Invalid Conversion Type | Tuesday 19th November 2019

थबाङ डायरी–२ ः डा. शिवराज पण्डीत


Hamroekata २० कार्तिक २०७६

मैले यसै पत्रिकाको आश्विन महिनाको अन्तिम हप्ता प्रकाशित अंकमा थबाङ डायरीको पहिलो खण्ड प्रस्तुत गरेको थिएं । त्यहि लेखको पूरक अंशको रुपमा थबाङ डायरी–२ लेख्दैछुं । लेख आत्मगत् तथा मनोगत् कथनीबाट मूक्त गराउने भरमग्दुर प्रयास गरेको छुं । त्यसका लागि थबाङको बिगत्को राजनैतिक तथा सामाजिक घटनाक्रमहरुको बारेमा प्रकाशित लेख रचनाहरु र पछिल्लो घटनाक्रमका बारेमा थबाङमा क्रियासिल राजनैतिक दल,अनुसन्धानकर्ता,स्थानीय सरकारको प्रमुख, सहिद,घाइते अपाङ्ग पहिरवारका सदस्यहरु,इलाका प्रहरीका कार्यालय थबाङ्गका प्रमुख लगायतका ब्यक्तिहरुसंगको छलफलका क्रममा उनीहरुबाट ब्यक्त बिचारलाई बिनापूर्वाग्रह जस्ताको त्यस्तै प्रस्तुत गरेकोछुं ।
थबाङ्गीहरु २०६२÷०६३को आन्दोलनबाट प्राप्त उपलव्धिहरु प्रति सन्तुष्ट रहेनछन् । १० वर्षे जनयुद्धको जन्मथलोको रुपमा परिचित सुन्दर थबाङ्गलाई सिंहदरवारमा बस्नेहरुले उपेक्षा गरेको गुनासो ब्यक्त गरे । थबाङ्गीहरुको भनाई थियो–सिंहदरवारले हाम्रो उचित क्षेतिपूर्ति दिनु पर्दछ । मैले थप जिज्ञासा राखें र उनीहरुको भनाईको गांभिर्यतालाई खोतल्ने प्रयास गरें । त्यसपछि भने थबाङ्गीहरु खुलैर आफना कुरा राख्न अग्रसर भए । हेर्नुस (घरहरु देखाउंदै ) यी सबै घरहरु द्वन्द्वकालमा सेनाले आगो लगाई दिएको थियो । प्रत्येक घरमा सहिद,घाइते र अपांगहरुछन् । उनीहरुको जीविकोपार्जन र स्वास्थ्य उपचार गर्न गाह्रो भैरहेकोछ । द्वन्द्वकालमा ध्वस्त भएका केही घरहरु पुननिर्माण भएका छन् त कतिपय ध्वस्त भएका घरहरु निर्माण भएका छैनन् । ति घरमा बस्ने मानिसहरु विस्थापितछन् । राज्यले हेरेको छैन ।
‘ खोला तर्यो, लौरा बिर्सियो’ भन्ने नेपाली उखान जस्तै सिंहदरवार र राष्ट्रपति भवन छिरेकाहरुले थबाङ्ग बिर्सेकोमा चित्त दुःखेकोछ थबाङ्गीहरुलाई । उपराष्ट्रपति नन्द बहादुर पुनले विद्यालय तहको अध्ययन पूरा गरेको थबाङ्गको बलभद्र मा.वि.को स्वर्ण महोत्सवमा प्रमुख आतिथ्यताका लागि आमन्त्रण गरेकोमा थबाङ्गीहरुको निमन्त्रणा उपराष्ट्रपतिले अस्विकार गरेकोमा चित्त दुखेकोे रहेछ । साथै काठमाण्डौमा उपराष्ट्रपति कार्यालयमा जिल्लावासीका समस्या लिएर जांदा उपराष्ट्रपतिले भेट गर्न नदिएको प्रति पनि गुनासो रहेछ थबाङ्गीहरुमा ।
