बिहिबार, बैशाख ६, २०८१ | Thursday 18th April 2024

फेरिदै जस्पुर ः लकडाउनमै लोकेशन बोर्ड र सडक निर्माण गरिदै


राधिका भुसाल
प्यूठान । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ को कारण करिब २ महिना यता मुलुक लक डाउनमा छ । नेपाल सरकारले भाइरस नियन्त्रणका लागि मानिसहरुलाई घर भित्रै बस्न आग्रह गरिरहेको बेला प्यूठानको माण्डवी गाउँपालिका ३ जस्पुरमा भने धमाधम निर्माण कार्य भइरहेको छ । लक डाउनको समयलाई सदुपयोग गर्दै बजारलाई व्यवस्थित गर्नका लागि निर्माण कार्य भइरहेकोे हुंदा स्थानियबाट कुनै किसिमको जनगुनासो नआएको जस्पुर प्रहरी चौकीका प्रमुख असई नन्द बहादुर आलेले बताए । निर्माण कार्यमा खटिएका युवाहरुले सामाजिक दुरीकायम गर्दै सुरक्षित हिसावले कार्य गरेको हुंदा स्थानियवासी असुरक्षित नभएको उनले बताए ।
जस्पुर बजार व्यवस्थापन समितिले सडक डिभिजन कार्यालय प्यूठानसंग समन्वय गरी कोल्बोट र ढल निकासी नाला निर्माण गर्न थालेको हो । सदैव भिडभाड भइरहने जस्पुर चोकमा लकडाउनको समयलाई सदुपयोग गर्दै स्थानिय मजदुरहरुलाई परिचालन गरी निर्माण कार्य शुभारम्भ गरिएको जस्पुर बजार व्यवस्थापन समिति प्यूठानका अध्यक्ष लव कुमार अधिकारीले बताए । ‘लक डाउनको समयमा स्थानिय युवाहरुलाई रोजगारीको अवसरसंगै समयको सदुपयोग भइरहेको छ’– अध्यक्ष अधिकारीले भने–‘रोल्पा र प्यूठान छुट्याउने चोक भएको हुंदा सदैव यातायातको चाप हुंनाले कोल्बोट (सडक पुल) निर्माण गर्न असहज थियो ।’ लक डाउनको समयमा यातायात तथा मानिसहरुको आवत जावत नभएकोले छोटो समयमै सडक चौडा, नाला व्यवस्थापन, कोल्बोट निर्माण लगायतका काम गर्न सहज भएको उनले बताए । जस्पुर बजार चोक व्यवस्थापनका लागि सडक डिभिजन कार्यालय प्यूठानबाट करिब १४ लाख बजेटमा निकासी भएसंगै निर्माण कार्य सुरु गरिएको थियो । दैनिक करिब ८ जना युवाहरु बिहान ७ बजे देखि साझँ ६ बजे सम्म निर्माण कार्यमा खटिएको अधिकारीले जानकारी दिए । कामदरले दैनिक ८ सय परिश्रमिक पाउने गरेको समेत उनले बताए ।
सवारी साधनको भिडभाड हुने चोकमा बाटो साँघुरो तथा ढल निकासी नहुंदा धेरै समस्या हुने गरेको स्थानियवासी हुकुम बहादुर केसीले बताए । विगतका दिनहरु भन्दा अहिले बजार व्यवस्थित बन्दै गएकोले भावी दिनमा सवारी साधन आवत जावतको समस्या न्युनिकरण हुने केसीले बताए । कोल्बोट निर्माणसंगै चोकको सौर्दयता बढ्नुका साथै बाटो फराकिलो भएकोले जस्पुरवारी निकै खुसी भएका उनले बताए ।
प्यूठानको पहिलो लोकेसन बोर्ड जस्पुरमा
