
सागर रिजाल
प्युठान,१६ चैत ।
प्युठानमा सरसफाई अभियान सुस्ताएको छ । ०६९ चैत १६ गते जिल्लालाई खुल्ला दिशामुक्त घोषणा गरिएको थियो । विभिन्न सूचकहरु पुरा गरेपछि खुल्ला दिशामुक्त जिल्ला घोषणा गरिएको हो । खुल्ला दिशामुक्त जिल्ला घोषणा हुनलाई प्रत्यक स्थानियतहका वडाहरुमा ८० प्रतिशत घरधुरीमा शौचालय निमार्ण भएपछि वडा हुदै समग्र जिल्लालाई घोषणा गरिएको थियो । यो अभियान लगत्तै यसले सरसफाईका विभिन्न सूचकहरु पार गर्नुपर्ने भएपनि अभियान सुस्ताएको कारण पूर्ण रुपमा सरसफाई यूक्त जिल्ला बन्न नसकेको हो ।
शनिवार नेपाल पत्रकार महासंघको ६४ औँ स्थापना दिवसको अवसरमा आयोजित प्युठान जिल्ला खुल्ला दिशामुक्त घोषणा २०६९ चैत १६ लाई स्मरण गर्दै पूर्ण सरसफाईको बर्तमान अवस्था विषयक अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले जिल्लालाई पूर्ण सरसफाई युक्त बनाउन नसकिएको बताएका छन् । सोही अवसरमा नीजि क्षेत्रको प्रतिनिधित्व गर्दै उद्योग वाणिज्य संघका अध्यक्ष केदारमान कक्षपतिले संघसंस्था, नीजि क्षेत्रले मात्र पहल गरेर सफल नहुँने भन्दै स्थानिय सरकारले दिर्घकालिन योजना बनाई नीजि क्षेत्र, संघसंस्थाको सहयोग अभियानलाई अगाडी वढाउनुपर्ने बताए ।
राज्यपूर्नसंरचनाले सरसफाई अभियानमा ढिलाई
राज्यपूर्नसंरचनाले सरसफाई अभियानलाई केहि अलमलाएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्युठानका सरसफाई फोकल प्रसन भगवता शर्माले बताईन् । उनले भनिन,–‘अहिले राज्यका सबै अंगहरु क्रियाशिल भएकाले अब नयाँ कार्ययोजनाका साथ अगाडी वढनुपर्छ । ’ सन् २०१७ सम्ममा जिल्लालाई पूर्ण सरसफाईयुक्त जिल्ला बनाउने साझा अभियान भएपनि स्थानिय, प्रदेश र संघका चुनाव तथा राज्यका विभिन्न ऐन, कानुनमा राज्य अलमल पर्नाले यो अभियानले पूर्ण सार्थकता पाउँन नसकेको उनले स्वीकार गरिन् । यो अभियानका लागि मन, वचन कर्मले प्रत्यक व्यक्ति , संघ संस्था, कार्यालय, स्थानिय तह अग्रसर हुनुपर्ने उनको भनाई छ । सन् २०१७ भित्र साविकका ४९ गाविस मध्य ३४ गाविसलाई पूर्ण सरसफाईयुक्त गाविस घोषणा गरिएपनि स्थानियतहले उक्त कार्यक्रमलाई निरन्तरता नदिदा अभियान ओझेलमा परेको उनी बताउछिन् ।
पानी अभावले अभियानमा समस्या
