
शिवराज पण्डित(पीएचडी)
प्रत्येक व्यक्तिले विद्यालय तह देखि विश्वविद्यालय तह सम्मका पाठ्यपुस्तक र सन्दर्भ सामाग्रीहरु अध्ययन गर्दा धैरै कितावी ज्ञान प्राप्त गरेको हुन्छ । ती कितावीे ज्ञानले मानिसलाई थप उत्सुक र जिज्ञासु बनाएको हुन्छ । कितावी ज्ञान र अनुभवले मानिसलाई उत्सुक र जिज्ञासु नबनाउंदो हो त संसारमा नयां–नयां खोज र आविष्कारहरु हुने थिएनन् । नयां दर्शन र विचारहरु पनि जन्मने थिएनन् । कितावी ज्ञानलाई परीक्षण गर्ने महत्वपूर्ण औजार हो, अध्ययन अवलोकन भ्रमण । मैले विद्यालय तहको अध्ययन पूरा गर्दै गर्दा मेरो मनमा कितावी ज्ञानले धैरै उत्सुकता जगाएको थियो । तिनै उत्सुकता र जिज्ञासा मेटाउने क्रममा एशिया महादेशका केही देशहरुको भ्रमण गरिसकेको छुं । अध्ययन अवलोकनका क्रममा प्राप्त अनुभूति र सिकाईहरु मेरो मानसपटलमा अझै ताजै छन् । कतिलाई लिपिवद्ध समेत गरेको छुंं । कोभिड महामारीका कारण झण्डै दुई वर्ष विदेश यात्रामा विराम लाग्यो । अनुभव र निरन्तर सिकाइबिना मानिस अपूर्ण रहन्छ भन्ने सार्वभौंम मान्यता रहंदै आएको छ । यहि मान्यतालाई आत्मसात् गर्दै गत् फागुनको पहिलो हप्ता अफ्रिकी महादेशमा पर्ने देश इजिप्टको भ्रमण गर्ने अवसर मिल्यो । भ्रमणको अनुभूति र सिकाईलाई पाठकहरु समक्ष पस्कने विगत्को परम्परालाई यसपटक पनि पुनरावृत गरेको छुं ।
अनुभूति ः
महान वैज्ञानकि आइस्टाइन अनुभववादी दार्शनिक डेभिड ह्युमको दर्शनबाट प्रभावित थिए । डेभिड ह्युम व्यवहारवादी दार्शनिक जोन लक र वर्कलेबाट प्रभावित थिए । ह्युम ठान्दथे, “अनुभूतिविनाको ज्ञान काम लाग्दैन” ।
संसारका प्रत्येक देशहरुको आ–आफनो छुट्टै मौलिक इतिहांस छ । कुनैपनि देशको इतिहांस, परम्परा,रितिरिवाज,कला संस्कृति एक अर्काेसंग आधारभूत रुपमा मेल खांएको देखिदैन । देशलाई चिनाउने माध्यम भनेका प्राकृतिक सौन्दर्यता, ऐतिहासिकता र पुरातात्विक बस्तुहरु हुन । प्राचीन ७ आश्चर्यहरु मध्ये एक आश्चर्यको रुपमा परिचित र विश्व चर्चित गिजा पिरामिड (४५००वर्ष पुरानो) इजिप्टको मात्रै पहिचान नभै संसारकै आश्चर्यको विषय हो भन्ने कुरा सुन्दै र अध्ययन गर्दै आएको थिए,भ्रमणले स्वंयम आफ्नै आंखाले अवलोकन गर्न पाउंदा छुट्टै प्रकारको अनुभूति भयो । आज भन्दा झण्डै ४५०० वर्ष पहिले लाखौं मानिसले एक दशक भन्दा बढी समय लगाएर निर्माण गरिएको भनिएकोे भिमकाय पिरामिड (१९३ मि.अग्लो) ले त्यो समयका मानिसहरुमा रहेको धैर्यता , लगनशिलता र सामुहिकताको प्रतिविम्वन थियो । चौथो शताव्दीका राजा फराह खुपुले निर्माण गरेका ३ पिरामिणहरु (बाबु,छोरा र नाती) ले ३ पुस्ताको स्मृतिलाई झल्काउंथ्यो । फरक फरक स्थानमा निर्माण गरिएका यी ३ पिरामिडहरु बाहेक ६ वटा होचा पिरामिड पनि निर्माण गरिएका रहेछन् । ति होचा र साना पिरामिडहरु रानीहरुको स्मृतिमा निर्माण गरिएको भन्ने जानकारी गराइयो ।
