शुक्रबार, साउन ४, २०८१ | Friday 19th July 2024

पत्रकार सदस्यता शुद्धिकरण अभियानको सन्देश



सुशील पोखरेल


अहिले यतिवेला देशभर पत्रकार सदस्यता शुद्धिकरण अभियान चलेको छ । यो अभियानलाई कार्यान्वयन तहमा लैजाने बहस निर्णयार्थ अन्तिम चरणमा प्रबेश गर्दैगर्दा आम नागरिक समाज समेतको चासोपनि बढेको छ । शद्धिकरणका लागि पत्रकारहरुको अगुवाई र नेतृत्व गर्ने नेपाली पत्रकारहरुको आस्था र निष्ठाको संगठन नेपाल पत्रकार महासंघले गत ०७९ असोज ५ गते नगरकोटमा सम्पन्न बैठकले बदलिंदो परिस्थितिमा पत्रकारितामा क्रियाशील कैयन सदस्यहरुको भूमिका अर्को कोर्षमा प्रबेश गरिसकेको छ त कतै उल्लेख्य मात्रामा निस्क्रिय रहेर पनि सदस्यता भने उल्लेख्य संख्यामा कायमै रहेका ती र त्यस्ता ब्यक्तिहरुको कारणले महासंघ र स्वयं पत्रकारिता क्षेत्र धुमिल भइरहेको यथार्थतालाई मनन गरी यो शुद्धिकरण प्रक्रियामा जुटेको हो । यसका लागि थप बटमलाइन तय गर्न गत चैत्र १६ गते सम्पन्न नवलपरासीको रामग्राममा सम्पन्न केन्द्रीय समिति बैठक र चैत्र १७ गतेको लुम्विनी मिडिया सम्मेलनले पनि शुद्धिकरण अभियानको चित्र कोरेको छ र अव भने शाखा स्तरबाट छानवीन भई अगाडि प्रक्रिया बढ्दै गर्दा अहिले एक खालको तरंग उठेको छ । देशका कैयन शाखाहरुले लिएका निर्णयले अव शुद्धिकरण अभियानले नयाँ कोर्ष त लिनेछ नै संगै मिडिया क्षेत्रमा बिश्वासिलो आधार पक्रन खोजेको छ । जो क्रियाशील संचारकर्मीहरुका लागि खुशीको कुरा हो ।
अबश्य नै पत्रकार वा संचारकर्मी भनेका समाजमा भएगरेका गतिबिधि कलमका माध्यमबाट पस्किने समाजका संबाहक शक्ति हुन । अझ अर्को अर्थमा बर्तमान लोकतान्त्रिक राज्य ब्यवस्थामा लोकतन्त्रको अक्सिजनको रुपमा लिइने यो क्षेत्र राज्यको चौथो अंगको रुपमा स्वीकारिएको सवैमा जाहेर नै छ । साँच्चिकै भूमिकाका हिसावले हेर्ने हो भने ३ तहको शासकीय संरचना अर्थात मोडालिटी रहेको हाम्रो अहिलेको अवस्थामा राज्यलाई खवरदारी गर्ने बलियो शक्तिको रुपमा मिडिया उपस्थित रहेको छ । अहिले सम्मका राजनीतिक उपलब्धि हासिल गर्ने देखि संस्थागत गर्ने, राज्यमा सुशासन कायम गर्ने सुचनाशक्तिको बलियो खम्वा नेपाली मिडिया क्षेत्रबाट नेपाली समाजले जेजति अपेक्षा राखेको छ । संगै मिडिया क्षेत्रमा देखिएका कतिपय खराव भूमिका अनि प्रदुषणले उत्तिकै बितृष्णा र बेथिति पनि जन्मेका छन् र यसले नेपाली नागरिक समाजलाई निराशा बनाएको छ ।
देशभर उल्लेख्य संख्यामा रहेका बिद्युतीय र छापा संचारमाध्यमको उपस्थिति र प्रभावको प्रशंसनीय पक्ष एकातिर हुँदाहुँदै प्रनि पत्रकारकै नेतृत्व गर्ने संस्था महासंघभित्र साविक सदस्यको अवस्थालाई कायम राखेर अगाडि बढ्ने हो भने यो संस्था अव निस्क्रियहरुको झुण्ड हुने त छदैछ, पत्रकारिता क्षेत्र किन प्रदुषित र धुमिल भएको छ ? कस्का कारणले भएको छ यो प्रश्नको खोजी भएको छ यै थिति कायम राख्ने हो भने अवको महासंघको दिशा र भूमिका कता ? भन्ने गम्भिर प्रश्न उठेकै छ । जसले गर्दा नेपाली मिडियाको शक्ति क्षीण हुने काममात्र भएको छैनकी इज्जत र प्रतिष्ठामाथी