आइतवार, जेष्ठ ८, २०७९ | Sunday 22nd May 2022

हस्तकलाका सामान बेचेर पक्की घर , उद्यमी घर्तिको व्यवसायिक सफलता


प्रकाश बैद्य
प्यूठान, प्यूठान नगरपालिका वडा न. ३ बिजयनगर ओखरबोटका गुमानसिंह घर्ति आफ्नो बाबुले जस्तै गाउँमा बाँसका डोकाहरु बुनेर बिक्रि गरी घर खर्च चलाउदथे । आम्दानीको अन्य श्रोत नभएका घर्ति सानै देखि बाबु संग डोको बुन्न सिक्ने मात्र होइन केहि नयाँ नयाँ सामानहरु बनाउन प्रयत्नशिल रहन्थे । सिमित संख्यामा डोको बेचेर घर्तिको घर खर्च धान्न मुस्किल थियो । बिस्तारै उमेर बढ्दै जाँदा के गरौ र कसो गरौ भन्ने अनेकन सोचाई घर्तिको मनमा पैदा हुदै गएको अवस्थामा २०६२ साल तिर लघुउद्यम विकास कार्यक्रम अन्तर्गत हस्तकला सम्वन्धी सिप विकास तालिम लिने अवसर पाए । व्यसाय किन गर्ने ? कसरी गर्ने तथा व्यवसाय सुरु ,विस्तार तथा हस्तकला सम्वन्धी पर्याप्त ज्ञान १ महिने तालिमबाट लिए पछि घर्तिले अब व्यवसायिक रुपमा हस्तकलाका सामान उत्पादन तथा बिक्री गर्ने व्यवसाय खोल्ने निधो गरे ।
२०६२ साल असोजबाट गाउँमा डोको,डालो बुनेर बनाएको आफु संग रहेको १५ हजार रकमबाट जिल्लाको जुम्री बसपार्कमा सटर भाडामा लिई बाँँसबाट विभिन्न हस्तकलाका सामानहरु निर्माण गरी आफ्नो व्यवसायिक यात्रा सुरु गरे । बाँसको फोटो फ्रेम,बाँसको चाँपी राख्ने रिङ्ग,बाँसको घडी,माछा फ्रेम,कलम राख्ने केस,चीया खाने कप ,फलफुल राख्ने टोकरी लगायतका आकर्षक बाँसवाट निर्मित हस्तकलाका सामाग्री घर्तिले आफ्नो जुम्रीको पसलबाट बेच्न थाले भने जिल्लामा हुने विभिन्न मेला महोत्सव तथा अन्यत्र जिल्लामा पनि लगेर बेच्न थाले । बिस्तारै उनको सामानहरु पनि विक्री हुन थाल्यो , जिल्ला तथा अन्यत्र जिल्लामा माग हुन थाल्यो । सामान विक्रीवाट आम्दानी पनि बढ्दै जान थाले पछि घर्तिले जुम्री बजारमै आफ्नो स्थायी कर्मथलो बनाउने निधो गरे । जुम्रीमा व्यवसाय गर्न थालेको एक दशक पछि आफ्नो ओखरबोटको पाखो बारी करिव ३ लाखमा बिक्री गरी जुम्री बसपार्कमा घडेरी लिए । बिजय बाँस हस्तकला उद्योगको नामबाट व्यवसाय सञ्चालन गरेका घर्तिको बाँसका सामानहरु माग अन्यत्र विशेष गरी उच्च स्तरका होटेलहरु जहाँ पर्यटकहरु धेरै आउँदछन् त्यस्ता ठाउँबाट आउन थाल्यो र उनि ती ठाउँहरुमा आफै लगेर सामान बेच्न थाले भने देशका विभिन्न स्थानका मेला महोत्सवमा पनि लगेर बेच्न थाले । क्रमश आम्दानी बढ्दै गए पछि घर्तिले भाडा तिरेर व्यवसाय गर्न भन्दा ऋण धन गरेर भए पनि घडेरीमा घर बनाउने बिचार गरे जस अनूरुप घडेरी किनेको केहि बर्ष मै आफु संग संकलन भएको रकम तथा बैंकवाट ऋण लिई घर बनाए । अहिले उनले जुम्री बसपार्क पछाडी दूइ तले आफ्नै पक्की घरमा व्यवसाय सञ्चालन गरीरहेका छन् ।
व्यवसायबाट क्रमश आम्दानी बढ्दै गएकाले बैंकको किस्ता तिर्न सकिन्छ भन्ने आँटले घर बनाएको घर्ति बताउँछन् । आकर्षक देखिने चिटिक्क परेका बाँसका चीया खाने कप,चुरोटको खोया फाल्ने एक्ट्रे,विभिन्न डिजाइनका फोटो फ्रेम,बाँसको घडी,साँचो राख्ने रिङ्ग,ब्रस मञ्जन राख्ने स्टार व्याग,बाँसको ्याक,प्रमाणपत्र राख्ने माछा फ्रेम,कलम राख्ने पेन केस,फलफुल तथा तरकारी राख्ने टोकरी ,सिन्का राख्ने स्ट्याण्ड लगायतका सवै बाँसबाट निर्माण