आइतवार, असार ७, २०८३ | Sunday 21st June 2026

बत्ति मुनिको अँध्यारो गाउँ सापडाँडा , हेर्दैन स्थानिय सरकार


प्रकाश बैद्य
प्यूठान ÷ हु न त प्यूठान नगरपालिकाको केन्द्र बिजुवारबाट करिव २ कि.मि. को दुरिमा रहेको सापडाँडा गाउँ दुरिकोे हिसावले बजार क्षेत्रबाट नजिकै पर्ने गाउँ हो तर बिकासको लागि उचित योजनाको अभाव तथा स्थानिय निकायको ध्यान जान नसक्दा सापडाँडा गाउँ बत्ति मुनिको अँध्यारो जस्तै बनेको छ ।
मुलुकमा स्थानिय तहको निर्वाचन भयो , जनताले स्थानिय जनप्रतिनिधि चयन गरे ,स्थानिय सरकारको बिकासका कार्यबाट गाउँको मुहार फेरिने आशामा रहेका सापडाँडाका जनतालाई यतिबेला “ कागलाई बेलपाक्यो हर्ष न बिष्मात ” भने जस्तै भएको छ ।
शिक्षा स्वास्थ्य , यातायात तथा खानेपानी ,बिजुली लगायत विविध हिसावले सापडाँडा गाउँ पछाडि परेको छ । सापडाँडाका स्थानिय गोबिन्द राज नेपाली भन्दछन् “ हरेक हिसावले सापडाँडालाई पछाडि पारिएको छ । पहिलो कुरा त नगरपालिकाको अन्यत्र वडामा भएका बिकास निर्माण योजनाको तुलनामा प्यूठान न.पा. ३ अत्यन्त पछाडि परेको छ । शिक्षा स्वास्थ्य खानेपानी ,यातायत लगायत विविध हिसावले सवै तह र बस्तीमा जुन रुपले योजना बनाएर बिकास हुनु पर्ने हो सो हुन सकेको छैन र अर्को कुरा स्थानिय निकायका जनप्रतिनिधिहरुको जति ध्यान जानु पर्ने हो योजनागत रुपमा त्यति ध्यान पूर्याएको देखिदैन । ” सापडाँडा अमरे डाँडाको दलित बस्तीमा खानेपानीको उचित व्यवस्था नहुँदा गाउँका धेरैले निकै सास्ती भोगेको बताउँदै नेपालीले हरेक स्थानिय निकायले दलित बिपन्नका लागि भनेर विभिन्न कार्यक्रमहरु ल्याए पनि सापडाँडाका दलित समुदायले राहतको अनुभुति गर्न नपाएको बताउँछन् । हाल सालै बितरण गरिएको गरीवी परिचय पत्र बितरणमा आफुहरु जस्ता दलित ,गरीब तथा पिछडिएका बर्गहरु नपरी गाउँका हुने खाने धनि बर्गहरु गरीबको सुचिमा परेकोमा समेत नेपालीले दुःख व्यक्त गर्दछन् ।
सापडाँडा जाने सडकको पहिलो बिन्दुमा नै बाटोको व्यवस्थित नहुनु सापडाँडाबासीको मुख्य समस्या हो । जुमृ बसपार्क हुँदै सापडाँडा ओखरबोट जोड्ने मोटरबाटोको ० बिन्दुमा नै व्यवस्थित बाटो तथा जुमृखोलामा पक्की पुल निर्माण हुन नसक्दा सापडाँडा क्षेत्रका जनताले निकै सास्ती भोग्नु परेको छ । बर्षातको समयमा जुमृखोलाको बहाब ठुलो हुँदा सापडाँडामा कुनै बिरामी पर्यो भने एम्बुलेन्स जाने अवस्था पनि छैन भने बाटोकै समस्याले दैनिक सापडाँडा क्षेत्रबाट जुमृ घारीकुलो हुँदै यात्रा गर्ने मुक्ति मा.वि. मा पढ्न आउने बिद्यार्थी देखि लिएर जुम्री ,बिजुवार ,रातामाटा आउने यात्रुहरु पैदल पनि मुस्किलले यात्रा गर्नु पर्ने अवस्था छ । अरु त के कुरा गर्नु सापडाँडा क्षेत्रबाट सिसुवापाखाको घारीकुलो हुँदै प्यूठान न.पा. वडा न. ३ को कार्यालयमा जाने बाटो सम्म पनि व्यवस्थित गर्ने तर्फ स्थानिय सरकारको ध्यान जान सकेको छैन ।