पनि ठूलो हमला भइरहेको छ । यसर्थ, अहिले सम्मका यी सवै भोगाई र अनुभवबाट एक कदम उठेर नेपाल पत्रकार महासंघले कठोर निर्णय लिन बाध्य भएको छ । यसलाई कार्यान्वयन तहमा लैजान सवै पक्षको सहयोगको भूमिकाको खाँचो छ । बुझ्नै पर्ने कुरा करिव ७ दशक लामो महासंघको यात्रामा पत्रकारिता गरेका हाम्रा कैयन अग्रजहरु आज राजनीतिक भूमिकाको उच्च तहमा छन् । संस्थापक सभापति स्व. कृष्ण प्रसाद भट्राई नेपालको पत्रकारिता क्षेत्रबाट उठेर राजनीतिक आन्दोलनको भूमिकामा जोडिएको एउटा गतिलो उदााहरण हो। उहाँ लगायत कैर्यौ ब्यक्ति ब्यक्तित्वहरु अहिले राजनीतिक भूमिकामा छन्। मुलुकमा अहिले कायम रहेका ७६१ थान सरकारमा रहेर भूमिका निर्वाह गर्ने मध्येका कैयन ब्यक्तिहरु पत्रकारिता क्षेत्रबाट जोडिएका छन् । साथै लोकसेवाबाट निजामति सेवामा प्रबेश गर्नेमा पनि पत्रकारिता क्षेत्रले योगदान पुरयाएको छ । पठन संस्कृतिको बिकासमा पत्रकारिताको महत्व कति छ ? भन्ने उदाहरण यी पक्षबाट हेर्न सकिन्छ यससंगै राजनीतिक नियुक्तिमा पनि कैयौं पत्रकार साथीहरुले अवसर पाउनु भएको छ । यसरी मानव संशाधन उत्पादनका पक्षमा नेपाली मिडियाको योगदानलाई उच्च रुपमा हेर्नुपर्ने हुन्छ । तर भूमिका पूर्ण रुपमा बदलिइसकेको बेलामा पनि पत्रकार सदस्यता थाती राख्ने कुराले संस्थालाई पुरयाउने हानी त आफ्नो ठाँउमा छ यसले स्वयं तत् ब्यत्तिका लागि पनि सकारात्मक सन्देश दिन सक्दैन । यो बिषय एकातिर छ अर्को चिन्ताजनक पक्ष आज मिडियालाई भजाएर, पत्रकार परिचय पत्रको दरुपयोग गरेर खाने जमातले नेपाली मिडियालाई अप्ठ्यारो डिलमा उभ्याएको छ । लेखन काम नगर्ने, अध्ययनशीलता शुन्य अनि मौखिक रुपमा पत्रकारको हवाला दिनेदेखि ठेकेदार, अनुसन्धान अधिकृत होटेल ब्यवसायी, यातायात ब्यवसायी, शिक्षक,एनजीओकमीदेखि ब्यापारी देखि साँस्कृतिक आचरणमा समेत प्रश्न उठेका, आर्थिक अनुशासन नभएका भएजति सवै महासंघको सदस्यमा अटेपछि संस्थाको गरीमा र छवी के हुने ? संगै कुनैबेला पत्रकारिता गरेर सदस्यता लिएकै कारण जीवन पर्यन्त सदस्यता टिकाउन चाहने निस्क्रियहरुको जमात बोकेर पत्रकारको नेता कहिले सम्म हुने ? यो अवस्था कहिले सम्म कायम रहने ? यस्ता गम्भिर प्रश्नहरु दिनका दिन ठिंग उभिरहेको छ ।
यसरी यी सवै आलोकबाट हेर्दा अहिलेको समयमा जसरी सदस्यता शुद्धिकरण अभियान चलेको छ । नेपाली मिडिया र महासंघलाई चलायमान, गतिशील र जवाफदेही संस्थाको रुपमा कायम राख्न, यसको छवी हिजोका दिनमा जस्तै उचो राख्न यो अभियानले ठूलो बल प्रदान गर्नेछ । तर पनि यसको कार्यान्वयन पक्षमा महासंघको नेतृत्वमा पुग्नकै लागि निस्क्रिय र पत्रकारको परिचयबाट बाहिरिईसकेकाहरुलाई भोट बैंकको मानसिकताबाट राजनीतिक चश्माले ब्यवहार गर्न थालियो भने यो अभियानको मर्ममाथी ठूलो प्रहार हुनेछ । त्यसैले यसबाट सचेत र सतर्क भई शुद्धिकरण अभियानलाई पूर्ण रुपमा सफल पारौं । यसबाट नै हामी ब्यवसायिक र श्रमजीवि पत्रकारको कल्याण हुनेछ । अभियानको सन्देश पनि औचित्यपूर्ण हुनेछ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top