Invalid Conversion Type | Saturday 19th October 2019

७३ वर्षिय टिकाबहादुर गुरुङ राजनीति, समाजसेवा र फलफुल खेतिमा सकृय


Hamroekata १० आश्विन २०७६

सागर रिजाल
प्युठान।
ऐरावती गाउँपालिका– ३ अर्झामका टिकाबहादुर गुरुङ अहिले ७३ वर्ष पुगे । उनले ९ कक्षा सम्म शिक्षा हाशिल गरेपछि वि.स. २०२० सालमा भारतीय सेनाको जागीरमा प्रवेश गरे । २९ वर्ष लामो सेनाको जागिरेपछि उनी वि.स. २०४९ सालमा सेवा निर्वित भए । जागिरबाट अवकाश पाएपछि उनी जन्मथलोमा फर्किय । उनी गाउँ फर्किदा धेरै छिमेकीहरु बसाई सराई गरेर जिल्ला छाडिसकेका थिए । त्यसको कारण थियो विकट ठाउँ नत सड्क, न खानेपानी , नत कुनै उद्यम व्यवसाय । उनको गाउँ फर्कियपछिको पहिलो योजना बन्यो स्थानियलाई कृषिमा अगुवाई गर्ने । यो योजना सहित अगाडी वढेका गुरुङलाई चुनौती दियो खानेपानीले । पिउनका लागि समेत समस्या पर्ने पानी कृषि गर्नका लागि असम्भव देखीयो । उनी गाउँलेहरुको नेतृत्व गर्दै लामो समयसम्म खानेपानी ल्याउनका लागि अग्रसर भए । विभिन्न जिल्लामा अध्ययन गर्ने क्रममा उनले खानेपानी समस्या बताउन थाले । अन्तत ०६६ सालमा खानेपानी डिभीजन मार्फत दुई करोड ७५ लाखको लागतमा लिफ्ट खानेपानी योजनाको काम सुरु भयो । ०७२ सालमा नारङ्गे लिफ्ट मार्फत गाउँमा खानेपानी पुग्यो । लामो समयसम्म उनकै अगुवाईमा गाउँमा खानेपानी पुगेको स्थानियहरु बताउछन् । खानेपानीबाट साविकको पकला गाविस अन्र्तगतका वडाहरु ५,६,८,९ र बरौला गाविसका ५ र ६ वडाका तीन सय २८ घरधुरीका स्थानियहरु लाभान्वित भएका छन् ।
खानेपानी गाउँमा आएसंगै गुरुङले बनाएको योजना सफल भएको छ । गाउँका स्थानियहरुले खानेपानी पिउन पाउँनुका साथै विभिन्न क्षेत्रमा प्रयोग गर्न पायका छन् । स्थानियहरु खुसी छन् । नियमित विहानमा पानी भर्ने व्यवस्था मिलाईएको छ । स्थानियहरुले टंयाकीमा पानी जम्मा गर्छन् र चाहियअनुसार उपयोग गर्ने गरेको गुरुङले बताए ।


सड्क पनि पुग्यो गाउँमा
सेवा पुरा गरि गाउँमा आएका गुरुङले सड्क नहुँदा गाउँलेलाई परेको दुःख देख्न सकेनन् । उनले लामो समयसम्म अगुवाई गरेर चेरनेटा–पुरनठाटी चलिरहेको सड्कलाई हरियाखोलादेखी जाबुने सम्म जोडीयो । ११ लाख रुपिँया लागतमा जाबुनेमा सड्क पुगेको गुरुङ बताउछन् । उनी संगै विभिन्न व्यक्तिहरुको पहलमा चेरनेटा–चिन–जाबुने हुदैँ दाङवाङ सम्मको सड्क पनि उनी अध्यक्षको नेतृत्व गरि खोले । अहिले दुबै सड्कबाट नियमित जीप चल्ने गर्दछन् ।
स्वार्थ लियनन् गुरुङले