स्नात्तक तह अध्ययन गर्दा अनिवार्य अंग्रेजी विषयमा एकजना पश्चिमा साहित्यकारले नाइल नदी र गौंथलीको विषयमा बढो रोचक ढंगले गद्यात्मक शैलीमा निवन्ध लेखेका थिए । त्यो निबन्धको अध्ययनले संसारको लामो नाइल नदिको अवलोकन गर्र्ने हुटहुटी जगाएको थियो । यो हुटहुटि मेटाउने अवसर बन्यो इजिप्ट भ्रमण । नाइल नदी अफ्रिकी महादेशको युगाण्डाको भिक्टोरिया तालबाट सुरु भै कङ्गो,तान्जनिया,बुरुण्डी,इजिप्ट लगाएत ११ वटा देशहरु पार गरी भूमध्य सागरमा मिल्दो रहेछ । नाइल नदीको ११ औं गन्त्व्य देश इजिप्ट रहेछ ।
भूगोलको दृष्टिले नेपाल भन्दा झण्डै १० गुणा (१०,००१४५० कि.मि.) ठूलो देश इजिप्टको १० प्रतिशत जमिन मात्र उव्जाउ भूमि रहेछ भने बांकि ९० प्रतिशत भूमि मरभूमि रहेछ । नाइल नदिको आसपासको १० प्रतिशत जमिन मात्र उव्जाउ भएकोले नाइल नदिलाई इजिप्टीयन जनताको जिवन रेखा भनिएको रहेछ । सायद नाइल नदि नहुंदो हो त इजिप्ट भन्ने देश र मानव बस्तीको कल्पना हुंदैन्थ्यो जस्तो लाग्यो । नाइल नदिमा तैरेका तीन तले जहाज र रात्रिकालिन समयमा जहाज भित्र देखाइएको इजिप्टीयन संस्कृति झल्कने शास्त्रीय र आधुनिक नृत्य पनि उत्तिकै हेर्न लायक र रोचक थियो ।
इजिप्टमा हेर्ने लायक अर्को ठाउं रहेछ अलेक्जेण्डिेरिया शहर र भूमध्य सागर । भूमध्य सागरको किनारामा अवस्थित अलेक्जेण्डिेरिया शहर झण्डै २३०० वर्ष पुरानो रहेछ । जवकि इजिप्टको राजधानी कायरो १००० वर्ष पुरानो । अलेक्जेण्डेर राजाको नाउंबाट यो शहरको नामाकरण गरिएको रहेछ । दोस्रो विश्वयुद्ध ( सन् १९३९–१९४५) मा इजिप्टका ४५ हजार सेनाले विरगती प्राप्त गरेका रहेछन् । ती वीर अमर सैनिकहरुको संझनामा अलेक्जेण्डिेरिया शहरमा युद्ध संग्रालय सहितको अमर सैनिक स्मृति भवन समेत निर्माण गरिएको रहेछ । माध्यमिक तहमा भूगोल अध्ययन गर्दा भूगोल शिक्षकले विश्व मानचित्र झल्कने ग्लोव देखाउंदै भूमध्य सागरका बारेमा अध्यापन गरेको विषय मानस पटलमा ताजै थियो । त्यो सागरको किनारामा बसेर फोटो खिच्दा छुट्टै आनन्द आयो । यो सागरले दक्षिण युरोप,एशिया र उत्तर अफ्रिकालाई जोड्दो रहेछ । हाम्रो भ्रमण दललाई पथ प्रर्दशक गर्ने मिटुले भूमध्य सागरमा तैरेका जहाज देखाउंदै भन्दै थिए, पानी जहाजको यात्राबाट सबै भन्दा नजिक युरोपको माल्टा पर्दछ ,त्यसपछि इटाली,पर्चुगल आदि देशहरु पर्दछन् ।
