शनिबार, साउन १२, २०८१ | Saturday 27th July 2024

डल्ले सरायँ मेलाको ऐतिहासिकता र आजको युवापुस्ताको जिम्मेवारी



सुशील पोखरेल
यस बर्ष पनि डल्ले सरायँ मेला प्रतियोगितात्मक रुपमा गर्ने तयारी थालिएको छ । माननीय सूचना संचार तथा प्रबिधि मन्त्री एवम नेपाल सरकारका प्रबक्ता रेखा शर्माको प्रमुख आतिथ्यतामा कार्यक्रम हुने आयोजकले जनाएको छ । आज कार्तिक ३० गतेका दिन हुने डल्ले सरायँ मेलाका लागि बिहानै देखि आ–आफ्नै ढंगले तयारीका लागि शुरसार तथा तरखर भइरहेका छन् । जिल्लाका बिभिन्न थलोहरुमा सरायँ मेला संचालन हुँदै आएतापनि पहिचानका दृष्टिले मुख्य आकर्षण केन्द्रका रुपमा रुपमा रहेको डल्ले सरायँ बिगतको निरन्तरतामात्र छैन की यसले आजको सन्दर्भमा जिल्लाको पर्यटन प्रबद्र्धनमा समेत मुख्य भूमिका खेल्दै आएको रुपमा बुझिन्छ । त्यसो त तिहार पर्वकै सरोफेरोमा जिल्लाका बिभिन्न ठाँउ खासगरी चितिखोला, शिवालय लगायतका स्थलहरुमा लाग्ने मेलाले पनि पर्यटन प्रबद्र्धनका क्षेत्रमा उत्तिकै भूमिका खेल्दै आएका छन् ।
यो मेलाको पृष्ठभूमि केलाउँदा सरायँ प्यूठानको महत्वपूर्ण सांस्कृतिक सम्पदाको रुपमा रहेको छ । यसको आरम्भ हुनुमा प्यूठानको राजधानी भित्रीकोट राज्यको इतिहास पृष्ठभूमिमा रहेको बिश्वास गरिन्छ । प्रचलित किंवदन्ती अनुसार करिव सात आठ सय बर्ष अघि अर्थात १३ औं शताब्दीतिर प्यूठानको भित्रीकोट राज्यमा एउटा राक्षसी प्रबृतिको जाँट राजाले जनताहरुलाई निकै दुख दिएको थियो । त्यसैले जाँटको बिनास गर्ने योजना बनाउदै थिए र पछि जनता एकताबद्ध भई जाँटलाई मार्न खुँडा खुकुरी लिएर लखेट्रन थाले । जाँटलाई भित्रीकोटबाट लखेट्दै पुण्यखोला स्थित क्षेत्रपालसम्म ल्याए । क्षेत्रपालसम्म आइपुग्दा जाँट घाइते भइसकेको थियो । पुण्यखोलास्थित क्षेत्रपालबाट पनि बिजुवार स्थित डल्लेमा ल्याई त्यो जाँडको हत्या गरिएको थियो । जनतालाई दुखदिने जाँटको अन्त्य भएको त्यसदिनलाई लोकले बिजय उत्सवको रुपमा मनाउन थाल्यो । त्यसपछि त्यो परम्पराले सरायँ मेलाको रुप लियो । त्यो दिन तिहार भाइटीकाको दोस्रोदिन थियो । आज पनि हातहातमा तरवार खुँडा लिएका ब्यक्तिहरु तरवार खुँडा नचाउँदै र वाखै वाखै मा रुपान्तरित भएको हुन सक्ने बुझाई छ । जे होस यो सरायँ आसुरी शक्तिमाथी दैविक शक्तिले युद्धमा बिजयी भएको खुशीयालीमा नाच नाचिने परम्परा रहि आएको छ ।