माण्डवी गाउँपालिका कार्यालय प्यूठानले जस्पुर चोकमा लोकेसन बोर्ड निर्माण गरेको छ । प्यूठान जिल्लामै पहिलो पटक जस्पुर चोकमा लोकेसन बोर्ड राखिएको माण्डवी गाउँपालिकाका अध्यक्ष श्रीधर रोकाले बताए । रोल्पा प्यूठान छुटिएको चोकमा निर्माण गरिएको बोर्डमा स्वर्गद्धारी– खलंगा, भालुवाङ र खलंगाको जानकारी दिएको छ । जिल्ला बाहिरबाट आवत जावत गर्ने मानिसको संख्या बढि भएकोले उनीहरुलाई सहज होस् भन्ने उदेश्यले जस्पुरमै लोकेसन बोर्ड राखिएको उनले बताए । लक डाउनको समयमा निर्माण कार्य सम्पन्न भएको भन्दै बजारलाई अझै व्यवस्थित गरिने अध्यक्ष रोकाले बताए । चालु आर्थिक वर्षको करिब ८ लाख बजेटमा उक्त योजना सम्पन्न गरिएको पालिकाले जनाएको छ ।
जस्पुर बजार व्यवस्थापन समितिको पहलमा जस्पुर बजारलाई व्यवस्थित गर्ने उदेश्यका साथ सार्वजनिक शौचालय मर्मत, खानोपानीको पाइप लाईन अन्डरग्राउण्ड, विजुलीको तार अन्डरग्राउण्ड, चित्रेखोला नियन्त्रण गर्दै तारजाली तथा वाल निर्माण गरी बजारलाई सुन्दर र सुरक्षित बनाइएको बजार व्यवस्थापन समितिका अध्यक्ष लव कुमार अधिकारीले बताए । ‘जस्पुर बजार प्यूठान जिल्लाकै मुख्य ठाउँमा अवस्थित छ’– अध्यक्ष अधिकारीले भने–‘स्थानिय सरकारले यस ठाउँलाई व्यवस्थित बनाउनको लागि विशेष ध्यान दियोस् ।’ अगामी दिनमा जस्पुरलाई प्यूठानकै व्यवस्थित ठाउँको रुपमा विकास गर्नका लागि स्वर्गद्धारी प्रवेशद्धार निर्माग गर्ने, सवारी साधन पार्किङ स्थल निर्माण गर्ने, अव्यवस्थित रुपमा निर्माण गरिएको घरटहराहरु हटाएर मोटरबाटो फराकिलो बनाउने, सार्वजनिक प्रतिक्षालय निर्माण गर्ने, जेब्रा क्रसिङ बनाउने, सार्वजनिक पानीधारा निर्माण गर्ने, सडक बत्तिको अभाव भएका हुंदा पालिकासंग समन्वय गरी सडक बत्ति जडान गर्ने लगायतका कार्य गर्ने योजना रहेको अधिकारीले जानकारी दिए । पालिकाले फोहोर मैला व्यवस्थापन गर्न नसकेको भन्दै पटक पटक जानकारी गराउदा समेत ध्यान नदिएको हुंदा बजार दुर्गन्धको शिकार बनिरहेको उनले बताए ।

पालिकाको कार्यालय नजिकै रहेको जस्पुर बजारलाई व्यवस्थित गर्नका लागि सर्वप्रथम फोहोर मैलालाई व्यवस्थित रुपमा डम्पिङ स्थल निर्माण गरिनु पर्ने उनको भनाइ छ । यता, पालिका अध्यक्ष रोकाले भने फोहोर मैला व्यवस्थापन लागि ट्रयाक्टरको टेन्डर गरिएको बताउदै लक डाउन खोल्ने वित्तिकै व्यवस्थित हुने बताए । प्यूठानका नौ स्थानिय तह मध्यको भौगोलिक रुपमा सानो मानिएको माण्डवी गाउँपालिका हरेक क्षेत्रका विकासमा अग्रस्थानमा देखिएको छ ।

कमेन्ट गर्नुहोस !



Deprecated: Function WP_Query was called with an argument that is deprecated since version 3.1.0! caller_get_posts is deprecated. Use ignore_sticky_posts instead. in /home/hamroeka/public_html/wp-includes/functions.php on line 6031

सम्बन्धित पोस्टहरू

Top