अध्यक्ष रोकाले बताउनुभयो । उक्त बजेटबाट प्रधानाध्यापकलाई तलवको दश प्रतिशत प्रोत्साहन भत्ता, माध्यमिक तहका लेखापाल, कार्यालय सहयोगीलाई थप एक हजार रुपिँया भत्ता दिइएको छ ।
प्रोत्साहन भत्ताले प्रधानाध्यापकदेखि कार्यालय सहयोगीसम्मलाई थप जिम्मेवार बनाउने अध्यक्ष रोकाले बताउनुभयो । उहाँले भन्नुभयो,–‘ विद्यालयको विकासका लागि थप काम गर्नुहुनेछ ।’ विद्यालयमा विभिन्न प्रतियोगिता सञ्चालन, उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने कार्यक्रम समेटिएको गाउँपालिका अध्यक्ष रोकाले बताउनुभयो ।

पत्रकार सागर रिजालले नयाँ पत्रिकामा यो समाचार लेख्नुभएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top