सागर रिजाल
प्युठान, ३ साउन ।
प्युठानमा बालसंरक्षण गृह बन्न सकेको छैन् । एक वर्ष पहिले नै बाल संरक्षण गृह सञ्चालन हुने भनिएता पनि हाँल सम्म पनि सञ्चालन हुन नसकेको हो । गत वर्ष कार्तिक १७ गते गृह सञ्चालन गर्नका लागि जिल्लाका नौ वटै स्थानिय तहका प्रमुख, प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय समितिका समन्वय अधिकारी, बालसञ्जालका जिल्ला अध्यक्षको सयुंक्त बैठक बसी गृह सञ्चालन गर्ने भनिएता पनि अझै पनि सञ्चालन नभएको जिल्ला बालसञ्जाल प्युठानका अध्यक्ष प्रेमबहादुर विश्वकर्माले बताउनुभयो । उहाँले भन्नुभयो,–‘बाल संरक्षण बनाउने कुरा बैठकमा मात्र सिमित भयो । ’
जिल्लामा बालसंरक्षण गृह आवश्यकता देखी सबै स्थानिय तहले बजेट विनियोजित गरेपनि बालसंरक्षण गृहको जिम्मेवारी कसले लिने भन्ने अन्यौल हुँदा बालसंरक्षण गृह सञ्चालन हुन नसकेको जिल्ला बालसञ्जाल अध्यक्ष विश्वकर्माले बताउनुभयो । जिल्ला प्रशासनले जिल्ला समन्वयको बाटो हेर्ने र समन्वयले के गर्ने भन्ने अन्यौलमा फाईल नखोल्दा गृह सञ्चालन नभएको उहाँ बताउनुहुन्छ । ‘सबै स्थानियतहहरु गृह सञ्चालनका लागि तयार हुनुहुन्थ्यो, अध्यक्ष विश्वकर्माले भन्नुभयो,–‘लामो समयसम्म जिल्ला समन्वयले आधिकारिक निर्णय लिन नसक्दा गृह सञ्चालनको काम रोकीएको हो । ’
१८ लाख ६० हजार रुपिँया विनियोजित
बालसंरक्षण गृह सञ्चालनका लागि जिल्लाका दुई नगरपालिका र ७ गाउँपालिकाले आर्थिक वर्ष ०७५÷०७६ मा विनियोजित गरेको १८ लाख ६० हजार रुपिँया फ्रिज भएको छ । गृह सञ्चालनका लागि दुई नगरपालिकाबाट रु ३÷३ लाख गरि ६ लाख रुपिँया र सात गाउँपालिकाबाट प्रति गाउँपालिका रु एक लाख ८० हजार गरि १२ लाख ६० हजार रुपिँया गरि जम्मा १८ लाख ६० हजार रुपिँया बजेट विनियोजन भएपनि काम नहुँदा रकम विनियोजित भएको बालञ्जाल अध्यक्ष विश्वकर्मा बताउनुहुन्छ ।
सबै स्थानिय तहका जनप्रतिनिधिहरु प्रतिवद्ध भएर संरक्षण गृह सञ्चालनका लागि बजेट विनियोजन गर्दा समेत काम नहुनाले आफु दुखी भएको अध्यक्ष विश्वकर्माले बताउनुभयो । यस आर्थिक वर्षमा बजेट विनियोजन भएरपनि गृह सञ्चालन नहुँदा आगामी वर्ष पनि सञ्चालन हुने नहुनेमा अन्यौलता रहेको उहाँले बताउनुभयो । गृह सञ्चालनमा आएपछि अभिभावक विहिन बालबालिकालाई जिल्ला बाहिर पठाउने बाध्यता हटने विश्वास लिएपनि आफ्नो कार्यकालमा यो काम पुरा गर्न नसकेको अध्यक्ष विश्वकर्माले बताउनुभयो ।
अभिभावक विहिन बालबालिकालाई समस्या
जिल्लामा बालसंरक्षण गृह नहुँदा समस्या भएको छ । अभिभावक विहिन बालबालिकालाई संरक्षण गर्नका लागि समस्या भएको सञ्जालका अध्यक्ष विश्वकर्माले बताउनुभयो । जिल्लामा धेरै अभिभावक विहिन बालबालिका भेटिनुहुन्छ, उहाँले भन्नुभयो,–‘जिल्लामा गृह नहुँदा बाहिरी जिल्लामा पठाउनुपरेको छ । ’ हाँलसम्म २१ जना अभिभावक बालबालिकालाई जिल्ला बाहिर पठाएको तथ्यांक भएको उहाँले जानकारी गराउनुभयो । जिल्ला बालकल्याण समिति र महिला तथा बालबालिका कार्यालय खारेज हुँदा समस्या आएको बालसञ्जाल अध्यक्ष विश्वकर्मा बताउनुहुन्छ । एक वर्षको समयमा धेरै पटक प्रमुख जिल्ला अधिकारी, जिल्ला समन्वय प्रमुख संग छलफल गर्दा समेत यस प्रति चासो नदिएको अध्यक्ष विश्वकर्माले दुखेसो पोख्नुभयो ।
बाल संरक्षण गृह सञ्चालनका लागि सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीको संयोजकत्वमा मुल्यांकन समिति गठन गरिएको थियो । जिल्ला सदरमुकाम खंलगामा गृह संञ्चालन गरिएपनि कुन संस्थाले सञ्चालन गर्ने भन्ने विषयमा छलफल गर्नका लागि समिति गठन गरिएको सहायक प्रजिअ पन्थीले बताउनुभयो ।
प्रक्रियामा गएपनि रकम नआउनाले काम शुरु भएन
बालसंरक्षण गृह सञ्चालनका लागि मल्लरानी गाउँपालिकालाई अनुमति दिईएको सहायक प्रमुख जिल्ला अधिकारी यज्ञश्वर पन्थीले जानकारी दिनुभयो । मल्लरानी गाउँपालिकाले अनुमति पाएपनि अरु स्थानीयतहबाट रकम नपठाईदिदा काम नभएको सहायक महिला विकास निरिक्षक रेवती न्यौपानले बताउनुभयो । विनियोजित बराबरको रकम स्थानिय तहका प्रमुखलाई पठाईदिनका लागि बारम्बार फोन गरेपनि रकम नपठाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो,–‘अन्तिममा आएर आर्थिकले यो काम रोकियो । ’
कमेन्ट गर्नुहोस !