शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

बाल साहित्य सम्मेलनले जगाएको आशा



अहिले प्यूठानमा नयाँ अनुभूति महशूस भएको छ । नेपालका बाल साहित्यानुरागीको अभिभावक संस्था नेपाल वाल साहित्य समाजको अग्रसरतामा जिल्लाको इतिहासमै पहिलो पटक यसरी आयोजना गरिएको यो सम्मेलनले जिल्लाको साहित्य क्षेत्रमा नयाँ जागरण ल्याउने बिश्वास लिइएको छ । यसका लागि जिल्लामा क्रियाशील साहित्यिक संघ संस्थाहरुले जुन रुपमा नयाँ उत्साह देखाउनु भएको छ । यो बिषय पनि आफैमा सह्रानीय नै छ । पछिल्लो समय हाम्रो समाजमा पुस्तान्तरण हुने क्रममा पछिल्लो पुस्तामा पठन संस्कृति घट्दै गइरहेको सन्दर्भमा यो बाल साहित्य सम्मेलनले पठन संस्कृतिको बिकासमा संजीवनीको काम गर्ने आशा जगाएको छ । अहिले नेपाली समाजको जीवनशैली घोप्टे युगमा प्रबेश गरेको छ । यसो भन्नुको अर्थ हामीलाई सामाजिक संजालको मोहले पठन कार्य त के पारिवारिक संबन्धको दुरी पनि बढाएको छ । हरेक क्षण मोवाइलमै घोप्टो पर्ने शैलीको प्रभाव बालबालिकामा पनि परेको छ । भनिन्छ बालबालिकाका कारण मोवाइल बिग्रिए बनाउन सकिन्छ तर मोवाइलले बालबालिका बिग्रिए भने बनाउन गाह्रो हुन्छ । यो अवस्था आइसकेको छ , यसले निम्त्याउने बिकृतिको परिणाम हेर्न अव धेरै टाढा जानु पर्ने छैन । त्यसैले यो लतलाई टुटाउन ठूलो जागरणको खाँचो छ । त्यो जागरणको खाँचो अर्थात अभावलाई यो बाल साहित्य सम्मेलनले पुर्ति गर्नेछ ।
बिगतका साहित्यिक इतिहासका पानाहरु केलाउँदा २०१९ सालमा सम्पन्न बिराट साहित्य सम्मेलनले एउटा स्प्रिट पक्रन खोजेको थियो । त्यो सम्मेलनले पक्रेको स्प्रिटकै जगमा साहित्यक पत्रिका सुमन प्रकाशन हुन पुग्यो । सुमनका ३ अंक प्रकाशन पश्चात २०२२ सालतिर तेस्रो अंकको प्रकाशन बजारमा आउन नपाउदै तत्कालीन पंचायती शासकका लागि सुमन आँखाको कसिंगर बन्न पुग्यो । सरकारले पत्रिका जफ्त गरयो, सम्पादकलाई थुनामा राख्ने र मुद्धा चलाउने सम्मका हर्कत गरयो । त्यस पछाडि लामो समय सम्म बाँझो रहेको साहित्य क्षेत्रलाई २०५२ सालमा आएर केही जागरुकता दिन खोजिएपनि त्यतिबेलैको सोंच साकार हुन सकेन । त्यसपछाडि पनि जारी खडेरी परेको जिल्लाको साहित्यिक फाँटमा २०५५ सालमा स्वर्गद्धारी क्याम्पसमा सम्पन्न एउटा बृहत स्तरको भेलाले मोहन गिरीको अध्यक्षतामा १७ सदस्यीय साहित्य परिषद संस्था गठन भएको थियो । त्यो संस्थाको सक्रियतामा जसरी गति पक्रन पुग्यो । हराभरा देखिन थाल्यो त्यो अत्यन्तै खुशीकै बिषय बनेको थियो । आज पनि खुशीकै बिषय