आइतवार, जेष्ठ ८, २०७९ | Sunday 22nd May 2022

घर-घरमा धारा हुँदा ददेरीबासी दंग


प्यार अलि खान

प्यूठान,२० वर्ष पछि बस्तिमा खानेपानीको सर्वसुलभ व्यवस्था भएपछि सरुमारानी गाउँपालिका वडा नं २ ददेरीका स्थानीय दंग छन्।

२०५२ देखि ०५८ सम्म यहाँका स्थानीयहरुले टोलटोलमा निर्माण गरिएका धाराबाट खानेपानीको आपूर्ति गर्दै आएका थिए। पुरानो खानेपानी योजना जीर्ण बन्दै जाँदा उनीहरूले कुवा तथा राप्ती नदी किनाराबाट खानेपानीको जोहो गरिरहेका थिए। ददेरीमा ‘एक घर एक धारा’ संचालनमा आएपछि स्थानीयहरुले भोग्दै आएको खानेपानी समस्या समाधान भएको स्थानीय शिव घिमिरे बताउँछन्।

वडा कार्यालय चिसापानी देखि तल्लो ददेरी पुलसम्म २ सय ८ वटा निजी धारा तथा ४ वटा संस्थागत पानी धारा वितरण गरिएको वडा अध्यक्ष बसन्त बहादुर जिसीले जानकारी दिए। बस्ती नजिकैको राप्ती नदी किनारामा सम्पवयल (कुवा)निर्माण गरिएको छ। पानीलाई लिफ्ट मार्फत करिब ४ सय मिटरको दुरीमा अवस्थित डाडाँमा आरबिटी ट्याङ्की निर्माण गरि पानी संकलन गरिँदै आएको छ। ‘१ लाख २० हजार लिटर क्षमताको आरबिटी पानी ट्याङ्की निर्माण गरेका छौं।’ वडा अध्यक्ष जिसीले भने, ‘२० वर्ष सम्म हाम्रो जनसंख्याको भारलाई थेग्न सक्ने आंकलन गरेका छौं।’ सरुमारानी गाउँपालिकाले खानेपानी योजनाको लागि आव २०७४/०७५ मा २७ लाख रुपैयाँ, आव २०७६/०७७ मा ९ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो।

योजना सफल बनाउन खानेपानी तथा सरसफाई डिभिजन कार्यालय प्यूठानले पम्प हाउसको निर्माण, मोटर, जिआई पाइप, वितरण लाईनमा प्रयोग हुने प्लास्टिक पाइप तथा फिटिंग सामग्री उपलब्ध गराएको थियो। ‘खानेपानी कार्यालयले करिब ६५/७० लाख बराबरको सामग्री सहयोग गरेको छ।’ खानेपानी उपभोक्ता समितिका अध्यक्ष इन्द्रमोहन् अमात्यले भने, ‘योजना सम्पन्न गर्न स्थानीयले करिब ६ लाख बराबरको जनश्रमदान पनि गरेका छन्।’ उपभोक्ताबाट प्रती यूनिट २० रुपैयाँ महसुल तोकिएको छ। मर्मतसम्भार गर्न एक जना पलम्बर राखिएको छ। खानेपानी योजनाबाट करिब १ हजार ३ सय जनसंख्या लाभान्वित भएको वडा कार्यालयले जनाएको छ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top