जुमृ हुँदै सापडाँडा जाने बाटो व्यवस्थित नहुँदा बर्षेनी धेरैले पीडा खेपेको अवस्था छ । स्मरण रहोस घारीकुलोको अप्ठेरो बाटोमा लडेर सापडाँडाकै शिवराज पोख्रेलको १४ बर्ष पहिले मृत्यु भएको थियो । आजभोली घारीकुलामा मोटरसाइकल पल्टाउने , जुमृखोलामा गाडिहरु पल्टने तथा सर्वसाधारण लड्ने घटना समेत धेरै हुन थालेका छन् ।
गत हप्ताको बिहिवार रातामाटा पढ्न आउँदै गरेका एक बिद्यार्थीले जुमृ घारीकुलाको बाटोमा आफुहरुले खेपेको पीडा यसरी व्यक्त गरे “ हिउँदमा त जन तन बाटो अप्ठेरो भए पनि जुमृखोला सानो हुने हुँदा ढुक्कले हिडिन्छ तर बर्षा याममा खोलो उर्लेर ठुलो आउँदा कहिले काही बाटोमा खोलो हिड्दा सिसुवा पाखाको डाँडाबाट स्कुल जाने आउने गर्दछौ गत बर्ष एक दिन त साँझ स्कुलबाट फर्कदा अलि रात पर्न लागेकाले सिसुवा पाखाको बाटोमा बाघले लखेट्दा झण्डै ज्यानै गएन । ”
प्यूठान न.पा. ३ को चक्रिवा∙ ,मेथीखोलाबाट सुरु हुने सापडाँडा गाउँका जनता शुद्ध खानेपानी खानबाट समेत बञ्चित छन् । चक्रिवा∙ ,मेथीखोलाका जनताले खोलाको छेउँमा जम्मा भएको कुन्टाको पानी खान बाध्य छन् भने गुर्राटोला ,अम्मरेडाँडा हुँदै सापडाँडा दलित समुदायका जनताको पनि खानेपानी समस्या यस्तै छ ।
निश्चित मापदण्डमा आउने बजेटको पनि योजनागत उपयोग हुन नसक्दा र अर्को तर्फ प्यूठान नगरपालिकाको नजिकै पर्ने भए पनि नगरपालिकाबाट उचित ध्यान पुग्न नसक्दा सापडाँडा पछाडि परेको छ । जिल्लाका ठाउँ ठाउँ दुर दराजमा पक्की पुल धमाधम बनेका समाचार आए पनि सापडाँडाका जनतालाई यो पुल बन्ने सपना एकादेशको कथा भने जस्तै भएको छ । बर्षायाममा जुमृखोला ठुलो हुँदा बिजुवार जानु पर्ने अवस्थामा पक्की पुलको त के कुरा गर्नु झोलुंगे पुल समेत नहुँदा सापडाँडाका जनता जुमृखोला तर्न बल्ल तल्ल घारीकुलाको अप्ठेरो बाटो हुँदै रातामाटा पक्की पुलमा नै आउनु पर्ने अवस्था छ ।
प्यूठान न.पा. ३ मा आएको केहि बजेट मार्फत कृषि तथा सडकमा खर्च गरिए पनि बिकासको पूर्व योजना बनाई बजेट खर्च गर्ने व्यवस्था नहँुदा जुन रुपमा उपलव्धी हुनु पर्ने हो त्यति भएको देखिदैन । जस्तै यो बर्ष सडक मर्मत गर्ने काम भयो हिउँदको समयमा बाटो खनिन्छ तर बाटो वरी परी नालीको उचित व्यवस्था नहुँदा बर्षायाममा त्यो बाटो पहिलेकै जस्तै बन्दछ । सडकको ० बिन्दुमा बाटो निर्माण नगर्ने तर माथी माथी मात्र बाटो निर्माण हुँदा बाटोमा बजेट त खर्च भएको होला तर परिणाममा त्यो बजेटले त्यति सार्थकता पाएको देखिदैन ।
बिजुली पुगे पनि बिजुलीका लाइन बिस्तार तथा सेवामा बिद्युत प्राधिकरणको लापरबाहीले पनि सापडाँडा क्षेत्रका जनताले दुःख पाएका छन् । ठाउँ ठाउँमा गाडिएका काठका पोलहरु जीर्ण भए पनि हटाइएको छैन भने थप स्थानमा पोल गाड्न तर्फ पनि कुनै चासो देखाइएको छैन । अधिकांश दलित बस्ती तथा ब्रामण क्षेत्रीको बसोबास रहेको सापडाँडा गाउँ शिक्षाको हिसावले पनि पछाडि छ यहाँका धेरै युवा उचित शिक्षा रोजगारीको अभावमा भारतमा काम गर्न गएका छन् ।
