प्रकाश बैद्य
प्यूठान,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि.(नेफ्स्कुन) का बरिष्ठ उपाध्यक्ष दामोदर अधिकारीले सहकारी क्षेत्रको विकास र प्रवद्र्धनका लागि राज्यले प्रोत्साहनमुलक एकीकरण नीति ल्याउनु पर्ने बताएका छन् ।
बिजय फूलबारी बचत तथा ऋण सहकारी संस्थाको सभा हल जुम्रीमा हिजो शनिवार आयोजित साकोस सञ्जाल व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि अधिकारीले राज्यले सहकारीलाई एकीकरण गर्ने मात्र भनेर औपचारिकता पुरा मात्र नगरेर एकीकरणमा आउने संस्थालाई प्रोत्साहन गर्ने नीति लिनु पर्नेमा जोड दिए ।
कुनै पनि संस्था बाहिर हेर्दा राम्रो देखिएर मात्र नहुने भन्दै अधिकारीले एउटा मानिसको शरीर मोटो भएर मात्र स्वस्थ नहुने भए जस्तै सहकारी संस्था स्वस्थ हुन पनि हरेक वित्तिय तथा संस्थागत पक्ष स्वस्थ हुनु पर्दछ तसर्थ सहकारी अव संख्यामा होइन गुणस्तरमा बृद्धि गर्नु पर्ने जसका लागि बृहत रुपमा प्रोत्साहनमुलक एकीकरण अभियानको नीति ल्याउनु पर्ने प्रष्ट्याए । धेरै सहकारीका सदस्यहरु खप्टिएकाले अब संस्थाहरु एकीकरणमा जानु पर्ने बेला आएको अधिकारीले ध्यानाकर्षण गराए । यतिवेला सहकारी क्षेत्रलाई बदनाम गर्न विभिन्न भाष्य सुजना गर्न थालिएको भन्दै अधिकारीले दूई चार वटा संस्थाले बद्मासी गरेको कुरा उठाएर सवै सहकारी बद्मास् नै हुन् भन्ने कुरा कुनै पनि हिसावले मान्य नहुने बताए । कोरोना संकट जस्तो नागरिकले संकट खेपेको अवस्थामा सहकारी संस्थाहरुले ज्यानको बाजी राखेर सदस्यलाई सेवा पूर्याइ जनताको सुःख दुःखको साथी बनेको कुरा कसैले भुल्न नहुने स्मरण गराए । वर्तमान समयमा सहकारीको बर्गीकरण गरी स्थानीय तह तथा सम्वन्धित निकायले सहकारी क्षेत्रको प्रवद्र्धनमा ध्यान दिनुका साथै नीति मिचेर जनताको रकमको दुरुपयोग गर्नेलाई राज्यले कार्वाही गर्नु पर्ने समेत बरिष्ठ उपाध्यक्ष अधिकारीले प्रष्ट्याए ।
कार्यक्रमका विशेष अतिथि प्यूठान नगरपालिकाका उप‐मेयर देवेन्द्र बर्माले सहकारी संस्थालाई व्यवस्थित रुपले नीति अनुसार हिडाउन व्यवस्थापकको महत्वपूर्ण भुमिका रहने बताए । संचालकहरुलाई नीतिमा हिडाउन व्यवस्थापकले भुमिका खेल्नु पर्ने उनले बताए । बर्तमान समयमा सहकारी संस्थाहरुले धेरै राम्रा कामहरु गरेको भन्दै बर्माले ती राम्रा कामहरुलाई बाहिर ल्याउन तथा सहकारीलाई हित हुने खालका नीति निर्माणमा सहकारीका विभिन्न संघहरु तथा अभियन्ताहरुको लविङ्ग पुग्न नसकेको बताए ।
एउटा बैंकमा ५० वटामा एउटा व्यक्तिको खाता खुल्न हुने तर सहकारीमा एउटा संस्था भन्दा अर्कोमा खोल्न नहुने दोहोरो सदस्यता भन्दै अभियन्ताहरु नै हिड्नु भएको छ यसमा अभियन्ताहरुको लविङ्ग पुगेन उनले भने । सहकारी क्षेत्रको विकास र प्रवद्र्धनमा प्यूठान नगरपालिका सदैव सकारात्मक रहेको समेत उपमेयर बर्माले बताए ।
कार्यक्रममा जिल्ला सहकारी संघ लि.प्यूठानका अध्यक्ष सुशील पोखरेल ,बचत तथा ऋण सहकारी संघ लि प्यूठानका अध्यक्ष भोज बहादुर बस्नेत लगायतले मन्तव्य राखेका थिए ।
जिल्लाका बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा व्यवस्थापकहरुको सहभागिता रहेकोा कार्यक्रममा नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) का सदस्य सेवा कार्यालय दाङ्गका इन्चार्ज विष्णु दत्त जोशीले विश्व ऋण परिषदका पहिलो र दोश्र दशकका रणनीतिक अभ्यासहरु ,सञ्जाल साझेदारी कार्यक्रम,सञ्जाल विकासका चरणहरु,सहकारी क्षेत्रका बर्तमान समस्याका कारण र निराकरणका उपाएहरु ,नेफ्स्कुनको सञ्जाल व्यवस्थापनका आगामी रणनीतिक योजना लगायतका विषयमा सहजिकरण गरेका थिए ।
लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष कृष्ण नेपालको अध्यक्षतामा भएको कार्यक्रममा नेफ्स्कुन केन्द्रीय सदस्य ज्ञानु पौडेलले स्वागत गरेकी थिइन् ।
कार्यक्रम लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघको आयोजना ,नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. (नेफ्स्कुन) को आर्थिक तथा प्राविधिक सहयोग ,बचत तथा ऋण सहकारी संघ लि. प्यूठानको सह आयोजना तथा प्यूठान नगरपालिका बिजुवारको सहयोगमा सम्पन्न भएको हो ।
कमेन्ट गर्नुहोस !