सराँय खासमा नृत्य होइन यसलाई युद्ध अभिनय भन्न सकिन्छ र युद्ध अभिनय भनियो भने यो लोकनाटक बन्न पुग्दछ । सरायँमा वा खै वा खै बाहेक अन्य संबाद हँुदैन । डल्ले सरायँ सर्वाधिक महत्वपूर्ण सरायँ उत्सव हो । पहिले पहिले भित्रीकोटबाट नै सरायँको आरम्भ हुन्थ्यो । भित्रीकोटबाट निस्केको सरायं पुण्यखोलाको क्षेत्रपाल हँदै डल्लेमा पुग्थ्यो । हाल पुण्यखोलाबाट शुरुभई डल्लेमा पुग्ने गर्दछ । डल्लेमा एउटा स्तम्भको रुपमा मौलो राखिएको छ । गाँउ गाँउहरुबाट आएका सरायँका मेलाहरु डल्लेमा आई मौलो आफ्नो कब्जामा पार्ने प्रतिष्पर्धात्मक सरायँ खेल खेल्दछन् । यसलाई सरायँ नाचेको पनि भनिन्छ । हाल प्यूठानमा सरायँमा बिजय प्राप्त गर्ने समुहहरुलार्इृ पुरस्कारको समेत ब्यबस्था गरिएको छ । बिशेष गरी २०७० सालमा तत्कालीन एमाले नेता तथा माननीय साँसद बामदेव गौतमको पहलमा आकर्षक पुरस्कारको ब्यवस्थाले सरायँ नाँचमा आकार्यण थपेको छ । यसबाट प्यूठानमा सरायँप्रति थप चासो र आकर्षण थपिएको छ ।अहिले पछिल्ला बर्षहरुमा सरायँ मेलाको पुरस्कार तथा अन्य ब्यबस्थापन प्यूठान नगरपालिका अर्थात स्थानीय तहले गर्दै आएको छ ।
तिहारको समयमा यहाँका धेरै स्थानहरुमा मेला लाग्दछन् । ती मेलाहरु मध्ये डल्ले मेला, चितीखोला मेला, र पाठशाला मेला बढी महत्वपूर्ण मानिन्छन् । पाठशाला जात्रालाई शिवालय मेला पनि भनिन्छ । सरायँ प्यूठानका साथै अर्घाखाँची, दांग, आदी ठाँउहरुमा पनि खेल्ने गरेको पाइन्छ । प्रायः शक्तिपीठहरुमा बडादशैंको अवसरमा सरायँ खेल्ने चलन रहेको छ । तर प्यूठानको सरायँ ऐतिहासिक पृष्ठभूमिमा आरम्भ भएको र सारा जिल्लावासीले एउटा महाभेला तथा बिशिष्ट पर्वका रुपमा मनाउने सम्पदाको रुपमा रहेको छ । प्यूठानका गाँउ गाँउमा सरायँका समुहहरु गठन भएको पाइन्छ । भने तिहार नजिकिंदै गर्दा आफ्नो समुहलाई बिजयी बनाउन पुराना पाका खेलाडीहरुबाट सिक्ने सिकाउने कार्य पनि परम्पराको रुपमा रहँदै आएको छ । प्यूठानमा डल्लेबाट आरम्भ भएको सरायँ अन्य स्थानहरुमा पनि उस्तै उत्साह र उमंगका साथ खेल्ने चलन छ । बिशेषगरी डल्ले सरायँका अतिरिक्त प्यूठानका शिवालय, मरण्ठाना, बखेडी, चितीखोला, नारीकोट, खैरा खर्पेग खोला, बहाने, रजवारा, ढंगेठाँटी, लगायतका स्थानहरुमा फरक फरक दिन र अवसरहरुमा प्रस्तुत गर्ने चलन छ । हिन्दु साँस्कृतिक परम्पराको जगेर्ना गर्न तथा सवै समुदायबीच धार्मिक, जातीय सदभाव कायम गर्न भाइचाराकमे संबन्ध बिस्तार गर्न सरायँ नाचले महत्वपूर्ण भूमिका खेल्दै आएको छ । सरायँ महिला, पुरुष एक भएर मात्र होइन सवै जातजाति एकै ठाँउमा भएर नाचिने भएकाले पनि यसको उपादेयता अझ उच्चो महिमको रुपमा कायम रहेको छ ।
समग्रमा हेर्दा प्यूठानको सरायँ लुम्विनी प्रदेशको साँस्कृतिक पर्यटनको महत्वपूर्ण सम्पदा हो । यसको ऐतिहासिक पक्षको थप अध्ययन हुन सके किवंदन्तीको ऐतिहासिक मान्यता प्राप्त गर्न सक्थ्यो । डल्ले सरायँको प्रभावकारी रुपमा प्रचार प्रसार हुन सक्ने हो भने यसले आर्थिक उपार्जनमा पनि महत्वपूर्ण योगदान दिन सक्दछ । त्यसैले आजको युवा पुस्ताले समय सापेक्ष यसको बिकासमा लाग्न जरुरी देखिन्छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top