विकासको मुख्य सूचकका रुपमा लिईएको सरसफाई अभियानलाई भन्दा अन्य विकासका पूर्वाधार आयोजनाहरुलाई प्राथमिकतामा राख्दा यो अभियानले गति लिन नसकेको पत्रकार महासंघ जिल्ला शाखा प्युठानका अध्यक्ष ईमानसिंह भारतीले बताए । सरसफाई अभियानलाई पूर्णता दिन बस्तीमा खानेपानी आवश्यकता पर्ने भएकाले कैयौँ स्थानिय तहका बस्तीहरुमा दैनिक उपयोग गर्ने खानेपानी समेत नपाउँदा समस्या झेल्दै आएको उनले बताए । स्थानिय सरकारले खानेपानी संगै १ घर १ धाराको अवधारणा अगाडी नसारे अभियानले सार्थकता नपाउने उनको तर्क छ । स्थानिय सरकारले बैधता पाएपनि स्थानियरुपमा रहेको खानेपानी समस्यालाई कार्ययोजना बनाई हल गर्न नसकेकोले यस तर्फ सजग भएर काम गर्न उनले आग्रह गरेका छन् ।
अभियानलाई सार्थकता चाल्न पहलकदमी लिने
प्युठानको मुख्य केन्द्रका रुपमा रहेको प्युठान नगरपालिकाका १० वटै वडामा सरसफाईका गतिविधिलाई तिव्रता दिन अभियान थालेको नगर प्रमुख अर्जुन कुमार कक्षपतिले बताए । सरसफाई क्षेत्रमा काम गर्न र प्रत्येक वडामा १ घर १ धारा निमार्ण प्रक्रिया थालनी गर्न बाग्दुला र क्वाडीमा सोलारबत्ती जडान गरि पम्पीङ सिस्टमबाट पानी तानी नगरका शहरी क्षेत्रमा पानी वितरण गर्न अध्ययन शुरु गरिएको उनले बताए । वृहत खानेपानीले उक्त क्षेत्रलाई खानेपानी प्राप्त पु¥याउन नसकेको नगरबासीको गुनासो आएसंगै यो परियोजना सञ्चालन गर्ने उनले बताए । त्यसैगरि प्रत्येक वडाका गाउँबस्तीमा पनि जिर्ण खानेपानीलाई पूर्ननिमार्ण गरि व्यवस्थित गर्ने १ घर १ धाराको अवधारणा अगाडी वढाउने, खानेपानी नपुगेका बस्तीहरुमा मूलको संभाव्य अध्ययन गरि क्रमश खानेपानी पु¥याउने लक्ष्य लिएको उनले बताए ।
खानेपानीसंगै नगरबस्तीमा सरसफाईका गतिविधिहरुलाई संगसंगै लिएर अगाडी वढने उनको भनाई छ । प्रत्येक नगरबस्तीमा नगरसरसफाई समिति मार्फत सरसफाईको काम अगाडी वढाईएको उनले बताए । नगरपालिकाले आउँदो बैशाकसम्म सरसफाईको सुचाकांक पूरा गरेको वडा नंम्बर ६ माझकोटलाई पूर्ण सरसफाईयुक्त वडा घोषणा गरिने उनले बताए ।

महासंघले स्थापना दिवस मनायो
नेपाल पत्रकार महासंघको स्थापना दिवसको अवसरमा प्युठान शाखाले शनिवार बिहान प्रभातफेरी कार्यक्रम सञ्चालन गरेको छ । जुम्रीदेखी विजुवार नगरपालिका कार्यालय सम्म प्रभातफेरी गरि कालिका विकास केन्द्रको सभाहलमा प्युठान जिल्ला खुल्ला दिशामुक्त घोषणा २०६९ चैत १६ लाई स्मरण गर्दै पूर्ण सरसफाईको बर्तमान अवस्था विषयक अन्र्तक्रिया कार्यक्रम गरेको थियो । शाखा अध्यक्ष महाविर रानामगरको अध्यक्षतामा शुरु भएको कार्यक्रममा पत्रकारहरुको पेशागत सुरक्षाका विषयमा छलफल गरिएको थियो । पत्रकारिता पेशा निकै संवेदनशिल भएकाले यसले दिने शन्देशले जनतामा निकै ठूलो प्रभाव पर्ने भएको भन्दै सूचना दिदा संवेदनशिल भएर सम्पेषण गर्नुपर्ने अन्र्तक्रिया कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् ।
कमेन्ट गर्नुहोस !