छ । हाल सम्म भएका गतिबिधिका निरन्तरता यसैका जग हुन भन्नमा कुनै अन्यथा हुदैन । पछिल्ला बर्षमा साहित्यक क्षेत्रमा भएका क्रियाशीलतासंगै देशको परिबर्तित राजनीतिक अवस्था, मौलिक हक तथा प्रेस स्वतन्त्रताको सुनिश्चितता, जनतामा आएको शैक्षिक चेतनास्तर, संचारमाध्यममा आएको बिकास र बिस्तार साथै साहित्यिक प्रकाशन सामग्रीको बिकासले साहित्यक क्षेत्रको महत्व उजागर गर्दै आएको छ जो हामी साहित्यक शुभेच्छुकका लागि खुशीको बिषय छ किनकी यो बतावरणले कैयन श्रष्टाहरुको उत्पादन हुन पुगेको छ । यता अर्को चिन्ताको बिषय त के छ भने अहिले समाज बिकासको प्रक्रियामा प्रबिधिमा आएको फड्कोले सामाजिक सञ्जालको बढ्दो हस्तक्षेप तथा प्रभाव अनि कैयन मानिसमा देखिएका साँस्कृतिक आचरणका समस्याले उत्पन्न गरेको नकारात्मक प्रभाव पठन संस्कृतिमा परेको छ । पठन संस्कृतिमा आएको त्यो ह्रासले साहित्यिक क्षेत्रको सुदुर पूर्वको सुन्दर भविष्यमाथी निकै चुनौतिका पहाड तेर्सिएका छन् । परिणामतः आजकालका युवा बर्गमा पढ्ने लेख्ने बानी घट्दो छ । राजनीतिक निर्णयको तहमा रहेका ब्यक्तित्वहरुमा समेत सामाजिक संजाल हेरेर आफ्नो धारणा बनाउने बानीको बिकास भएको छ । यस्तै प्रतिभावान आशालाग्दो जनशक्ति बिदेशिने एउटा दखद तस्वीरु हामीकहाँ देखिदैछ । पर्वको बेलामा समेत बेराजगारीको पीडाले परदेशीनु परेको भयाबह शिलशिला बढेको बढ्यै छ भने अर्कोतर्फ उपलब्ध हामी कहाँ रहेको जनशक्ति खासगरी युवा समुदायमै साहित्यक क्षेत्रमा हुनुपर्ने चासो उस्तो छैन । क्रमश घटिरहेको छ । यसरी घट्ने गरेका बिभिन्न कारणले सुजनाका क्षेत्रमा भावी पुस्ताको उपस्थितिमा चुनौति थपिनु स्वभाविक नै छ । हो, यै पृष्ठभूमिमा आजका बालबालिकाहरुलाई समयमै साहित्यक बिधाको महत्व अवगत गराउनु अबश्य नै जरुरी छ । बालबालिकाहरुको प्रतिभावान क्षमतालाई प्रस्फूटन गरी सृजनाका क्षेत्रमा समाहित गराउदै बिकसित गर्नुपर्ने खाँचो खड्किरहेको यो बेला बाल साहित्य सम्मेलन हुनु जिल्लाको लागि महत्वपूर्ण कोशेढुँगा बन्न सक्दछ । यसले हामीलाई नयाँ आशा जगाएको छ । प्यूठानमा भित्रिएर जिल्लाको समग्र अवस्था बुझ्ने, क्यामरामा कैद गर्ने र साहित्यका बिभिन्न बिधाका माध्यमबाट अभिब्यक्त गरेर जागरणको रुप दिन प्रेरित गर्नुहुने सवैलाई धन्यबाद । यो बातावरण तयारीको संयोजनमा अमुल्य भूमिका खेल्नु हुने प्यूठानीका छोरा बाल साहित्य समाजका महासचिव बिजयराज आचार्यको भूमिकाप्रति हार्दिक नमन ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top