आइतवार, जेष्ठ १७, २०८३ | Sunday 31st May 2026

कोरोना उपचारमा खटिने स्वास्थ्यकर्मीलाई खानेवस्ने सुविधा


राधिका भुसाल
प्यूठान । होटल व्यवसायी संघ प्यूठानले कोरोना संक्रमण भएका व्यक्तिको उपचार (आइसोलेसन वार्डमा) खटिएका स्वास्थ्यकर्मीहरुलाई खाना र वासको व्यवस्था गर्ने भएको छ । कोरोना संक्रमितहरु बढ्न थालेपछि स्वास्थ्यकर्मीहरुलाई व्यवस्थापन गर्नका लागि जिल्ला संघको सोमबार बसेको बैठकले यस्तो निणर्य गरेको हो ।
विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसका कारण दिनानुदिन बढ्दै गएको संक्रमितहरुलाई व्यवस्थापन गर्नका लागि स्वास्थ्यकर्मीलाई खानबस्ने सुविधा दिइने होटल व्यवसायी संघ प्यूठानका अध्यक्ष गञ्ज बहादुर थापाले बताए । ‘लामो समय देखि लकडाउनको मारमा परेका छौं हामी व्यवसायीहरु’ अध्यक्ष थापाले भने–‘तर, कोरोना संक्रमितको उपचारमा खटिएका स्वास्थ्यकर्मीको मनोबल उच्च राख्नका लागि सक्दो सुविधा दिन तयार भएका छौं ।’ जिल्ला प्रशासनले स्वास्थ्यकर्मीलाई खानवस्ने सुविधा दिन आग्रह गरेसंगै संघको बैठक बसी उक्त निर्णय गरेको उनले बताए । यससंगै जिल्लामा घरभाडामा लिइ सञ्चालनमा रहेका होटलहरुको हितका लागि घरमालिकसंग लकडाउन अवधिको घरभाडा छुट तथा बैंकलोन लिएकालाई व्याजदर छुट गरिदिन अनुरोध गर्ने निर्णय गरिएको संघले जनाएको छ ।
भ्रमण वर्ष २०२० लाई सफल पार्न मुख्य भुमिका खेल्ने होटल व्यवसायी र यातायात व्यवसायीहरु लकडाउनको मुख्य समस्या परेका छन् । लकडाउन समयावधि लम्बिएसंगै जिल्लाको पर्यटन क्षेत्र, होटल व्यवसायी र उद्योगीहरु बढि मारमा परेको व्यवसायीहरु बताउछन् । जिल्लाका नौ वटै स्थानिय तहमा होटल व्यवसायी संघमा आवद्ध भई करिब ६ सय ५० होटल व्यवसायीहरु रहेको होटल व्यवासायी संघ प्यूठानका अध्यक्ष थापाले बताए । उनका अनुसार चैत १० गतेबाट नै जिल्लाका होटल व्यवसायीहरुले व्यवसाय बन्द गरि बसेका छन् । बैकलोनमा २० देखी ३० लाखसम्म लगानी गरि घरभाडा लिएर होटल सञ्चालन गरेका व्यवसायीहरु झनै समस्या परेको उनले बताए ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top