थबाङ्गीहरुको भनाईले मन भारी भयो । थप जिज्ञासा मेटाउन इलाका प्रहरी कार्यालय पुग्यौं । मेरो साथमा मैले प्राध्यापन गर्ने क्याम्पसका दुई जना एम.एड. दोस्रो वर्षका विद्यार्थीहरु थिए । उनीहरु मेरो मातहतमा शोध कार्य गर्दै छन् । शोध कार्यमा सहयोग पुग्ने अपेक्षा राखेर उनीहरु मसंग थबाङ्ग पुगेका थिए । हामीहरु इलाका प्रहरी कार्यालय पुग्दा इलाका प्रहरी कार्यालयका प्रमुख नदीराम खडका कार्यालयमा थिएनन् । हामीहरुको आएको जानकारी गराएपछि प्रहरी जवान हाकिम खोज्न गए । केहि समयको पर्खाइपछि इप्रका प्रमुख आइ पुगे । हामीहरुले आ–आफ्नो परिचय दियौं र मैले नेपाल बारको परिचयपत्र समेत उनको हातमा थमाई दिएं । मैले प्रहरी प्रमुखसंग सुरक्षा लगाएत समाजमा घटने अपराधका घटनाहरु र त्यसको प्रकृतिका विषयमा जिज्ञासा राखें । उनले सरल र सहज ढंगले मेरो प्रश्नको उत्तर दिए । उनको भनाई थियो– तत्कालिन माओवादीले थबाङ्गीहरुलाई परिवर्तन हुन्छ भनेर ठूलो आसा जगाए, तर यिनीहरुले सोंचे अनुसारको परिवर्तन भएन । प्रत्येक घरमा सहिद,घाइते र अपांग छन् । त्यसैले अहिले पनि थबाङ्गका अधिकांश मानिसहरु प्रतिबन्धित पार्टी विप्लव नजिकछन् । संगठित रुपमा राज्यका विरुद्ध कुनै गतिविधि गरेका छैनन् । हामीहरुले उनीहरुबाट सुरक्षाको चुनौतिं देखेका छैनौं । प्रहरी र विप्लव समुहका कार्यकर्ताहरु बीच समाजमा घटने अपराधिक घटनाहरु न्यूनीकरण गर्ने कार्यमा सहकार्य गर्ने गर्दछौ । तर बिडम्बना समाजमा अपराध घटे पनि प्रहरीकोमा उजुरी गर्ने प्रचलन छैन । कहिलेकांही त मान्छे मरे पनि खबर गर्दैनन् ।
प्रहरीसंगको छलफल सकेर बासस्थान तर्फ अघि बढ्दै थियौं । बाटोमा जनयुद्धका घाइते अपांग,विप्लव नजिक भन्ने मान्छेहरु हामीहरुलाई खोज्दै आए । उनीहरुले मलाई खोजेका रहेछन् । खोज्नुको उद्धेश्य विप्लवका रोल्पा इन्चार्ज लगाएत केही थबाङ्गका मान्छेहरुलाई प्रहरीले पक्राउ गरी हातहतियार र संगठित अपराध सम्बन्धी मुद्धा लगाई रोल्पा कारागारमा थुनेको रहेछ उनीहरुको तर्फबाट कानूनी प्रतिरक्षा (वकालत)को अनुरोध गर्नका लागि आएका रहेछन् । उनीहरुसंग राजनैतिक विषयमा समेत कुरा भए । मैले भने १० वर्षे जनयुद्धको जगमा देशमा परिवर्तन भएकोछ । के फेरी पूरानै तरिकाले हतियारको बलमा सत्ता परिवर्तन हुन्छ भन्ने ठान्नु भएको छ ? उनीहरुको जवाफ थियो– तत्कालिन माओवादीको नेतृत्वले जुन लक्ष्य राखेर जनयुद्ध सुरु गरेको थियो त्यो पूरा भएन ,उनीहरुले गद्धारी गरे । डबल नेकपाको सरकारले जनताको अपेक्षा पूरा गर्नुको साटो झनपछिझन घात गरेकोछ, यो सरकारका विरुद्ध जताततै आवाज उठेकाछन् । ती आवाजहरु संबोधन गर्ने अन्य कुनै आसालाग्दो बैकल्पिक राजनैतिक शक्ति छैन । त्यो शक्ति भनेको विप्लवको पार्टी हो,ढिलो होला जनताले बुझ्दै जान्छन् र बिप्लवको पार्टीमा आवद्ध हुन्छन् ।