जिल्लामा स्वास्थ्य तथा सरसफाईका विभिन्न अभियानहरु चलाइए पनि स्वास्थ्य तथा सरसफाइका हिसावले पनि सापडाँडा पछाडि परेको छ । सापडाँडा क्षेत्रका बिद्यालयमा किशोर किशोरी मैत्री शौचालय , साबुन पानी लगायतको व्यवस्था हुन सकेको छैन भने जिल्लाको पुरानो बिद्यालयको रुपमा रहेको शारदा आधारभुत बिद्यालय सापडाँडाको जुन मात्रामा स्तर उन्नति हुनु पर्ने हो सो पनि हुन सकेको छैन । नगर क्षेत्रका ठाउँ ठाउँमा फोहोर फाल्न बस्ती बस्ती गाडिहरु आउने व्यवस्था , फोहोर फाल्ने कन्टेनर लगायतको व्यवस्था गरिए पनि सापडाँडा गाउँमा यो कार्य पनि सम्विन्धत निकायबाट हुन सकेको छैन । नगरपालिकाका जनताले नगरपालिकाको मापदण्ड अनुसार अधिक मात्रामा कर तिरे पनि कर तिरे अनुसार सेवा पाउन सकेका छैनन् सापडाँडा क्षेत्रका बासिन्दाहरुले ।
सापडाँडाका स्थानिय एवं बृद्धिजिवी खिम बहादुर राउत भन्दछन् “सापडाँडाका जनतालाई बिकासका सन्दर्भमा कुनै चासो नभएको कारणले पनि सापडाँडा पछाडि परेको छ । जनताको हिजोकै परम्परागत सोँँच छ नजिकै अस्पताल छ ,बजार छ चलिरहेको छ भन्ने जस्तो हल्का ढंगले सोच्ने बानीका कारण जनता सक्रिय नभएकाले पनि समस्या समाधान नभएको हो र अर्को कुरा सापडाँडाले अहिले सम्म जनप्रतिनिधि पाएको थिएन र पाएर पनि अहिले जनप्रतिनिधिहरुले राम्रो काम गर्न सकेनन् । पहिलेकाले पनि गरेनन् र अहिलेका जनप्रतिनिधिहरुले पनि सापडाँडा क्षेत्रको बिकासको लागि उचित योजना बनाएर कार्य गर्न नसक्दा सापडाँँडा बत्तिमुनिको अँध्यारो जस्तै बनेको छ । ”
शिक्षा ,स्वास्थ्य सरसफाई बिजुली यातायात विविध हिसावले पछाडि परेको प्यूठान न.पा. ३ बिजयनगर सापडाँडा प्यूठान नगरपालिका नजिकै पर्ने गाउँ भए पनि बत्ति मुनिको अँध्यारो जस्तै बनेको छ यस विषयमा यहाँलाई के लाग्दछ ? भनि जिज्ञासा राख्दा बिजयनगरका स्थानिय एवं बर्षौ देखि सामाजिक कार्यमा खटेका बुद्धिजिवी तथा समाजसेवी गुमानराज पुलामीको धारणा यस्तो छ । “ विशेष गरी यो विषय पटक पटक उठान गरिएको हो । हामीले गाउँ बिकास समिति रहँदा पनि पटक पटक कुरा उठान गरेका हौ नगरपालिका स्तरमा पनि कुरा उठान गरेका हौ । सवै भन्दा महत्वपूर्ण कुरा त के हो भने सापडाँडाको बिकासका लागि जुमृहेल्थपोष्टबाट माथी निस्कने सडकको मुख बनाउने तर्फ जनप्रतिनिधिको पटक्कै चाहना नभएको एउटा बुझाई हो जुन जनप्रतिनिधिहरुले पनि गरेनन् र हिजो सत्तामा बस्नेहरुले पनि यो समस्यालाई महत्व दिएनन् । घारी कुला बाटोमा बिद्यार्थी ,हेल्थपोष्ट बिरामी , वडाकार्यालयमा आउने सेवाग्राहीहरु सजिलै आउन सक्ने बाटो छैन अझ सुत्केरी महिलाहरु,बिरामीहरुलाई जुमृखोला ठुलो भएको बेला बिरामीलाई बिजुवार पास गर्न सक्ने खालको सकिन्छ एम्बुलेन्स पास हुने नसके कमसेकम दुइ अढाई मिटर बाटो सम्म भए काम चल्दथ्यो सो बनाउन सम्म पनि हाल सम्म हिम्मत गरिएन । एद्यपी हामीले २०४८÷४९ सालमै बजेट बिनियोजन गराएर सापडाँडा बाटोको काम सुरु