मङ्लबार, जेष्ठ १९, २०८३ | Tuesday 2nd June 2026

अध्यारो बस्तीका उज्यालो तारा : महाविर राना



बिगतमा आवाजबिहिनहरुको आवाज दिने रजवाराको सिरानमा रहेको अध्यारो मेंद्रावान बस्तीका उज्यालो तारा हुन महाविर राना । समग्र प्यूठान जिल्लाको बिकासको मानकमा यहाँ रहेका ९ स्थानीय तह मध्ये पछाडि पारिएको पालिका हो गौमुखी । भौगोलिक बिकटताले पनि धिक्कारिरहेको छ यहाँका जनसमुदायलाई । जसका कारण शिक्षा,स्वास्थ्य, यातायात तथा रोजगारीका क्षेत्रमा यहाँका जनसमुदायले कठिन संघर्ष गर्नु परिरहेको छ । बिकासका लागि आबश्यक पर्ने मानव संशाधनदेखि भौतिक पूर्वाधार लगायत सवै आलोकबाट हेर्दा पछाडि पारिएको जिल्लाको उत्तरी क्षेत्र गौमुखीका लागि केन्द्रमा सहज रुपमा राजनीतिक पहँुच पुग्न सकिरहेको छैन । नत राजनीतिक शक्ति केन्द्रले गौमुखीलाई चिन्न र बुझ्न सकेको छ । यही पृष्ठभूमिमा पछिल्लो समय गौमुखीबासीका आशा र भरोसाका केन्द्र बन्न पुगेका छन् महाविर राना ।

No description available.
हाम्रो समाजमा कुनैपनि मनुष्यमात्र होइन हरेक प्राणीलाई जनाउने र चिन्ने नाम राखिएको हुन्छ । यसमा कतिपयको नाम अनुसारको काम अनि स्वभाव मिलेको हुँदैन भने कतिपयको काम अनुसारको नाम जुरेको हुँदैन तर कामैले नाम कमाएका पात्र हुन महाविर । अहिले उनी उमेरले ४० को नजिक टेक्दैछन् । यो युवा उमेरसम्म आइपुग्दा उनमा लामो संघर्षपूर्ण अनुभूतिको सूची छ । राजनीतिक जीवनका अनेक संघर्षबाट उक्लदै, सामाजिक क्षेत्रमा गरिएको त्यागले एउटा बिश्वासको उचाई कायम गर्दै हाल उनी गौमुखीवासी जनताको हृदयको गहिराइमा छन् । गत ०७९ बैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनमा सर्बाधिक रुपमा बिश्वासको मतलिएर पालिकाको उपाध्यक्षको जिम्मेवारी छन् उनी यतिबेला । जनताले दिएको जिम्मेवारीलाई पुरा गर्न अहिले अहोरात्र समर्पित भएर लागि परेका छन् ।

No description available.

बुवा नर बहादुर राना र आमा हिमादेवीको कोखवाट २०४१ साल कार्तिक ५ गतेका दिन जन्मेका महाविर राना मगरको जीवन इतिहास केलाउने हो भने उमेरले अहिले पनि उनी कलिलै छन् तर राजनीतिक सुझबुझ अनि परिपक्वता तथा जनताप्रतिको उत्तरदायित्वको सवालमा पाका र जिम्मेवार ब्यक्ति हुन । उनका भोगाई र अनुभव हेर्दा समकालीन युवा पुस्ताका लागि अनुसरणयोग्य पक्ष छन् । उमेरको १४ बर्षमै राजनीतिक लगावमा परेका उनका लागि पारिवारीक बाताबरण प्रेरणाको स्रोत बन्यो । ०५४ सालको स्थानीय निर्वाचनमा आफ्नो बुवा रजवारा गाउँबिकास समिति अन्र्तगत राष्टिय जनमोर्चाबाट वडाध्यक्षमा निर्वाचित भए । जसले गर्दा घरमा कम्युनिष्ट पार्टीका नेताहरु घरमा आउने जाने क्रम चल्यो । परिवार राजनीतिक बातावरणमा रहेपछि यसको प्रभाव उनमा पर्नु स्वभाविकै भयो । ज्ञानोदय प्रावि लामीबगर रजवाराबाट प्राथमिक तह अध्ययन भ्याएका उनी मावि तहको अध्ययनका लागि ०५५ सालमा गौमुखी माबि ठूलाबेसीमा बास गर्न थाले । त्यो शिलशिलामा उनी अखिल छैठौंको इकाईमा आबद्ध भए । काम गर्दै आउदा ०५७ सालदेखि इकाई सभापति भई सांगठनिक नेतृत्वमा पुगे । यता समयले परिबर्तनका लागि उथलपूथलकारी संघर्षको माग गरिरहेको थियो । यसैका कारण माओबादीले २०५२ सालदेखि थालेको सशस्त्र युद्धले राज्य पक्ष आफ्नो शक्तिबाट सांघुरिंदै गएको थियो भने गाउँगाउँमा माओबादीको चहलपहल देखिन्थ्यो , माओबादीको जन जागरण अभियानदेखि सांगठनिक बिस्तारले तीब्रता दिइरहेको थियो । तत्कालीन राष्टिय परिस्थिति र माओबादीले उठाएको एजेण्डाले महाबिरमा पनि बिद्रोही चेतको भावना जाग्यो । जसका कारण स्वतस्फूर्त निर्णय लिई माओबादी आन्दोलनमा होमिए उनी । ०५७ सालताका बिद्यार्थी नेता देबन्द्र थापा, खगेश्वर केसी कमिटी बिस्तारका लागि ठूलाबेसी छिरे ।

No description available.