मैले विद्यावारिधीको शोध पूरा गर्ने क्रममा एकजना फ्रेन्च अनुसन्धानकर्ताको शोध लेख अध्ययन गरेको थिएं । सो शोध लेखमा क्रान्तिकारी कम्यूनिष्ट नेतृत्व र बिचारको जन्म प्यूठानमा भयो ,जसको नेतृत्व मोहन ब्रिकम सिंहले गरेका थिए । उनी जनयुद्धका पिता हुन । त्यो क्रान्तिकारी बिचारलाई प्रचण्डले थबाङ्गमा प्रयोग गरे । बन्दुकको नालबाट सत्ता प्राप्त हुन्छ भन्ने माओत्सेतुङ्ग बिचारको प्रयोगशाला हो थबाङ्ग । क्रान्तिकारी बिचार जन्माउने प्यूठान र अग्रज प्यूठानीहरुको बिचारमा निखार र तिखार हराउंदै गएकोछ तर अग्रज प्यूठानी कम्युनिष्ट नेताहरुले प्रशिक्षित गरेका थबाङ्गीहरुमा भने राज्यसत्ता प्रतिको बर्गीय सोेंच र चिन्तनमा परिवर्तन आउन सकेकोे रहेनछ ।
वि.सं.२०१३ साल जेष्ठ १३ गतेका दिन मोहन विक्रम सिंह, खगुलाल गुरुङ्ग,रुम बहादुर र हेमराजले पहिलो पटक नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका हुन ( रोकामगर,पूर्ण बहादुर क्रान्तिकारी इतिहांस बोकेको थबाङ्ग, गंगा जमुना प्रेस,काठमाण्डौ, २०६८ ) । २०१३ सालमा कम्युनिष्ट पार्टी स्थापना भएपनि २०११ साल देखि नै मुखिया,जिम्मुवाल र सामन्तहरुको विरुद्ध थबाङ्गमा आवाज उठन थालेका रहेछन् । यसको अगुवाई बरमन बुढाले गरेका रहेछन् । प्यूठानमा पनि २०११।०१२ साल तिर किसान आन्दोलन भएको थियो । स्थानीय समाजसेवी जेष्ठ राजनीतिक अगुवा पूर्ण बहादुरर रोकामगरका अनुसार युवा नेता बरमन बुढाको नेतृत्वमा पहिलो पटक (२०११ जेष्ठ१ गते) स्थानीय मुखिया कृष्ण बहादुर झांक्री मगर माथि आक्रमण तथा कुटपिट नै पहिलो पटक राज्यसत्ता विरुद्धको प्रतिकात्मक घटना हो । यो घटनापछि थबाङ्गमा श्रृंखलावद्ध रुपमा राज्यसत्ता र थबाङ्गीहरुका बीचमा हिंसात्मक लडाईहरु हुंदै गए । २०१५ सालको निर्वाचनमा थबाङ्गीहरुले कम्युनिष्ट उमेदवारको पक्षमा एकछापे मत खसालेका थिए । राजा महेन्द्रले २०१७ पौष १ गते दल माथि प्रतिबन्ध लगाउंदा थबाङ्गेहरुले त्यसको सशक्त विरोध गरे । २०३७ सालको जनमत संग्रहमा सबै थबाङ्गेहरुले बहुदलको पक्षमा एकछापे मत खसालेका थिए । २०३८ सालमा सम्पन्न भएको राष्ट्रिय पंचायतको निर्वाचन सशक्त बहिस्कार गरे । २०३८ सालमा ५०० नेपाली सेनाका फौजले ब्यापक सैनिक अप्रेशन । बहुदलपछि (२०४८) को आम निर्वाचनलाई क्रान्तिकारी उपयोग । २०५८ सालमा पुनः सैनिक अप्रेसन । १० वर्षे जनयुद्धको क्रममा धेरै पटक अर्ध सैनिक तथा सैनिकबाट विभिन्न प्रकारका अप्रेसनहरु राजयसत्ताले थबाङ्गमा संचालन गरेको थियो । तिनै थबाङ्गी जनताको त्याग र बलिदानीबाट प्राप्त भएको परिवर्तनमा नेताहरु रमाएकाछन् तर थबाङ्गीहरुले परिवर्तनको अनुभूति गर्न नपाएको, सहिद घाएते र अपांगलाई राज्यले उचित सम्मान गर्न नसकेको दुःखेसो रहेछ थबाङ्गीहरुको केन्द्र सरकारसंग ।
थबाङ्गका आफ्नै मौलिक विशेषताहरुछन् । ति विशेषताहरुको विषयमा आगामी अंकहरुमा क्रमशःपाठकहरुलाई जानकारी गराउने प्रयास गर्ने छुं ।

 


सम्बन्धित पोस्टहरू

Top