गाउँलेहरुको सेवा गर्ने उदेश्यका साथ सड्क उनको नेतृत्वमा खोलियो तर आफ्नो स्वार्थमा उनले सड्क निर्माण गरेनन् । उनको घरमा सड्क उनले अझै पु¥याएका छैनन् । आफ्नो घरमा बाटो लगेर स्वार्थ पुरा गर्न लाग्यो भनेर टिकाटिप्परी हुन्छ भनेर आफ्नो घरपायक सड्क नखनेको उनी बताउछन् ।
राजनीतिमा पनि सक्रिय छन् उनी
उमेरले नेटो काटेपनि गुरुङ अझै बलियै छन् । उनलाई राजनीतिको मोहले छोयको छ । ०५४ सालबाट उनले राजनीतिक यात्रा सुरु गरे । राजमो, काग्रेस, राप्रपाको गड मानिने उक्त क्षेत्रमा उनले पूर्व नेकपा एमालेलाई जन्माय । ०५४ सालमा भएको निर्वाचनमा धेरै मत ल्यायर उनी उपाध्यक्ष पदमा निर्वाचित भए । त्यसपछि उनी नेकपा एमालेको राजनीतिमा सक्रिय भईरहे । राजमो र काग्रेसलाई हराउदै एमालेको बहुमतको क्षेत्र समेत बनाए उनले । तर उनी २०७४ सालमा ऐरावती गाउँपालिकाको अध्यक्षमा असफल भए । १६ मतले उनलाई नेपाली काग्रेसका प्रतिनीधि नबीलविक्रम शाहले जीते । तर आफ्नो ३ नंम्बर वडालाई भने सफल बनाएका थिए । चुनावमा हारे पनि उनी राजनीति गर्न छाडेका छैनन् । हाँल उनी पूर्व एमाले र पूर्व माओवादी मिली बनेको नेपाल कम्युनिष्ट्र पार्टी (नेकपा)का जिल्ला कमिटी सदस्य छन् ।
फलफुल र तरकारी खेतिपनि
राजनीति संगै ७३ वर्षिय गुरुङले फलफुली खेति र तरकारी खेति समेत गर्न भ्याएका छन् । उनले ५० वटा सुन्तलाका विरुवा, मौसमका २५ वटा विरुवा, कागतीका १० वटा विरुवा, स्याउका ९ वटा विरुवा, ओखरका एक सय ३० विरुवा, रुद्राक्षका ५ वटा विरुवा, दालचिनीका एक सय ३० वटा विरुवा संगै बेलौती, आरुवखडा, दारिम लगायतका फलफुलका विरुवाहरु लगाएका छन् । गाउँमै छुट्टै पहिचान दिने उदेश्यका साथ उनी फलफुल खेतिमा अग्रसर भएको उनी बताउछन्। त्यस्तै उनले एक सय ५० विरुवा टमाटर, लसुन , प्याज, गोबी, आलु लगाएतका तरकारी खेति समेत गरेका छन् । उनले घरपरिवार, छिमेकीलाई दिनुका साथै केहि तरकारी बेच्दै आएको समेत बताए । उनले आफुसंगै गाउँलेलाई तरकारी खेति गर्नलाई उत्प्रेरणा दिएको समेत बताए । उनले रासायनीक मलको प्रयोग नगरी तरकारी खेति गरेको समेत बताए । यो संगै उनले एक भैसी, बाख्राहरु समेत पाल्दै आएका छन् । अगिल्लो वर्ष बाख्रा बेचेरै ६० हजार रुपिँया आम्दानी गरेको उनले बताए । गुरुङलाई ६६ वर्षिय श्रीमती गंगाकुमारी गुरुङले काममा सहयोग गर्छिन् । दुई दम्पतीबाट दुई छोरा र दुई छोरीको जन्म भएपनि एक छोराको निधन भएको गुरुङले बताए । दुई छोरीको विहे भएको र छोरा छुट्टिएर बसेको समेत उनले बताए । उनले महिनाको १० दिन घरमा बिताएपनि २० दिन सामाजिक, राजनीतिक क्षेत्रमै बिताउछन् । उनी विभिन्न सामाजिक संघ संस्थामा समेत आवद्ध छन् ।


दाङ क्षेत्रमा जग्गा किनेपनि उनले गाउँको विकास गर्नकै लागि गाउँ छाडेनन् । गाउँमा अगुवाई गर्ने व्यक्ति कोहि छैनन् उनले भने,–‘त्यसैले गाउँ नछाडेको हुँ । ’ उनले सामाजिक क्षेत्रमा निकै उल्लेखनीय काम गरेका छन् । उनलाई गाउँलेले टिका बा को बाटो र उनले खुवाएको पानी भन्दा उनी सन्तुष्ट हुन्छन् । उनले शिक्षा क्षेत्रमा पनि केहि गर्न भ्याय । गाउँमै रहेको भुवनेश्वरी प्रावि विद्यालयलाई निमावी सञ्चालन गर्नमा समेत उनको ठूलो योगदान रह्यो । उनी उक्त विद्यालयको अध्यक्ष समेत रहि शिक्षा क्षेत्रमा समेत केहि नयाँ कामहरु गर्दै आएका छन् ।
उनी भारतीय सेनामा हुँदा बसाईसराईको दर वढेको थियो तर अहिले गाउँगाउँमा विकास हुन थालेपछि गाउँलेहरु बसाई सर्ने दर कम भएको छ । बसाई सरी तराई झरेका व्यक्तिहरु कहिलेकाहीँ गाउँ आएर यति विकास भएको भए त हामी किन बसाई सथ्र्यौ भनि सोध्दा आफुले केहि काम गर्न सकेको महशुस भएको उनी बताउछन् ।


सम्बन्धित पोस्टहरू

Top