गरेका हौ हाल सम्म पनि यस्तो अवस्था हुनु दुःखको विषय हो । यसमा एउटा त सापडाँडा माथी तिरका जनताहरु सोच्न नसक्ने ,आफ्नो महत्वपूर्ण आवश्यक्ता के हो ? पहिलो प्राथमिकता के हो भन्ने ध्यान पनि नपुगेको हो कि जस्तो लाग्दछ र कसै कसैमा व्यक्तिगत स्वार्थ तथा कसै कसैले त्यसलाई बंग्याउने जस्ता व्यक्तिगत स्वार्थका कारणले पनि यस्तो भएको हो जस्तो लाग्दछ । २००८ सालमा स्थापित सापडाँडाको प्राथमिक बिद्यालय बल्ल तल्ल अहिले आधारभुत बिद्यालय भएको छ क्षेत्रका हिसावले हाल सम्म माध्यमिक हुनु पर्ने हो सो भएको छैन । बिकासको मेरुदण्ड नै सडक भएकाले सडक व्यवस्थित हुन नसक्दा र जुमृखोलामा पुलको पनि व्यवस्था हुन नसक्दा सापडाँडा पछाडि परेको हो । यस विषयमा मेथीखोला , गुरुवाटोला, सापडाँडा , कुवापानी , ओखरबोट ,घुर्चौने लगायत त्यस क्षेत्रका जनता अलि बढि गम्भिर हुन जरुरी छ । सापडाँडा क्षेत्रको यो समस्यामा नेताजीहरुको पनि दृष्टि पुग्न सकेन ,जनप्रतिनिधिहरुको पनि दृष्टि पुग्न सकेन र हामी त्यस क्षेत्रमा बस्ने जनताहरुले पनि मुख्य समस्यालाई महत्व दिन सकेनौ यसले गर्दा हामी पछाडि पर्यौ कि जस्तो लाग्दछ । ”
शिक्षा स्वास्थ्य ,यातायात ,खानेपानी लगायत विविध हिसावले पछाडि परेको सापडाँडा क्षेत्रको समस्याका सन्दर्भमा प्यूठान न.पा. ३ का अध्यक्ष प्रेम बहादुर हमाल भन्दछन् “सापडाँडा क्षेत्रको समस्याका सन्दर्भमा कुरा गर्दा समग्रमा नगरपालिकाको हिसावले ३ न. वडाको बजेट नपरेको त होइन बजेट समानुपातिक रुपमा अन्य साविकका वडा भन्दा बढि नै विनियोजन भएको छ गत बर्ष पनि बाटो ग्राबेल भनेर ८ लाख विनियोजन भएका थियो भने बतासे डाँडा भर∙ा भनेर ५ लाख बाटोमै छुटिएको थियो । यस वर्ष पनि घारीकुलाबाट माथी ग्राबेल भर∙ा सम्म ८ लाख बिनियोजन भएको छ । खानेपानी व्यवस्थित गर्ने भनेर ६ लाख सापडाँडालाई बिनियोजन भएको छ । समग्रमा सोचे जति हामी बिकास गर्न नसके पनि नगरपालिकाबाट वडालाई आएको बजेट निश्चित मापदण्ड अनुसार खर्च गरिएको छ । यो वर्ष माथीको तुलनामा मुहान क्षेत्र घारीकुला क्षेत्रमा बढि खाल्डाखुल्डी देखिएकाले यस क्षेत्रमा सडक मर्मत गर्ने योजना हाम्रो रहेको छ । ”
आखिर थोरै मात्रामा भए पनि बजेट बर्षेनि बिनियोजिन हुने गर्दछ तर समस्या जस्ताको त्यस्तै छ । बजेट बजेटका लागि मात्र खर्च गरिने परिपाटि अब सुधार गर्नै पर्दछ । बजेट परिणाम मुखि हुनु पर्दछ आम नागरिकको माग यहि हो । फुलमाला लाउन मै बढि जोड गर्ने जनप्रतिनिधिहरुको सापडाँडा जस्ता यस्ता बास्तविक बिकासको पहुँच नपुगेका गाउँहरुको बिकासमा ध्यान जान जरुरी छ । कार्यक्रमको अनुगमन भन्दै पटक पटक माला लाउँदै हिड्ने तर वास्तविक बिकासको आवश्यक्ता नबुझि गरिएको बिकास कार्यको कुनै अर्थ रहदैन भन्ने कुरा स्थानिय सरकारका प्रतिनिधिहरुले बुझ्न जरुरी छ । सापडाँडाको बिकासका लागि उचित योजना बनोस ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top