गरेका घर ,अफिस देखि विभिन्न पर्यटकलाई लोभ्याउने खालका सामाग्रीहरु उद्यमी घर्तिले निर्माण गर्दै आएका छन् भने आफुले निर्माण गर्दै आएका सामाग्रीहरु देशका विभिन्न बजारहरुमा लगेर आफै बिक्री गर्दै आएका छन् । घर्तिले आफुले निर्माण गरेका हस्तकलाका सामाग्री १५,२० दिन आफ्नो घरमा रहेको पसलमा आफै बनाउँदन् भने १० दिन देशका विभिन्न बजारहरुमा लगेर बिक्री गर्दै आएका छन् । बढो मेहनतका साथ घर्तिले बाँसबाट आकर्षक सामाग्रीहरु बनाउदै आएका छन् । जिल्लामा हस्तकला सामानको बजार नभएकाले बाहिर लग्दा गाडीभाडामा धेरै रकम खर्च हुने गरेको उनको दुःखेसो छ । आफुले निर्माण गरेका सामाग्री अन्य रबर तथा अरुबाट बनेका सामाग्री भन्दा अलि महंगो पर्ने हुँदा जिल्लामा त्यति धेरै बिक्री नभएको घर्ति बताउँछन् । घर्तिले निर्माण गरेको एक्स्ट्रे ५० देखि ७० ,फ्रेम ३सय देखि ६ सय,साँचो राख्ने रिङ्ग २५ रुपैयाँमा बिक्री गर्दै आएका छन् । उनि भन्दछन् “ मैले निर्माण गरेको हस्तकला सामाग्री अरु भन्दा अलि महंगो पर्दछ किन की यो मेहनत बढी हुन्छ र सौखिन तथा आकर्षक सामान रुचाउने मानिसले प्रयोग गर्दछ । जिल्लामा बजार सानो हुँदा तथा पर्यटक त्यति मात्रामा नआउँदा मेरो सामानको त्यति धेरै बजार छैन । बाहिरका बजारमा लग्दा गाडीभाडा धेरै खर्च गर्नु परेको छ । ” देशमा कोरोनाको महामारी आए संगै घर्तिको व्यापारमा पनि कमि आएको उनि बताउँछन् । आफ्ना सामाग्रीहरु विशेष गरी देशका ठुला ठुला शहरुका गेष्टहाउस ,उच्चस्तरका होटेलहरुमा बढी जाने हुँदा पर्यटक ती होटेलहरुमा कम आउँदा आफ्ना सामाग्रीहरु पनि कम माग हुने गरेको घर्ति बताउँछन् ।
सवै खर्च कटाउँदा मासिक रुपमा पहिले २५,३० हजार आम्दानी हुने गरेकोमा बिगत दुई वर्ष देखि कोरोनाका कारण व्यापार प्रभावित भई मासिक रुपमा अहिले १५,२० हजार आम्दानी हुने गरेको घर्ति बताउँछन् ।
पूर्व झापा देखी इलाम ,पाँचथर र पश्चिम महेन्द्रनगर धनगढी ,डडेल्धुरा डोटी,सिलगढि हुदै पोखरा बाग्लुङ्ग ,बेनी ,रसुवागढीका बजारमा घर्तिले आफ्ना सामाग्री आफै लगेर फुटकर बेच्दै आएका छन् । जिल्ल्लामा आफ्नो व्यवसाय प्रवद्र्धन तथा विकासमा त्यस्तो खासै सहयोग विभिन्न निकायवाट नभए पनि लघुउद्यम तथा घरेलुले विभिन्न मेला तथा महोत्सवहरुमा स्टल ल्याइदिएर सहयोग गर्ने गरेको उद्यमी घर्ति बताउँछन् । आफुले उत्पादन गरेका सामाग्रीहरु आफै देशका विभिन्न शहरुमा लगेर बेच्दा धेरै रकम गाडी भाडामा खर्च हुने हुँदा आफ्नो घरमै आएर सामाग्री उठाईदिने तथा विदेशमा पनि आफ्ना उत्पादन पूर्याउने व्यवस्था हुने हो भने आफ्नो व्यवसाय विस्तारमा सहयोग पुग्ने घर्तिको भनाई छ ।
स्वदेशमा उत्पादन व्यवसायमा लागि आम्दानीका अवसर नखोज्ने तर विदेशका गल्ली गल्लीमा भौतारिदै कामको खोजी गर्ने आम युवाहरुका लागि उद्यमी घर्ति एक उदाहरणीय पात्र बनेका छन् । घर्तिले मेहनत गरे आफनै भुमिमा आम्दानीका अवसरहरु प्रशस्त खोज्न सकिन्छ भन्ने गतिलो शिक्षा दिएका छन् । घर्तिको आफ्नो व्यवसाय प्रतिको लगाव तथा मेहनत मनन् गर्न लायक छ । घर्ति जस्ता उद्यमीको व्यवसाय विकास तथा प्रवद्र्धनमा आम सरोकारवाला निकायको ध्यान जान जरुरी छ ।

कमेन्ट गर्नुहोस !


सम्बन्धित पोस्टहरू

Top