इजिप्ट भ्रमणको अन्तिम दिन स्वेयज नहरको अध्ययन अवलोकन गरियो । इजिप्टको पिरमिडपछि मानव श्रमको उच्चतम् सामुहिक प्रयत्नकोे परियोजना रहेछ स्वेयज नहर । यो नहर सन् १८५९ मा निर्माण सुरु भै सन् १८६९ मा सम्पन्न भएको रहेछ । नहर निर्माण गर्न १० वर्ष लागेको रहेछ । १० लाख मानिसहरुले उक्त नहर निर्माणमा प्रत्यक्ष योगदान गरेका रहेछन् । नहर निर्माण गर्दा १ लाख ५० हजार श्रमिकहरुको ज्यान गएको रहेछ । भूमध्य सागर र लाल सागरलाई जोड्ने १९३.३० कि.मि. लम्वाई भएको स्वेयज नहरलाई युरोप र एशिया जोड्ने महत्वपूर्ण जल मार्गको रुपमा लिइन्छ । यो नहर अमेरिकाको पानामा नहरपछिको संसारको दोस्रो ठूलो नहरको रुपमा चिनिन्छ । इजिप्ट सरकारको राष्ट्रिय आयको मूख्य आयस्रोतको रुपमा रहेको यो नहरबाट गत् वर्ष (सन् २०२२) मा मात्र ७ अरब अमेरिकी डलर कर उठेको रहेछ । संसारका बन्दरगाहहरुबाट उठ्ने कूल करको ८ प्रतिशत हिस्सा स्वेयज नहरको रहेको तथ्यांक भेटिन्छ । वार्षिक औषत २० हजार पानी जहाज यो नहरबाट आउने– जाने गरेको पाइयो । स्वेयज नहरको किनारामा बसेर स्वेयज नहर माथि तैरेका गन्तव्यस्थल तर्फ ओहोर दोहोर गर्दै गरेका पानी जहाज हेर्दा आनन्दको छुट्टै अनुभूति भयो ।
सिकाइ ः
सिकाई मानव जीवनको स्वभाविक र गतिशील प्रक्रियो हो,जो जीवनभर चल्दछ । हरेक नयां सिकाईबाट ज्ञानको संगठन या पुनर्गठन भैरहेको हुन्छ । यो प्रक्रियाबाट मानिसले नयां ज्ञान प्राप्त गर्दछ । सिकाईमा स्मृति र विस्मृतिको ठूलो भूमिका हुन्छ । पुराना कुराहरु विस्मरण हुंदै जान्छन् र नयां कुराहरु स्मरण हुंदै जान्छन् । मानिसले जव नयां कुरा देख्दछ,अनुभव गर्दछ तव नयां ज्ञान र सिप आर्जन गर्दछ । व्यवहारवादी दार्शनिक डेभिड ह्युमले भने जस्तो अनुभूति विनाको ज्ञान काम लाग्दैन । अनुभूति ज्ञानिन्द्रयको माध्यमबाट प्राप्त हुन्छ । कुनै पनि नयां बस्तु, स्थान या घटनाको प्रत्यक्षीकरणबाट अनुभूति प्राप्त हुन्छ । अध्ययन अवलोकनले अध्ययन गरेको बस्तु या घटना प्रति थप स्पष्टता,बस्तुनिष्टता र विश्वसनियता बढाइ सिकाइलाई प्रभावकारी बनाउंन सहयोग पुरयाउंछ ।
इजिप्ट भ्रमणले विद्यालय तह देखि विश्वविद्यालय तह सम्म अध्ययन गरेका पाठ्यपुस्तकहरुले समेटेका विषयबस्तुलाई प्रत्यक्षीकरणको माध्यमबाट परीक्षण गरी नयां चेतना निर्माणमा सहयोग पुगेको सिकाई अनुभूति भएको छ । पिरामिण र स्वेयज नहरको अध्ययन अवलोकनबाट सामुहिक र निरन्तर प्रयासबाट असंभव लाग्ने अफ्ठरो या असहज कुरा पनि धैर्यता र लगनशिलताले संभव हुंदो रहेछ भन्ने सिकाई भयो । नाइल नदिको अध्ययन अवलोकनबाट प्रकृति, मानव र विकास बीचको अन्तरसम्बन्धलाई अझै गहिरिएर बुझ्न र तत्सम्बन्धमा थप अध्ययन गर्न प्रेरणा मिलेको छ । भूमध्य सागरको किनारामा बसेर जल सागरको अन्तहिन सिमा र सागर माथि तैरिएका ब्रगेल्ती भिमकाय पानी जहाज देख्दा देश विकासका लागि सामुन्द्रिक तटको कति महत्व हुंदो रहेछ भन्ने कुरा आत्मानुभूति भयो भने भूपरिवेष्टित देशको नागरिकको हैसियतबाट भूमध्य सागरको किनारमा उभिंदा पीडावोध समेत भयोे ।
कमेन्ट गर्नुहोस !