भूमिगत ढंगले बसन्त न्यौपानेको घरमा कमिटी गठन गर्ने काम भयो उनी अध्यक्ष चुनिए । बिस्तारै उनमा राजनीतिक चासो बढ्दै गयो । २०५८ साल मंसिर ११ गतेदेखि उनी पूर्णकालीन कार्यकर्ताको रुपमा आफ्नो जीवन राजनीतिमा सुम्पिए । त्यस पछाडिका दिनमा उनले आफ्नो जीवन राजनीतिक क्षेत्रसंगै पत्रकारिता र अन्य सामाजिक संस्थामा समानान्तर रुपमा बढाउदै लगेको पाइन्छ ।
सशस्त्र युद्धताका माओबादी आन्दोलनभित्र युद्ध पत्रकारिताको अभ्यास बेजोड रुपले चलेको थियो । त्यसैक्रममा ०६० सालमा देशका ५ बिकास क्षेत्रमा रेडियो संचालन भएको थियो । त्यो प्रक्रियामा उनी रेडियो जनगणतन्त्र राप्तीमा आबद्ध भए । त्यस क्रममा प्यूठानका अर्का होनहार युवा सुदर्शन मंगोलले पनि उच्च भूमिका प्रदर्शन गरेका थिए । यता माओबादी पार्टी पुर्नगठनको क्रममा ०६० सालमै तुक बहादुर रोका सेक्रेटरी रहेको १३ सदस्यीय जिल्ला पार्टी कमिटीमा सवैभन्दा कान्छो उमेरका उनी महाविर पनि जिम्मेवारीमा जोडिन पुगे । क्रमशः ०६२ सालदेखि १ नं एरिया हालको गौमुखी क्षेत्रमा पार्टी इन्चार्जको भूमिकामा आइपुगे । देश, जनता र पार्टीप्रतिको त्याग र समर्पित संलग्नताका कारण पदीय जिम्मेवारीलाई अगाडि बढाउदै लगे । यस्तै ०६४ सालमा सम्पन्न संबिधानसभा निर्वाचनबाट निर्वाचित भएका सभासदहरु दिपक बहादुर केसी र नारायण प्रसाद अधिकारीको सचिवालय सहयोगीको रुपमा रही काठमाण्डौमा बसेर सहयोग गरे भने संगसंगै आफ्नो अध्ययनलाई पनि निरन्तरता दिए । ०६५ सालमा गठन भएको माओबादी पार्टीको मगरात राज्य समितिमा रही आफ्नो राजनीतिक भूमिका बढाउदै लगे । त्यस यता उनी निरन्तर साविकको राज्य र हालको प्रदेश कमिटीमा रहेर राजनीतिक जिम्मेवारीमा छन भने राज्यको पूर्नसंरचनाको क्रममा कायम भएको स्थानीय तहको ब्यबस्थाअनुसार गौमुखी गाँउपालिकाको इन्चार्जको जिम्मेवारीमा छन् अहिले पनि । हेर्दै जाँदा पार्टी जीवनको एउटा श्रृंखला यसरी बढेको छ भने अर्कोतर्फ पत्रकारिता क्षेत्रको रुची र रुझानले पार्टी जीवनसंगै पत्रकारिता क्षेत्रको यात्रालाई पनि दरिलो गरी पक्रेको देखिन्छ ।

No photo description available.
०६० सालमा युद्ध पत्रकारिताको पृष्ठभूमिबाट आजको जमानामा ब्यवसायिकताभित्रको मिशन पत्रकारितामा जोडिएका राना ०६३ सालमा रेडियो पश्चिमाञ्चल ( पाल्पा ) जो माओबादीले पार्टी माताहतमा संचालन गरेको थियो । सो रेडियोको जिम्मेवारीमा जोडिदै गर्दा प्यूठानमा पहिलो प्रयासको रुपमा बिकास मिडिया सर्भिस नेपालद्धारा संचालनमा ल्याइएको रेडियो प्यूठानमा पनि आबद्ध रहे । ०६६ सालमा जनसंचार सहकारीको माताहतमा संचालनमा ल्याइएको रेडियो लिस्ने आवाजको स्टेशन मेनेजर भई आफ्नो संचार क्षेत्रको पहलकदमीलाई सक्रियताका साथ बढाउदै लगे । ०६३ मा सांगठनिक रुपमा पार्टीको सुभेच्छुक पत्रकार संस्था क्रान्तिकारी पत्रकार संघको जिल्ला अध्यक्ष, त्यसपछि केन्द्रिय सदस्य हुँदै सामुदायिक रेडियो प्रशारक संघको केन्द्रिय सदस्यको जिम्मेवारी पनि उनले सम्हाले । यस्तै आम संचारकर्मीहरुको साझा पेशागत संगठन नेपाल पत्रकार महासंघमा ०६६ सालमा सदस्यता लिएका उनले ०६७ मा पत्रकार महासंघ प्यूठान शाखाको कार्यसमिति सदस्य, ०७० मा सचिव र ०७३ मा जिल्ला अध्यक्षको जिम्मेवारी पुरा गरे । उनी आफू मात्र पदीय तहमा पुगेनन् कि प्यूठान शाखालाई मुलुकको उत्कृष्ट शाखाको रुपमा दर्ज गर्न सफल रहे ।
महाविर रानाको पृष्ठभूमि केलाउदै जाँदा उमेर छोटो तर भोगाई र जिम्मेवारीको सूची लामो देखिन्छ । भनिन्छ बिहानीले दिउसोको संकेत गर्दछ त्यसैअनुरुप कलिलै उमेरदेखिको उनको नेतृत्वकलाले गर्दा अहिले सम्म हार बेहोरेका छैनन् ।
जीवनमा राजनीति र पत्रकारिता मात्रै होइन अन्य सामजिक क्षेत्रमा पुरयाएको योगदान पनि उल्लेख्नीय छन् उनका सन्दर्भमा । २०६६ सालमा नेपाल मगर संघ प्यूठानको सचिव, त्यस्तै २०६९ मा आदीवासी जनजाती महासंघ प्यूठानको अध्यक्ष, २०७० मा जिल्ला सहकारी संघ प्यूठानको संचालक सदस्य लगायतका संस्थाका अनुभव पनि उनमा छन् । चीनको स्वशासित क्षेत्र तिब्बतको भ्रमण गरेर बिकास मोडेलका संदर्भमा केही अनुभव हासिल गरेका महाविर रानाले आफ्ना कामको परिणाम स्वरुप २०७० सालमा जिल्ला बिकास समितिबाट उत्कृष्ट पत्रकारिता पुरस्कार ग्रहण गरेका थिए भने कालिका बिकास केन्द्र लगायत अन्य आधा दर्जन संस्थाबाट पनि पुरस्कृत भएका छन् भने अन्य कैयन संस्थाबाट सम्मानित भएका छन् ।
वुवा आमा सहित श्रीमति पुस्पा थापा र १ छोराको सानो परिवार छ उनको । २०६९ सालमा रत्न राज्य लक्ष्मी क्याम्पस काठमाण्डौबाट आमसंचार तथा पत्रकारिता बिषयमा स्नातक गरेका राना बास्तवमा समग्र प्यूठानका लागि नयाँ संभावना बोकेको उज्यालो तारा हुन् । बोलीमा नम्रता, स्जभावमा भद्रताको गुणले युक्त महाविर रानाको रिस कस्तो छ ? यसको अनुभूति सायद कसैले पनि नगरेका होलान जस्तो लाग्छ । कुनै आपत्तीजनक कुरा फेस गर्नु परे उनी हासेरै जवाफ दिन्छन् अनि बिषयबस्तुलाई टार्छन् । बिकट बस्तीको एउटा चम्किलो युवा जस्ले सानै उमेरदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा जीवन समर्पण गरेर जुन उचाई कायम गर्दै आएका छन् । रोजगारीका लागि जागिरको कल्पना कहिल्यै गरेनन् बिदेश जाने सपना कहिल्यै देखेनन् यस अर्थमा गौमुखी बस्तीका लागि मात्र होइन सिंगो प्यूठानको मानवीय पुँजी हुन उनी । बिकासले छुन नसकेको बिकट बस्ती गौमुखी क्षेत्रका लागि आइपरेका समस्या, खड्किएका बाटाघाटा, पुलपुलेसा बिद्युतीकरणका समस्या, शिक्षाका समस्या लगायत यावत पक्षमा हरक्षण गाउँको स्वयंसेवक भएर मन्त्रालय देखि सरकारी निकायको ढोका ढक्काउने उनी हिजो गुनासो पोख्ने हैसियतमा थिए आज भने उनको कार्यकुशलताका कारण समयले आज गौमुखी पालिकाको उपाध्यक्षको जिम्मेवारीमा पुरयाएर गुनासो सुन्ने ठाँउमा पुरयाएको छ । यो पदीय जिम्मेवारीमा पुगेपछि उनले कामको रचनात्मक भूमिका प्रदर्शन गर्न थालेको अनुभूत पनि गराएको छ । उनीसंगै कलिलै उमेरमा जिल्लाको उच्च राजनीतिक हैसियतमा पुगेका बिष्णु कुमार गिरीसंगको सहयात्राले पनि टिम स्प्रिटमा जुन उर्जावान युवाहरुको पालिकामा प्रबेश पाएको छ आशा छ, यो आउँदो ५ बर्ष गौमुखी क्षेत्रले समृद्धिको मार्गमा प्रवेश गर्ने महत्वपूर्ण अवसर प्राप्त गर्नेछ ।
प्रस्तुती :सुशील पोखरेल

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top